स्याउका ३९ हजार बेर्ना रोप्ने तयारी
जोमसोम : मुस्ताङमा २०७६/०७७ मा ३९ हजार स्याउका बेर्ना रोपिने भएको छ। नयाँ रोपिने बेर्नामध्ये ७५ प्रतिशत वितरण भइसकेको छ। बाँकी २५ प्रतिशत वितरण गर्ने तयारी छ।
स्याउको माग बर्सेनि वृद्धि भएकाले जिल्लामा किसानको स्याउखेतीमा आर्कषण बढेको छ। पछिल्लो समय सडक सञ्जाल जोडिएपछि यहाँ उत्पादित स्याउ पोखरा र काठमाडांैलगायत स्थानमा सहजै बिक्री हुन्छ। स्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले बेर्नाको मागसमेत बढेको हो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन कार्यालयले चालु वर्ष मुस्ताङमा ४५ सय स्याउका बेर्ना वितरण गरिसकेको जनाएको छ। उपल्लो मुस्ताङका किसानले उच्चघनत्वको स्याउ बेर्ना माग गरेकाले यस वर्ष १० हजार बेर्ना खरिद गरी वितरणको तैयारी गरेको वरिष्ठ कृषि अधिकृत माधव लम्सालले जानकारी दिए। उनका अनुसार स्याउ जोन कार्यालयले किसानलाई ५० प्रतिशत अनुदान दिएर बेर्ना उपलब्ध गराएको हो।
गण्डकी प्रदेशको डिभिजन वन कार्यालयले पनि विभिन्न जातका स्याउका बेर्ना निःशुल्क वितरण गरेको छ। कार्यालयले थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासहित जिल्लास्थित विभिन्न कार्यालय र व्यक्तिलाई ७ हजार २ सय ९० स्याउ बेर्ना वितरण गरेको कार्यालय प्रमुख रुक्मागत सुवेदीले जानकारी दिए। कार्यालयले थासाङलाई २ सय, घरपझोङलाई २ हजार ८ सय ७०, वारागुङ मुक्तिक्षेत्रलाई ३ हजार ५० बेर्ना वितरण गरेको हो। यस्तै, विभिन्न कार्यालय र व्यक्तिलाई १ हजार १ सय ७० बेर्ना वितरण गरेको कार्यालय प्रमुख सुवेदीले बताए।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले ९० प्रतिशत अनुदानमा जिल्लाका किसानलाई ४ हजार ५ सय बेर्ना वितरण गरेको एक्याप प्रमुख तुलसी दाहालले जानकारी दिए। दाहालका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्डका २७ गाउँमा स्याउ बेर्ना वितरण भएको जनाएको छ। शितोष्ण वागवानी विकास केन्द्र मार्फाले कुल २३ हजार स्याउका बेर्ना बिक्री गरेकोमा ७ हजार स्याउका बेर्ना जिल्लाका किसानलाई बिक्री गरेको छ। फार्मले बढी बेर्ना सिन्धुपाल्चोक, रोल्पा, बाग्लुङ, संखुवासभालगायत जिल्लामा पठाएको वरिष्ठ वागवानी विकास अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए। यस्तै शेर्पा नर्सरी फार्मले पनि चालु वर्ष करिब ५ हजार बेर्ना बिक्री गरेको जनाएको छ।
स्याउ जोन कार्यालयका बरिष्ठ कृषि अधिकृत माधव लम्सालका अनुसार १ हेक्टर जमिनमा ३ सय स्याउ बेर्ना रोप्न सकिने बताए। उनका अनुसार १ हेक्टर बराबर २० रोपनी जग्गा हुन्छ। यसअनुसार जिल्ला स्याउ जोन कार्यालयले वितरण गरेको औसत क्षेत्रफल ५० हेक्टर, डिभिजन वनको २५ हेक्टर, एक्याप १५ हेक्टर, वागवानी कृषि फार्म २५ हेक्टर र शेर्पा नर्सरी फार्म १५ हेक्टर गरी चालु वर्ष १ सय ३० हेक्टर जमिनमा ३९ हजार स्याउका बेर्ना रोपिने भएको वरिष्ठ कृषि अधिकृत लम्सालले उल्लेख गरे।
यस वर्ष स्याउको क्षेत्रफल १ सय ३० हेक्टर थपिँदा १४ सय ११ हेक्टर जमिनमा स्याउखेती हुने भएको हो। गत वर्ष मुस्ताङमा १२ सय ८१ हेक्टरमा स्याउखेती गरिएको स्याउ जोन कार्यालयको भनाइ छ। आर्थिक वर्ष ०७६/७७ मा ५ सय हेक्टर जमिनमा ६ हजार ५ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो। अघिल्लो वर्ष ५ हजार ८ सय मेट्रिक टन स्याउ उत्पादन भएको जोनले जनाएको छ। यस वर्ष सरोकारवाला कार्यालयले रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन डेलिसियस, कस्मिरी स्याउ र उच्च घनत्वको स्याउ वितरण गर्ने जनाएका छन्। यहाँ उत्पादित स्याउ ७० प्रतिशत जिल्लाबाहिर बिक्री हुने गरेको छ। २० प्रतिशत स्याउ जिल्लामै खपत भएको छ। यस्तै बाँकी १० प्रतिशत प्रशोधनमा खपत हुन्छ।