साँघुरो संसार

साँघुरो संसार

दिउँसो ३ः३० बजे। टिनिनी।

घन्टीको आवाजसँगै सुरु हुन्छ, घर नजाने मन।

जुत्ता राख्ने र्‍याकको कालो जुत्ताभित्रको चाबीले ढोका खुल्छ अनि आउँछे स्यानी पुच्छर हल्लाउँदै। एउटा मोजा ढोकामा, अर्काे खाटमुनि हुर्रिन्छ। पाइला अघि बढ्छन्, भान्छातिर। ममीले बिहान बनाएर राखिदिएको परौठा छ, तताएर खाने जाँगर चल्दैन। टीभीअघि सोफा छ। सोफामा आफू र स्यानी बसी मिली खाँदा त्यो परौठा सकिन्छ।

डायरीमा नेपालीको एक पाना हस्तलेखन अनि सिम्फोनीको स्टोरी समरी लेख्ने होमवर्क छ। यति गरिसक्दा पनि बल्ल ५ बजेको छ। अझै दुई घण्टा।

उता घरको रिचमन्डले खेल्न बोलाएको १५ मिनेट भइसक्यो तर बाबाले बिहान भनेको कुरा याद आउँछ।

- अरू कुरा थाहा छैन, होमवर्क सिध्याएर कोठामै बस्ने !

दिउँसो विज्ञान पढाउने सरले टाइम मेसिनबारे भनेको कुरा याद आउँछ। - साँच्चि नै टाइम मेसिन हुँदो हो त अबको दुई घण्टापछि जान हुन्थ्यो।

- पीसी गेम्स खेलेर वाक्क लाइसक्यो। अबको बर्थ डेमा बाबालाई पीएस फोर किन्दिन भन्ने हो।

बर्थ डे गिफ्टको कल्पनामा डुब्दै पीसी गेम्समै समय बित्छ। गेटको ढोका खुलेको आवाजले ध्यान गेटतिर अनि खुट्टा ढोकातिर मोडिन्छन्। बल्ल दुई घण्टाको लामो समयावधि सकियो।

बाबा-आमाको दिनभरको थाकेको शरीर र छोराको दिनभरको आत्तिएको मन मिल्न अझै केही बेर लाग्छ। आमा भान्सातिर लाग्छिन्। छोरो बाबाको काखमा बस्ने इच्छाले टीभीको रिमोट लिएर सोफातिर बढ्छ तर ल्यापटपले उसलाई उछिन्छ। एकछिन छोरासँग गफिएझैं गर्दागर्दै सोफामै झुल्छन् बाबा अनि खाटमा झुल्छ छोरो। आमाले दुवैलाई उठाएर खाना पस्किन्छिन्। आमाले होमवर्कमा केही अप्ठ्यारो भए-नभएको बुझिसकेपछि सुत्ने समय हुन्छ। दुई घण्टाको मिलनपछि फेरि सुरु हुन्छ छोराको सुत्न नजाने मन किनभने ऊ सुत्ने छुट्टै कोठा छ। उसलाई आजको रात नाबितोस् भन्ने छ। कारण, भोलि फेरि दुई घण्टाको समयको पर्खाइमा दौडिन मन छैन।

दिउँसोको ३ः३० बजे। टिनिनी।

थाकेको शरीर लतार्दै गेटतिर जाँदा त बाबा-आमा गेटमा !

आहा ! कति मीठो सपना हो। सपनामा देखेजस्तै बाबाआमा स्कुलमा लिन आउने भए कति खुसी लाग्ने थियो। मीठो सपनाले अमिल्याएको मनलाई फेरि अर्को बिहानीले तान्छ अनि सुरु हुन्छ पुनः त्यही कथा।

यसरी हरेक दिन बाबाआमासँग बिताउने सीमित समयको पर्खाइमा छोरो हुर्किन्छ। यसपालि बिदामा हजुरबुवा हजुरआमालाई भेट्न जाने कुरा छ। तर छोरो त्यसबारे खासै खुसी देखिँदैन। कारण, बाबाआमाबाहेक तेस्रो व्यक्तिसँग बोलचाल गर्न उसले जानेको छैन। उसको जोर चले त बिदाभरि बाबाआमासँग घरमै बस्न मन थियो। कम्तीमा केही दिन त उसले बाबासँग खेल्न भनेर साँचेर राखेका मोबाइल गेम्स र आमासँग हाइड एन्ड सिक खेल्न पाउँथ्यो। उसको कोठामा उसलाई चाहिने सब चिज छन् तर उसले चाहेको एउटै चिज छैन- बाबाआमाको उपस्थिति।

यो त भयो एक घरको कथा। अहिलेको समयमा यस्ता थुप्रै घर छन् जसलाई यो कथाले धेरथोर मात्रामा समेट्छ। बाआमा दुवै शिक्षित भइसकेपछि आआफ्ना कार्यक्षेत्रमा व्यस्त रहनु स्वाभाविक हो। तर अफसोच यो कार्यव्यस्तताले आफ्ना छोराछोरीमा परेको मनोवैज्ञानिक असरबारे बाआमा अनभिज्ञ हुन सक्छन्।

