मदिराले मान्छे खान्छ !
जनकपुरधाम : मान्छेले मदिरा खान्छन्। प्रदेश-२ का जिल्लामा चाहिँ मदिराले मान्छे खाएको छ। अधिकांश जिल्लामा विषाक्त मदिरा उत्पादन गर्ने सयौं भट्टी छन्, जहाँ दैनिक ८० कम्तीमा हजार लिटर मदिरा उत्पादन हुन्छ।
युरिया मल, सख्खर, फोहोर प्लास्टिक, चप्पल, मोजा र कुहाएको अन्न हालेर बनाइएको मदिरा विषाक्त हुन्छ। मदिरा खाएर ठूलो संख्यामा ज्यान गएको तथ्यांकबाहेक दिनहुँ मदिराको मात लागेर मृत्यु हुनेको लेखाजोखा छैन।
विषाक्त मदिरा पिउँदा विगत केही वर्षमा धनुषामा १४, महोत्तरीमा १४, बारामा ५ गरी ३३ जनाको मृत्यु भएको छ। अखाद्य पदार्थ मिसाई बनाइने मदिरा पिउनाले सर्वसाधारणको ज्यान मात्रै गएको छैन, सामाजिक-आर्थिक हैसियत पनि सखाप भएका उदाहरण छन्।
घटना-१
धनुषाको क्षीरेश्वर नगरपालिका-२ रमदैयामा विषाक्त मदिरा पिएर ८ जनाको मृत्यु भएको छ। फागुन २९ गते होलीको रमाइलोमा मदिरा पिएका उनीहरूको मात लागेर ज्यान गयो।
विषाक्त मदिराले आठ जनाको मृत्यु भएपछि चिन्तित धनुषा रमदैयाका गाउँले। राजकरण महतो
घटना-२
बारामा अवैध मदिरा बनाउने क्रममा असोज १५ गते पाँच जनाको मृत्यु भयो। विषाक्त मदिराको गन्धले फेटा गाउँपालिका-४ बतराका जोगा मुखिया बिन, पत्नी, छोरी, भाइ महेन्द्र र एक भारतीयको मृत्यु भएको थियो।
घटना-३
धनुषाको कमला नगरपालिका-५ का ६ जनाको २०७५ असारमा विषाक्त घरेलु मदिरा पिएर मृत्यु भएको थियो। मृत्यु हुनेमा रामनाथ पासवान, रामचन्द्र पासवान, मणि पासवान, सावीर अन्सारी, राजवीर महतो र गंगा पासवान थिए।
घटना-४
२०७३ साल असार पहिलो साता महोत्तरी सहसौला बिर्तामा विषाक्त मदिरा पिएर एकै परिवारका पाँच जनाको ज्यान गयो। सहसौलाका रामवृक्ष डोम, उनका छोरा रामप्रकाश, गौशाला नगरपालिका- ७ का उनका ज्वाइँ पञ्चा, छोरी (पञ्चाकी श्रीमती) कलाबती र रामवृक्षका सम्धी औरही-३ का बद्रीको निधन भएको थियो।
घटना-५
महोत्तरी बर्दिबासस्थित एकीकृत नमुना मुसहर बस्तीका स्थानीय पनि घरेलु मदिराको मारमा छन्। बितेको दुई वर्षमा मदिरा पिएर दीर्घकालीन बिरामी भई ८ जनाको ४५ वर्ष नपुग्दै मृत्यु भइसकेको छ। अत्यधिक मदिरा सेवन गर्दा मृत्यु भएको स्थानीय मञ्जय सादाले बताए।
क्षीरेश्वर नगरपालिका-२ रमदैयामा २९ गते राति निधन भएकाका परिवारका सदस्यको आँखा ओभाएका छैनन्। मृतकका आफन्त रोइरहेका छन्। सम्झाउन पुगेकाहरुको पनि आँसु थामिएको छैन। रक्सी पिएर गम्भीर बिरामी परेका पाँच जना अस्पतालमा उपचार गराइरहेका छन्।
स्थानीयले मदिरा पिएर रमदैयामा १२ जनाको मृत्यु भएको बताए पनि प्रहरीले ८ जनाको निधन भएको पुष्टि गरेको छ। महोत्तरी भंगहाबाट ल्याएको घरेलु मदिरा पिएर उनीहरूको मृत्यु भएको हो।
