शब्दको राजनीति
केवल सत्य बोल्नु पनि एउटा राजनीति हो
झूठलाई छिपाइराख्नका लागि
सत्य वचनहरूको आरामदायी रक्षाकवचभित्र
चलाइराख्नु झूठको खेती
बोल्नु चाकडीको विरुद्ध
फेरि आफैं गर्नु कलात्मक चाकडी
लेख्नु सुन्दर कविताहरू
बजारवादको प्रतिरोधमा
फेरि नाककै भरमा गिर्नु
उपभोगको दलदलमा
दिनु सत्तालिप्साको विरुद्ध जोडदार भाषण
फेरि परिक्रमा गरिराख्नु सत्ताको वरिपरि
बिन्तीपत्र बोकेर हिँड्नु कतै नियुक्तिका लागि
कोटको एउटा खल्तीमा
वक्तव्य अर्को खल्तीमा
वैदेशिक हस्तक्षेपविरुद्धको मौनता
र
चाकडीको विरुद्धमा
झूठलाई साँचो साबित गर्ने
यो पनि हो एउटा सुरक्षित राजनीति
जो चलिरहेछ निरन्तर शब्दमार्फत
केवल साँचो बोल्नु
साँचो लेख्नु
दुनियाँ सच्चाइको बाटोमा नहिँडेकोमा
धेरै चिन्ता गर्नु
केही पनि नगर्नु केवल चिन्ताबाहेक
बरु घुमिराख्नु
अवसरका अनन्त चक्रहरूमा
यसरी नै जीवनभर
साँचो बोलिराख्नु/लेखिराख्नु
अरू केही पनि नगर्नु
र बनाइराख्नु निर्णायक विद्रोहसँग सुरक्षित दूरी
यो पनि एउटा कलात्मक राजनीति हो
गर्नु सत्ताको विरोध
नारा लगाउनु हर उत्पीडनविरुद्ध
केवल आफू सत्ताविहीन भएको आक्रोशमा
पालिराख्नु आजीवन
सत्ताभोग र शासनको अतृप्त कामना