मार्क्सवाद र समाजवाद असफल भइसक्यो
‘नकारात्मक सोच र आशंका होइन; कम्युनिस्ट (लेफ्ट) र कांग्रेस (सेन्ट्रल लेफ्ट) ले गर्न नसकेका काम गर्न दक्षिणपन्थ उद्यत् (सेन्ट्रल राइट्) को पथमा एकीकृत राप्रपा अघि बढनेछ’ भन्छन् तीनमध्ये एक अध्यक्ष कमल थापा। कम्युनिस्ट र कांग्रेसको वैकल्पिक शक्ति जनताले खोजिरहेको अवस्थामा राप्रपाले आफूलाई उभ्याउन प्रयास गर्ने नीति लिएको छ। दलविहीन व्यवस्थामा व्यक्तिवादी राजनीति गरेका पूर्वपञ्चका दलहरूमा बहुदलपछि फुट र जुटको अनेकन शृंखला चलिरह्यो।
अनेक फुर्कासहितका पूर्वपञ्चहरूबीच अन्ततः केही दिनअघि एकीकरण भयो। एकीकरणपछि बूढानीलकण्ठस्थित निवासमा पुग्दा थापा भन्दै थिए, ‘अब फुट्ने अवस्था नै आउँदैन।’ पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्रको धरातललाई सबल बनाउने दाबी गरिरहेका थापासँग पार्टी एकीकरण, कार्यदिशा, सरकार, पछिल्लो राजनीतिलगायतमा अन्नपूर्ण पोस्ट्का चन्द्रशेखर अधिकारी र खगेन्द्र भण्डारीले गरेको कुराकानी :
पार्टी एकताको दिन यहाँले गीता नै छोएर कसम खानुभएको छ, त्यसको अन्तर्य के हो ?
राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासमा फुट्ने र जुट्ने भइरहेकाले यसपालि एकताबारे कार्यकर्ता र आमजनतामा पनि आशंका थियो। त्यसलाई निराकरण गर्न गीतालाई छोएर कसम खाइएको हुँ। दोस्रो, राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख एजेन्डा हिन्दुत्व भएकाले त्यससम्बन्धी सन्देश दिन पनि हामीले गीताको उपयोग गरेका हौं।
एकता दिगो हुँदैन भन्ने लागेर गीता छोएर कसम खानुभएको पो हो कि ?
मचाहिँ यसपटक तुलनात्मक रूपमा बढी आश्वस्त छु अब एकता भत्किँदैन भन्नेमा। मेरो मात्र विश्वासले पुगेन; आमजनता र कार्यकर्तालाई आश्वस्त तुल्याउन जरुरी थियो। यो माध्यमले आश्वस्त तुल्याउन आवश्यक थियो; त्यही गर्यौं। जनतालाई आश्वस्त तुल्याउने यो उच्चतम् बाटो पनि हो।
राप्रपाको स्थापनायता झन्डै दर्जनपटक मिल्ने–विघटन हुने भइरहेको छ। त्यो एकतामा पनि तात्विक भिन्नता देखिँदैन। तर अहिले पनि त्यो दिगो हुन्छ भन्ने के छ र ?