घटना अनुसन्धानका क्रममा धनुषा तथा महोत्तरीको विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरिएको छ। क्षीरेश्वरनाथ नगरपालिका-२ की ‘तारापट्टीवाली’ भनिने घरेलु मदिरा ओसार-पोसारमा संलग्न छठियादेवी मण्डल, उत्पादक रामानन्द साह, सोही ठाउँका जयकुमार यादवलाई पक्राउ गरिएको छ।
सोही नगरपालिका-६ बगेवाका नवीन यादव र घुरन यादव पनि प्रहरी नियन्त्रणमा छन्। महोत्तरीको भंगहा नगरपालिका-३ सखरी टोलका जगतनारायण मण्डल र जनकपुरधाम-१४ की मदिरा ओसारपसारमा संलग्न शीतलदेवी यादवलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको एसपी रमेशकुमार बस्नेतले बताए।
मदिराले लुट्यो सपना
मृतकमध्ये रामविलास मण्डल एक साताअघि विदेशबाट छुट्टीमा होली मनाउन घर आएका थिए। उनकी पत्नी फूलदेवीले भनिन्, ‘घरमा धेरै ऋण भएपछि विदेश जानुभो। पैसा कमाएर ल्याउनु भो। छोरीहरुको बिहेबारी गर्न र छोरालाई पढाउन विदेश जाने सोच्दै हुनुहुन्थ्यो, तर कहिल्यै नफर्किने गरी हामीलाई छोडेर जानुभो !’ मदिरा सेवनबाट मृत्यु भएका रमदैयाका अर्का ब्रह्मदेव यादवको घरमा पत्नीसहित ४ छोरी र १ छोरा छन्।
मदिराको मार
प्रदेश २ गरिबीको चपेटामा छ। लोग्नेमानिस मदिराको कुलतमा लागेका कारण बालबालिका र महिला प्रताडित छन्। अभिभावकले कमाएको सबै रुपैयाँ जाँडरक्सीमा सकेपछि छोरीछोरीले न पढ्न पाएका छन् न खानलाउन।
डोम, चमार, पासवान, बातर, डाँगरलगायत गरिब तथा विपन्न समुदायका मानिसले घरेलु मदिरा सेवन गर्ने गरेको पाइन्छ। सस्तो र जहाँ पनि पाइने घरेलु मदिराले गरिबको उठिबास भएको छ।
मदिराले विधुवा बनायो
महोत्तरी बर्दिबास नगरपालिका-१ बस्ने कविता डोमका पति परमेसर डोमको ३ वर्षअघि २२ वर्षकै उमेरमा घरेलु मदिरा पिएर ज्यान गयो। उनको ज्यान गएपछि कविता समस्यामा छिन्। २१ वर्षकै उमेरमा विधवा भएकी कविताले गाउँमा सरसफाइको काम गरेर छोरी सविता र छोरो राजनको पालनपोषण गरिरहेकी छन्।
परमेसरको नागरिकता नभएकाले कविताको नागरिकता पनि बन्न सकेको छैन। नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता हुन सकेको छैन। बर्दिबासका २० वर्षीय सिकिन्द्र मुसहरको दुई वर्षअघि घरेलु मदिरा पिएरै ज्यान गयो। भट्टीको कडा मदिरा खाएर उनलाई ज्वरो आयो। उपचारका क्रममा उनको निधन भयो।
दुई वर्षको अन्तरालमा एकीकृत नमुना मुसहर बस्तीका दुई महिलासहित ८ जनाको मदिरा सेवन गरेर मुत्यु भएको छ।
कडाइ गर्दैन प्रहरी
धेरै संख्यामा मृत्यु भएपछि प्रहरी अवैध भट्टी नष्ट गर्न कस्सिन्छ। केही प्रहरी आर्थिक लोभमा भट्टी चलाउन सेटिङ मिलाउँछन्। प्रहरी युनिटमा भट्टीवालले महिनावारी रकम बुझाउनुपर्छ।
