शान्तिटोलका नानीहरू

नजिकै एउटा खाली कम्पाउन्ड बाँकी थियो। त्यहाँ पनि जग्गावालाले घर बनाउन सुरु गर्यो। जग खनेर पिल्लर उठायो। खेल्ने ठाउँमा घर बन्न लागेकाले नानीहरू चिन्तामा थिए। ठूला मानिसलाई यस्ता कुराको चिन्तै थिएन।
यो शान्तिटोलका भाइबहिनीहरूको कथा हो।
स्कुलबाट आएर नानीहरू किताब थन्क्याउँछन्। खाजा खान्छन्। उनीहरूलाई खेल्न हतार हुन्छ। एउटा घरबाट अभया र विनय निस्किछन्। अर्कोबाट भानु र अनन्त। अनि अर्कोबाट चञ्चला र बल्लभ बाहिर आउँछन्। आलोक, भूपाल र गायत्री पनि बाहिर आउँछन्। हेर्दाहेर्दै गल्लीको त्यो भित्री सडक भरिन्छ। शान्तिटोलका नानीहरूको बेलुकाको दैनिकी यसरी नै चल्छ।
‘आज के खेल्ने है साथी’ अभयाले सोधिन्। अनन्तले भने, ‘फुटबल खेल्ने नि ! फुटबल सबैले खेल्न जान्दछन्। सजिलो पनि हुन्छ।’
नानीहरू धेरैजसो बल खेल्थे। कहिलेकाहीँ क्रिकेट पनि खेल्थे। आलोकले बलिङ गर्दा अस्ति विनयको घुँडामा लाग्यो। विनय निकै बेर रोए। बाबाले घर लगेर मालिस गरिदिनुभयो। त्यसपछि निकै दिन विनय खेल्न आएनन्।
त्यसपछि आलोक क्रिकेट खेल्न हच्किए। साना भाइबहिनी खेल्न आएका बेला उनीहरूले क्रिकेट खेल्न छाडे। फुटबल खेल नै उनीहरूलाई सजिलो लाग्यो।
उनीहरू फरकफरक स्कुलमा पढ्थे। कोही सरकारी स्कुलमा कोही निजीमा। कोही निकै धनीका छोराछोरी थिए। कोही गरिबका। कोही घरवाला र कोही डेरावाला। तर उनीहरूबीच भेदभावको भावना थिएन। साथीसाथी मिलेर मज्जाले खेल्थे।
खेल्दाखेल्दै एक दिन फोहोर बोक्ने गाडी आयो। अगिपछि त्यो गाडी बिहान आउँथ्यो। तर त्यो दिन बेलुका आयो। भूपालले भने, ‘फोहोरको गाडी पनि यै बेला आउनुपर्ने ! हाम्रो खेलै बिगारिदियो। ड्राइभर दाइ, हामी खेल्ने बेला यो गाडी नल्याउनु है !’
ड्राइभर दाइ बोलेनन्। मुसुमुसु हाँसेर मात्रै बसे। बल्लभले भने, ‘फोहोर बोक्ने गाडी आएन भने हामीले फोहोर कता फाल्ने ! हामी एकछिन खेल रोक्न सक्छौं। एक दिन नखेल्दा पनि हुन्छ। तर बेलामा फोहोर उठेन भने हामी घरमा बस्न सक्दैनौं।’
दिव्याले भनिन्, ‘त्यै त भन्या। भूपाललाई त्यति पनि थाह छैन।’ फोहोर बोक्ने गाडीले पन्ध्र मिनेटजति बाधा पुर्यायो। गाडी गएपछि उनीहरू फेरि खेल्न थाले।
पोहोरसम्म वरपर अलिअलि खाली ठाउँ थियो। घर बनाउन कम्पाउन्ड घेरेर राखेको खाली ठाउँमा गएर खेल्थे नानीहरू। एक वर्षमै ती ठाउँमा घर ठडिए। उनीहरूले खुल्ला ठाउँमा खेल्न पाएनन्। खुल्ला ठाउँ नपाएपछि उनीहरू भित्री सडकमै खेल्न थालेका थिए। त्यहाँ वरिपरिका मानिसका मात्रै गाडी र मोटर साइकल चल्थे। फोहोर र पानीका गाडी केही दिनमा मात्रै आउँथे। उनीहरूलाई त्यहाँ खेल्न खासै बाधा थिएन।
नजिकै एउटा खाली कम्पाउन्ड बाँकी थियो। त्यहाँ पनि जग्गावालाले घर बनाउन सुरु गर्यो। जग खनेर पिल्लर उठायो। खेल्ने ठाउँमा घर बन्न लागेकाले नानीहरू चिन्तामा थिए। ठूला मानिसलाई यस्ता कुराको चिन्तै थिएन।
त्यहाँ छिटोछिटो घर ठडिँदै थियो। ज्यामीहरू रातदिन खटेका थिए। ठेकदार एकछिन् छोड्दैनथ्यो। घरवाला पनि बेलाबेलामा आइरहन्थ्यो। इन्जिनियर फित्ता बोकेर यता र उता हिँड्थ्यो।
एक दिन बिहानै नयाँ घर बनेको ठाउँमा खैलाबैला सुनियो। घरवाला पनि आयो। इन्जिनियर पनि देखियो। ठेकदारले भन्यो, ‘बेलुका राखेको तीनवटा झ्याल कसरी लडे ?एक फिट गाह्रो पनि भत्काएको छ। हावाले लडाएको त हैन होला नि ! उपद्रो गर्ने मान्छे पत्तो नलगाई कहाँ छाड्छु ! अर्काको घरै भत्काउने !’