अनुभवको कुरा गर्ने हो भने संयोगवश मेरो त्यस्तो कुनै अनुभव छैन। सानैदेखि हजुरआमाका दन्त्यकथा, बाबाआमाका संघर्षका कथा र दाइ दिदीका ठट्टामा हुर्किएँ। हजुरआमाको ९० सालको भूकम्पमा आफू बारीको वल्लो कान्लादेखि पल्लो कान्लासम्म पछारिएको अनुभवमा मेरो बाल्यावस्था रमाएको छ।

शिक्षणको सिलसिलामा बाबा कहिले डोल्पा कहिले लमजुङ गइराख्न पर्ने। तर बाबा घर आउँदा कहिल्यै बाबा आएजस्तो लागेन, आफ्नो मिल्ने साथी आएजस्तो लाग्थ्यो। चेस खेल्दा सधैं बाबाले जानीजानी मलाई जिताइदिनुहुन्थ्यो। अझै पनि बाबालाई म्याच फिक्सिङको दोष लाउँछु। आमाका घाँसदाउरा जाँदाका दिनका साथीहरूलाई मैले आफ्नै साथी बनाएकी छु।

हामी तीन भाइबहिनी एउटै स्कुल पढेका। एक दिन मैले आफ्नो फ्रकमा बेइमान गरेसी मिसले दाइलाई बोलाएर मलाई घर लैजान भन्दा कन्सिरीका रौं ठाडा भएको भन्दै दाइ अझै पनि मसँग ठट्टा गर्नुहुन्छ। अहिले पनि तीनैजना जम्मा भएको दिन सरमिसका नक्कल गर्दै पेट मिचिमिची हास्छौं। २० वर्षकी भएँ र पनि साँझ घर पुगेपछि सबैभन्दा पहिला ९२ वर्षकी हजुरआमाका चाउरिएका गाला छुन पुग्छन्, यी ओठहरू। हुर्कंदै गर्दा बाबाआमाले किन हामीलाई सधैं आफन्तजनसँगको वार्तामा सामेल गराउन खोज्नुभयो भन्ने बुझ्दै गएँ। त्यसले त हाम्रो सामाजिक दायरा फराकिलो पार्दै गएको रहेछ।

यसरी वर्तमान समय र आफ्नो पारिवारिक हुर्काइलाई नियाल्दा बालबालिकाको स्वस्थ हुर्काइमा बाआमाको उपस्थिति हुनु जरुरी देख्छु। जति बेला मेरो भेट एक मित्रसँग भयो, मलाई यो कुराको अनुभूति भयो। सानैदेखि एक्लो वातावरणमा हुर्किएका उनी अझै पनि कोही नयाँ व्यक्तिसँग बोलचाल गर्नुपर्दा हिच्किचाउँछन्। यहाँसम्म कि आफ्नै बाआमासँग आफ्ना कुराहरू राख्न संकोच मान्छन्। उनकै शब्दमा भन्नुपर्दा ‘मैले घरमा रहेर पनि घर जस्तो महसुस गरिनँ। सायद म एक्लो छोरो नभई भाइबहिनी वा दाइदिदी भइदिएको भए आज म जे छु, त्योभन्दा अझ राम्रो मान्छे हुने थिएँ।’

यहाँनिर आएर अर्को समस्या देखिन्छ, एकल बच्चा। बढ्दो महँगीले एकभन्दा बढी बच्चा हुर्काउन सिर्जना गरिदिएको असहज वातावरणको सिकार भने स्वयं बालबालिका भएको देखिन्छ। एक त बाआमालाई आफूसित खेल्नेबस्ने समय छैन, त्यसमाथि आफू एक्लो सन्तान। एक्लै होला भनेर कुकुर साथी खोजेर ल्याइदिएका छन्। तर बोलाउँदा हजुर भनिदिँदैन, रिसाउँदा फकाउन आउँदैन, हाँस्दा हाँसोको आवाज निकाल्दैन।

आखिर मान्छेलाई मान्छेकै उपस्थिति प्यारो। बिस्तारै आफ्नो प्रिय ठाउँ आफ्नो कोठाको तिनै चार भित्ताभित्र साँघुरिन्छ। सीमित संख्याका साथीभाइ आफूले चाहेको समयमा बोलिदिन समय दिँदैनन्, बाआमासँग मन खोल्न मनले मान्दैन। अनि बाँकी राखेका आफन्तसँग कहिल्यै आफ्नोपन महसुस भएको छैन। यसरी दिनप्रतिदिन आफ्नो साँघुरो संसारमा रमाउन खोज्दै गर्दा वास्तविकताभन्दा धेरै पर पुगेको पत्तै हुँदैन। अनि नचाहँदा नचाहँदै बाहिरी संसारबाट टाढिँदै गइन्छ, अन्तर्मनको रमझमतर्फ। घरले तानेन भने परले तान्छ।