गीता छोएर कसम खाएकाले मात्र होइन; अन्य केही कारण पनि छन्। यसले गर्दा पार्टी एकता अक्षुण्ण रहन्छ भन्ने मलाई लाग्छ। सबैभन्दा पहिलो देशको वर्तमान अवस्था। ०६२/६३ को परिवर्तनपछि कांग्रेस र कम्युनिस्टहरूले प्रमुख संवाहकका रूपमा जुन अवधारणा र मार्गचित्र प्रस्तुत गरे; यो १०–१२ वर्षको राजनीतिक अभ्यास हेर्दा त्यसमा कमीकमजोरी रहेको स्पष्ट भएको छ। तसर्थ एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता मुलुकले महसुस गरिरहेको छ।
यसलाई दृष्टिगत गरेर यो एकता अक्षुण्ण रहन्छ। दोस्रो, विगतको पार्टी विभाजनको तीतो अनुभवले एकताका पक्षमा कार्यकर्ताको धेरै ठूलो दबाब छ। तेस्रो, गएको संसदीय चुनावमा हिन्दु राज्य र राजसंस्थाका एजेन्डा बोकेको एक मात्र पार्टीले तीन प्रतिशत मत पनि प्राप्त गर्न सकेन। यो हामी सबैको निमित्त चिन्ता र पीडाको विषय थियो। यसको पुनरावृत्ति नहोस् भन्नाका लागि यो फुट्दैन भन्ने लाग्छ। अन्तिममा उमेरको दृष्टिकोणबाट पनि। यद्यपि राजनीतिक रूपमा क्रियाशील हुन सकिएला। हामी सबै राजनीतिक जीवनको उत्तरार्धमा छौं। त्यसलाई व्यवस्थित गर्न सक्ने समय, क्षमता र वातावरण उपलब्ध छैन।
पार्टी विभाजन भएपछि विभिन्न चरणमा छलफल भए। सैद्धान्तिक राजनीतिक कारणबाहेक अन्य प्रयास (शक्ति केन्द्रको दबाब) पनि भए कि ?
जुन अवधारणामा सहमति भएर पार्टी एकता भएको छ, त्यो डेढ वर्षअघि नै पशुपतिजी र प्रकाशजीका बीचमा समझदारी भइसकेको थियो। दुर्भाग्यवश, के कारणले हो एकता हुन सकेन। ढिलै भए पनि त्यही विन्दुमा उहाँहरू आउनुभयो र एकता भयो। तीन पार्टीका बीचमा समझदारी भएको थियो। अन्ततः उहाँहरू (पशुपतिजी र प्रकाशजी) बीच मात्र एकता भयो, जुन पूर्ण थिएन तर अहिले पूर्णता पाएको छ।
पूर्वराजासँग भएको भेट र उहाँको दबाबका कारण पनि भन्ने हल्ला छ नि ?
मेरो पूर्वराजासँग भेट नभएको नौ महिना भइसकेको छ। अरूले भेट्नुभएको भए थाहा भएन। समान विचारधारा भएका सबै एकै स्थानमा आऊन् भन्ने सद्भाव पूर्वराजादेखि जनता सबैको थियो होला। तर, यो एकतामा राजाको प्रत्यक्ष वा परोक्ष भूमिका रहेको मलाई जानकारी छैन।
बाह्य शक्तिको हात पनि छ कि ? किनकि पूर्वप्रधानमन्त्री (वरिष्ठ पूर्वपञ्च) का छोरासमेत हुन् सुनिल थापासहित केही व्यक्ति यसमा सहभागी भएको देखिँदैन नि ?
बाहिरी शक्तिको त म झन् जवाफ दिनै सक्दिनँ। किनभने म त्यो मान्यताको विरुद्धमा खडा भएको व्यक्ति हुँ। बाह्य शक्तिहरू पार्टी र पार्टीको आन्तरिक मामिलामा कुनै पनि विषयमा कुरा गर्ने हिम्मत राख्दैनन्। उहाँ (सुनिलजी) आउनुहुन्छ। अन्यथा निर्णय गर्नुहुन्छ भन्ने लाग्दैन। यो पार्टी एकता र नेपालको राष्ट्रिय मान्यतामा शक्ति स्थापना होस् भन्ने चाहनाका पछाडि राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिको सद्भाव हुन पनि सक्छ। तर त्यसको प्रत्यक्ष जानकारी छैन। हामीले गरेको एकता देशको समग्र परिस्थिति हेरेर गरेका छौं। सात सालमा प्रजातन्त्र स्थापना भएयता बहुदलीय प्रतिस्पर्धा भएका कारण निरन्तर वामपन्थी (लेफ्ट) र कांग्रेस (सेन्टर लेफ्ट) शक्ति नै हावी रहँदै आएको छ। वामपन्थी भन्नाले पूर्वएमालेदेखि पूर्वमाओवादीसम्म भन्न सकिन्छ। मध्ये वामपन्थी (सेन्टर लेफ्ट) भन्नाले कांग्रेसलाई खोजेको हुँ। समाजवादी भनेको पनि ‘लेफ्टिस्ट आइडोलोजी’ नै हो।
