कोरोना भाइरस : हल्लै-हल्लाले सीमाबासी हैरान
धनगढी : धनगढी उप-महानगरपालिका ३ का लिलाधर भट्टका छोरा भारतको बैंगलोरमा आइटी अध्ययनरत छन्। उनको परीक्षा सकिने बेला भएको छ । भारतले धेरै राज्यमा कोरोना संक्रमण देखा परेपछि परीक्षा भइरहेका बाहेकका विद्यालय बन्द भएका छन् भने परीक्षा भइरहेका कलेजले सकिने वित्तिकै बिदा दिइरहेका छन्।
तर परीक्षा सकिएर छोरालाई घर आउन भनेका भट्ट शनिबारदेखि अलमलमा परेका छन्। 'छोराको दुई दिनपछि बिदा हुन्छ, बोर्डर बन्द हुने भन्ने हल्ला चुलिएको छ, के गर्ने होला ? अलमलमा परेको छु, 'उनले भने, 'बनबासा नाका बन्द नहुने भन्ने सुनेको छु, छोरालाई त्यहीबाट आउन भने ।'
सीमा बन्द हुने हल्लाका कारण स्टील व्यापार गर्दै आएका धनगढीका व्यापारी महेश कुवरले भारतबाट आउने स्टील स्टक राख्न भारतीय पार्टीलाई आइतबार नै अर्डर गरेको बताए । 'सीमा बन्द हुने हल्लाले केही महिनाका लागि भएपनि सामान स्टक राख्नु भनेर अर्डर गरेको छु,' उनले भने ।
सुदूरपश्चिमका तराईका जिल्लासँग सीमाना जोडिएका र तीन सय किलोमिटरको आसपासको दुरीमा रहेका भारतीय सहरमा कोरोनाका बिरामी देखिएपछि सीमा क्षेत्र जोखिममा भने देखिएको छ । तर, सीमा बन्द हुने हल्लाले भारतीय बजारमा आश्रित नेपाली सामान थुपार्ने, आफन्तलाई छिटो घर बोलाउन अलमलमा परेका छन्।
सीमा बन्द बारे स्थानीय, प्रदेश र संघ सरकारले जनतालाई सूचना दिने कुनै संयन्त्र नबनाएकाले उनीहरु अलमलमा परेका हुन् । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा भन्छन, 'नचाहिदो हल्लाले प्रशासन पनि हैरान भएको छ ।'
उनले भारतले अनएराभल भीसा भएकालाई मात्रै नेपालको सीमानाबाट प्रवेशमा रोक लगाएकाले कुनै पनि सीमा नाका बन्द नहुने बताए । 'गृहमन्त्रालय, भारतीय काउन्टरपार्ट र सीमा क्षेत्रका सुरक्षा अधिकारीहरुसँग नियमीत सम्पर्क भइरहेको छ, तर त्यत्तिकै हल्लाले बजार तातेको छ,' उनले भने ।
प्रमुख जिल्ला अधिकारीले सामाजिक सञ्चाल प्रयोगकर्तालाई पनि पुष्टि नभएका भ्रामक कुराका बारेमा सामाजिक सञ्जालको प्रयोग नगर्न आग्रह गरे ।
मैत्रीपूर्ण बसहरु बन्द
कैलाली र कञ्चनपुरबाट भारतको विभिन्न सहरमा चल्ने मैत्रीपूर्ण बस सेवा बन्द भएका छन्। कञ्चनपुर प्रशासनले आइतबार देखि नै मैत्रीपूर्ण बस सेवा बन्द गराएको हो । कञ्चनपुरबाट एक दिन भारतका र एक दिन नेपाली गरी दैनिक ७ वटा बसहरु भारतको राजधानी नयाँ दिल्ली र उत्तराखण्डको राजधानी देहरादुनका लागि छुट्ने गरेका छन्।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज पाण्डेले, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले मैत्रीपूर्ण बसबाट पनि कोरोना सर्न सक्ने सम्भावना देखिएकाले बन्द गरिएको बताए ।
कैलालीबाट पनि भारतको राजधानीका लागि दैनिक तीनवटा बसहरु छुटने गरेका छन्। धनगढीबाट छुटने बसहरु सोमबार देखि बन्द गरिने भएका छन् ।
अस्थायी नाका पुरै बन्द
कैलाली र कञ्चनपुरका भारतसँग सीमाना जोडिएका अस्थायी सबै नाका अनिश्चितकालका लागि बन्द गरिएका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कैलालीमा टीकापुर क्षेत्रमा रहेको खक्रौला र धनगढीसँग जोडिएको गौरीफन्टा नाका बाहेकका सबै अस्थायी नाकाहरु बन्द गरिएको बताए ।
'शनिबार अस्थाइ नाकाको पनि अनुगमन गरियो, सबै ठाउँमा शसस्त्र र नेपाल प्रहरीलाई अस्थायी नाकाबाट आवागमन नगर्न र नगराउन निर्देशन दिइएको छ,' प्रमुख जिल्ला अधिकारी बोहराले भने। यस्तै कञ्चनपुरको पनि गड्डाचौकी बाहेकका सबै अस्थायी नाका बन्द गरिएका छन्।
कञ्चनपुरबाट चल्ने मैत्रीपूर्ण बस । फाइल फोटो