असिनापानीले करोडौंको क्षति
सन्धिखर्क : शनिबार राती परेको भीषण असिनापानीले अर्घाखाँचीमा करौडौ मुल्यको तरकारी, फलफूल तथा अन्नबालीमा क्षति पुगेको छ । भारी असिना परेपछि अन्नबाली,फलफूल मौसमी तथा बेमौसमी तरकारी नष्ट गरेपछि कृषक चिन्तित बनेका छन् ।
राती परेको असिना पानीका कारण शितगंगा नगरपालीका ३,४,५ ,१० र १२ वडामा कृषकले लगाएको तरकारी, फलफूल र अन्नबाली पूर्णरुपा क्षति पुगेको छ। व्यवसायिक रुपमा बनाइएका फर्मसमेत भत्किएका छन्।
यस क्षेत्रका झण्डै तीन हजार घरधुरीमा ५० करोड बराबरको तरकारी, फलफूल र अन्नबालीमा क्षति भएको शितगंगा नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए ।
बारीमा लगाएको गौ, जौ, तरकारी, फलफूल मात्र नभएर घासपात समेत नष्ट भएको उनले बताए । कति क्षति भयो भनेर यकिन तथ्यांक आएको छैन् । सबै गरेर ५० करोड भन्दा बढीको क्षति भएको छ ।
गाईवस्तु बाँध्ने गोठ तथा निजी फर्महरु समेत भत्किएका छन् । २० भन्दा बढी कुखुरा फर्म, बाख्रा फर्म तथा गोठहरु भत्किएको जानकारी आएको उनको भनाई छ । प्राकृतिक विपदको यस समयमा सबै क्षेत्रबाट सहयोग गर्न नगरप्रमुख अधिकारीले अपिल गरेका छन् ।
यस क्षेत्रमा आरु, आरु बखडा, नासपाती, केरा, कफीलगायतका फलफूलहरु पूर्णरुपमा नष्ट भएका छन् । बारीमा लगाएका गहुँ, जौमामा क्षति पुगेको छ । काँक्रा, सिमी, बोडी, केराउ, साग, आलु, बन्दा, फूल काउली आदि नष्ट भएको छ ।
अत्याधिक परेको असिनाका कारण कमजोर अवस्थाका घर तथा गोठ भत्किएका छन् । शितगंगा नगरपालीका ३,४,५,१० र १२ नम्बर वडामा रहेका तीन हजार घरधुरी असिना पानीको प्रत्यक्ष मारमा परेका हुन् ।
चार फिटसम्म परेको असिनाले शितगंगा नगरपालीकामा हिमाली क्षेत्रको झल्को दिइरहेको छ । सन्धिखर्क गोरुसिङ्के सडक अन्तर्गत सितापुर चाक्ला खण्डमा सडकमा असिना जमेका कारण यातायातका साधनहरु रोकिएका छन् । सडकमा चार फिट सम्म असिना जमेका कारण सडक अबरुद्घ भएको हो ।
सन्धिखर्क ६ नरपानीको जगातमा मात्रै ३५ कृषकले लगाएको काँक्रा, बोडी, सिमी, केराउ, काउली , आलु , सागजस्ता तरकारी मात्र झण्डै ७० लाख बराबरको क्षति भएको सन्धिखर्क ६ का वडा अध्यक्ष कृष्णबहादुर आचार्यले बताए । '२ रोपनी जग्गामा काँक्रा, र पाँच रोपनीमा केराउ, बोडी सिमी, साग, काउली लगाएको थिए, सबै सखाप भयो,' उनले भने म जस्तै यहाँका ३५ व्यवसायिक कृषकले लगाएको तरकारीबाली नष्ट भएको छ । '
सन्धिखर्क नगरपालिकाको ६ नरपानीको जगात, नरपानी र अमराई तथा ७ खाँचीकोटको वागमारालगायतका क्षेत्रमा लगाइएका आरु, आरु बखडा, नासपाती, केरा, कफीलगायतका फलफूल पूर्णरुपमा नष्ट भएको सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए ।
बारीमा लगाएको गँहु, जौमा क्षति पुगेको छ । काँक्रा, सिमी, बोडी, केराउ, साग, आलु बन्दा, फूल काउली आदि नष्ट भएको छ।