मेरी बास्सै ! ठेकदारले पुलिसै ल्याएर देखाउने भयो। स्कुल जाने बेला भएको थिएन। नानीहरू सडकको एउटा कुनामा जम्मा भए र सोच्न थाले, ‘यो उपद्रो कसले गर्यो होला ?हामीलाई पो दोष आउने हो कि साथी हो !’
‘हामीले के बिगार गरेका छौं र हामीलाई दोष आउने ! नखाएको बिख लाग्दैन साथी हो !’ चञ्चलाले भनिन्, ‘हामी सधैँ यहीं खेल्छौं। हामीमाथि नै शंका गरेका होलान्।’
भानुले अलि अँध्यारो मुख पार्दै भनिन्, ‘पुलिसले हामीलाई कुट्छन् होला है !’ गायत्रीले ढाडस दिइन्, ‘पुलिसले कहाँ कुट्छन् ! सोध खोज मात्रै गर्छन्। तिमीहरू नडराऊ।’
कुरा गर्दागर्दै तीनजना पुलिस आइपुगे। ठेकदारले वरपरका सबै मानिसलाई बोलायो। केटाकेटीलाई पनि बोलाउन लगायो। सबैजना जम्मा भए। एकजना पुलिस दाइले सोधे, ‘यो घरको झ्याल र गाह्रो लडाएको कसैले देख्नुभयो त ? ’ कसैले पनि देख्यौं भनेनन्।
विनय कुनामा उभिएका थिए। उनी अगाडि आए। उनले भने, ‘सर, यो झ्याल मैले लात्तीले हानेको हुँ। गाह्रोको इँटा लडाएको पनि मैले नै हो।’
विनयका आमाबाले अँध्यारो मुख लगाउनुभयो। के भनौं के नभनौं भयो। पुलिस दाइले सोधे, ‘बाबु, अनि तिमीले किन झ्याल लडाएको त ?यो घरले तिमीलाई के गरेको थियो ? ’
विनयले भने, ‘हामीले खेल खेल्ने ठाउँ पाएनौं। अनि मैले झ्याल लडाइदिएँ। हामीले खेल्ने ठाउँमा किन घर बनाउन लागेको त ?खोइ त हामीलाई खेल्ने ठाउँ ?अब मलाई कुटे पनि कुट्नुस्। थुने पनि थुन्नुस्।’
विनयका कुरा सुनेर सबै जना एकछिन चुप लागे। ठेकदार पनि अलमल्ल पर्यो। घरधनी हेरेको हेर्यै भयो। पुलिस दाइले भने, ‘आफ्नो जग्गामा जसले पनि घर बनाउन पाउँछ। साँचो बोलेकोमा बाबुलाई धन्यवाद ! तर अबदेखि यस्तो उपद्रो नगर्नू।’
विनयले भने, ‘आफ्नो जग्गामा घर बनाउन पाइन्छ भने खेल्ने ठाउँमा खेल्न पनि पाइन्छ।’
अब कसलाई कारबाही गर्ने ! सबैजना अचम्ममा परे। पुलिस दाइहरू केही नभनी हिँडे। नानीहरू पनि स्कुल जान ढिलो हुन्छ भनेर हतार हतार घर आए। घरधनी, ठेकदार र इन्जिनियर अलमल्ल परी हेरिबसे।
नानी हो ! शान्तिटोलका भाइबहिनीको समस्या यस्तो रहेछ। अनि तिमीहरूको नि !
प्रतिक्रिया दिनुहोस !