दलित मुक्ति समाज प्रदेश २ को सहसचिव सन्त परियार भन्छन्, ‘विषाक्त रक्सी उत्पादन गर्नेले गरिरहेको छ, बेच्नेले बेचिरेहको छ। भट्टी नष्ट गर्न प्रहरी प्रशासनले वास्ता गर्दैन।’ गरिब, दलित तथा विपन्न समुदाय बढी घरेलु मदिरा खान्छन्। दैनिक काम गर्नेहरु कडा परि श्रम गर्छन्। रक्सी पिएर मान्छेको मृत्यु हुने घटना स्थानीयका लागि सामान्य भइसकेको छ।
घरेलु मदिरा मृत्युको व्यापार
प्रादेशिक अस्पताल जनकपुरका अनुसार विषाक्त मदिरा सेवनबाट २०६६ यता धनुषामा ५० जनाको ज्यान गएको छ। वार्षिक रुपमा सरदर ५० हजार बिरामी प्रादेशिक अस्पताल आउँछन्। अस्पतालका चिकित्सक कुलदीप पण्डितले भने, ‘मदिरामा मिथाइल अल्कोहल हुन्छ, जसले रगतमार्फत सेवनकर्ताको मस्तिष्क र आँखामा सोझै असर गर्छ। अस्पताल ल्याइएका मदिरा सेवनकर्तामध्ये कतिपयको मस्तिष्कको कोष मरेर बेहोस भएको, कतिपय अन्धो भएको केस आउने गरेको छ।’
मदिराले शरीरका अंगमा क्यान्सर हुने, कलेजो सुन्निने, उच्च रक्तचाप र मष्तिस्क घातजस्ता समस्या ल्याउने ओम हस्पिटल वीरगन्जका जेनरल फिजिसियन डाक्टर दिलीप कुश्वाहाले बताए।
‘मदिराले सीधै लिभर कमजोर बनाउँछ। लिभरमा असर परेपछि पाचन प्रक्रियामा कमी आउँछ,’ उनले भने, ‘लिभर कमजोर भएपछि जन्डिस हुन्छ। अन्य रोग बढ्दै गएर मान्छेको मृत्यु हुने जोखिम रहन्छ।’
कर छल्दै अवैध भट्टी
धनुषामा पाँच वटा डिस्ट्रिलरी मात्रै दर्ता भएर सञ्चालनमा छ। धनुषामा लोकल मदिरा कारखानाको संख्या २ सय हाराहारीमा छ। भारतीय नागरिक मकबुल अहमद लारीले ६० वर्षअघि धनुषामा पहिलोपटक मदिरा भट्टी सुरु गरेका थिए। उनैको सिको गर्दै अहिले भारतबाट नेपाल छिरेकाले अवैध मदिरा कारोबारको सञ्जाल महोत्तरी र सिन्धुलीसम्म फैलाएका छन्।
अन्तःशुल्क ऐन २०५५ मा विना इजाजत मदिरा उत्पादन तथा बिक्री गर्ने व्यक्तिको बिगो जफत गरी सोबमोजिम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ। प्रावधानमा कडाइ नहुँदा लाखौं राजस्व बुझाउने वैध मदिरा कम्पनीको कारोबार घटेको छ। धनुषा डिस्ट्रिलरीका व्यवस्थापक नरेन्द्र महतो भन्छन, ‘हामी चन्दाआतंकले आजित छौं। प्रहरी प्रशासन र राजस्व विभाग अवैध धन्दा अनुकूल भइदिँदा वैध व्यवसाय डुब्दै छ।’
धनुषामा मदिराको वार्षिक कारोबार ५० करोड रुपैयाँभन्दा माथिको हुने गरेको राजस्व विभागको अनुमान छ। महोत्तरी र सर्लाहीमा वार्षिक क्रमशः ३५ करोड र ३० करोड रुपैयाँ बराबरको नक्कली मदिरा कारोबार भइरहेको अनुमान छ। सिन्धुलीमा पनि वार्षिक १० करोड रुपैयाँ बराबरको नक्कली मदिरा उत्पादन र बिक्रीवितरण भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेशकुमार बस्नेतले अवैध मदिरा भट्टी नष्ट गर्न अभियान चलाएको बताए। भट्टीवालाले प्रहरी प्रशासनको संरक्षण पाउने गरेको प्रश्नमा उनले भने, ‘यो देशमा ब्लेम लाग्ने भनेकै अरुलाई होइन प्रहरीलाई त हो !’