अनि सुरु हुन्छन् खुसी खोज्ने दिनहरू :

- एक सर्को तान् त, क्या चिल फिल हुन्छ।

- एक डोज ली, आकाशमा उड्छस्।

यसै सन्दर्भमा एकजना चिनजानका व्यक्तिसँगको संवाद याद आयो। बाआमा विदेश, सानिमासँगको बसाइ। केही समयको चिनजानपछि एक दिन उनले आफ्नो कथा पोखे, ‘सानैदेखि होस्टेल बसेको म, होस्टेल जाँदा घर गएजस्तो लाग्छ। त्यही भएर अहिले पनि घरबाट क्याम्पस आऊजाऊ गर्न पायक भए पनि म होस्टेल नै बस्छु।’

एक सर्को आकाशतिर उडाउँदै उनले थपे, ‘कस्सम ! मम ड्याडले टाइम देको भए यसको अडिक्सन हुन्थेन। तिमीलाई मोज छ। अझैसम्म घरको माया पाइराछौ।’

सरसर्ती हेर्दा हाम्रो समाजमा दुई फरक धारका बाआमा भेटिन्छन्। एक, बाध्यताको डोरीले बाँधिएका र अर्का सोखिनपनको बास्नाले डोरिएका। एकातिर, ९-५ को जागिरले गर्दा चाहेर पनि छोराछोरीलाई समय दिन सक्दैनन् तापनि सकभर बचेको समयबाट केही टुक्र्याएर छोराछोरीलाई दिन भने पछि नहट्ने बाआमा छन्। अर्कोतिर छोराछोरीलाई अघि बढ्दा पछि तान्ने किताबको झोला बोकाएर स्कुल पठाएपछि बल्ल एउटा तनावबाट फुत्कियो भन्दै मक्ख पर्ने बाआमा छन्। स्कुलको साथ लगाइदिएपछि आफ्नो कर्तव्य पूरा भएको सोच्ने बाआमालाई बालबालिकाको पहिलो पाठशाला भनेको घर हो भन्ने कुराको अनुभूति हुनु जरुरी छ।

छोराछोरीलाई होस्टेल अथवा डे बोर्डसको भारी बोकाएर आफू भने गेट टुगेदर र पार्टीमा रमाउनुपर्ने सोखले गर्दा छोराछोरी वात्सल्य प्रेमबाट वञ्चित छन्। प्रविधिको आविष्कार मानवसुख र एकआपसको सामीप्य बढाउन गरिएको हो। बचेखुचेको समयमा पनि ल्यापटप र मोबाइलमा व्यस्त भइदिँदा नजिक भएर पनि टाढिँदै छन् छोराछोरी, बाआमादेखि।

केही अघि मास्टर पिस वाक २०१९ अन्तर्गत १५ जना डच र १५ जना नेपालीको टोलीसँग धादिङ जिल्लामा भ्रमण गर्ने अवसर मिल्यो। यसै क्रममा एकजना डच महिलासँगको संवादमा उनले भनिन्, ‘छोराछोरीको खुसीका लागि भनेर अधिकतम समय जागिरमा बिताएँ। तिनकै सुखका निम्ति हरेक कुरा उपलब्ध गराएँ। त्यसैले तिनले अभाव के हो र केही कुराको प्राप्तिमा कति खुसी भइन्छ भन्ने थाहै पाएनन्। अहिले मेरा सबै छोराछोरी आफ्ना आफ्ना बाटा लागिसके। तर जीवनको यो घडीमा आएर मैले छोराछोरीसँग कति थोरै पलहरू बिताएकी रैछु भन्ने महसुस गर्दैछु। मैले आफ्नो जागिरबाट कमसेकम एक घण्टा घटाएर घर चाँडै फर्किन सकेको भए सायद अहिले ममा पश्चात्तापको यो आगो दन्किने थिएन।’

हरकोहीलाई आफ्नो कथा सुनिदिने मान्छे चाहिन्छ। यो कुरा बालबालिका हुन् या वृद्ध, सबैमा लागू हुन्छ। बाआमाले कुन हिसाबले उपयुक्त हुन्छ, त्यसैअनुरूप समय निकालेर छोराछोरीसँग केही बेर बोलिदिए मात्र पनि छोराछोरीको एक्लोपनको जालो मिल्किन्छ।

तसर्थ भौतिक स्वार्थले पारिवारिक जीवन चल्दैन, यसका लागि त्यागको आवश्यकता पर्छ। हुनसक्छ, प्रतिस्पर्धाको यो जमानामा हामी हरेक दिन केही नयाँ कुरा पाउने होडमा दौडिरहेका छौं। तर वास्तविकता यो पनि हो- वर्तमान नसुधारे भविष्य अनिश्चित छ।

-अटोमोबाइल इन्जिनियरिङ, तेस्रो वर्ष अध्ययनरत
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.