यतिबेला वामधारको मार्गचित्रअनुरूप मुलुक अघि बढेको छ। त्यसको परिणाम हामीले भोगिरहेका छौं। यो केवल व्यक्तिको मात्र कमीकमजोरी होइन। कुनै व्यक्ति वा दलको कारणले मात्र यो अवस्था आएको होइन। यसका पछाडि केही सैद्धान्तिक र वैचारिक आधार छन्। विश्वव्यापी रूपमै देखेका छौं। साम्यवादी र समाजवादी धार भुत्ते र असफल हुँदै गएको छ। छिमेक भारतमै हेर्ने हो भने पनि झन्डै ६ दशकसम्म त्यही मान्यताको वर्चस्व कायम थियो। कम्युनिस्टहरू त करिब–करिब समाप्त हुने दिशामा छन्। सेन्टर लेफ्ट पार्टी पनि ज्यादै कमजोर भएर गएका छन्। यो समयको माग पनि हो। नेपालको सन्दर्भमा नितान्त अभाव थियो। त्यसलाई ०६२/६३ को परिवर्तनपछि म अघि बढेको हुँ। तर सम्बधनवादको वैचारिक धारणालाई एकीकृत राप्रपाले नै गरेको हो।
उसो भए यहाँहरूलाई बुझ्दा अब राइटिस्ट (दक्षिण पन्थ) भनेर बुझ्नुपर्यो ?
त्यस्तो होइन। यसलाई सेन्टर राइट (दक्षिण पन्थतर्फ) भनेर बुझ्न आवश्यक छ। यसलाई सेन्टर राइट भन्न खोजेको कारण हो– हामी मूलतः प्रजातन्त्र, व्यक्ति स्वतन्त्रता, संविधानवाद र बहुलवादमा विश्वास गर्छौं। यही मूलभूत मान्यतामा आधारित रहेर मुलुकको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणका एजेन्डालाई अघि बढाउन चाहन्छौं।
नयाँ पार्टीहरू पनि देखा परिरहेका छन्। उनीहरू आफूलाई सेन्टर लेफ्ट भनिरहेका छन् नि ?
हो, आउनुभएको छ। तर सेन्टर लेफ्टको प्रयोग नेपालमा असफल भइसकेको छ। माक्र्सवाद, साम्यवाद, समाजवाद जुन रूपमा भनौं सबै असफल भइसकेका छन्। त्यो विचारधारा मार्गचित्रले आर्थिक विकास र समृद्धिको लक्ष्य प्राप्त हुन सक्दैन। साम्यवादी र समाजवादीहरूले पनि पुँजीवादी अर्थतन्त्रलाई आत्मसात गर्नुपर्नाको कारण त्यही हो। जुन किसिमको स्टेटको भूमिका खोजेका थिएँ। व्यक्तिको सम्पत्तिमा नियन्त्रण, बलियो सरकारको कुरा गर्नेहरूका मूल्य र मान्यता शिथिल हुने गरेका थिए। आफूलाई प्रस्तुत गर्ने पार्टी पनि असफल मार्ग हिँड्न खोजेका छन्। एउटै कुरा उहाँहरूले भनेको देख्छु तर बाटौ उही छ। त्यसैले कांग्रेस र कम्युनिस्टकै एजेन्डा बोकेर उनीहरूले सृजना गरेको विकृति र विसंगतिबाट मुक्त तुल्याउन सकिँदैन।
पछिल्लो समय त पपुलिस्ट लिडर (लोक रिझ्याइँवादी नेता) हरू हावी भएका होइनन् र ?
पपुलिजम (लोकरिझ्याइँवाद) वास्तवमा राइटिस र लेफ्टिस्ट दुवै हुँदैनन्। जनताका क्षणिक मागलाई सम्बोधन गर्ने भान पारेर आफू स्थापित हुने हुनाले त्यो नेतृत्व दिगो हुँदैन। पपुलिजमसँगै दाँजिएर आएको अर्को राष्ट्रियतावाद (नेसनालिजम) पनि छ। राष्ट्रवादलाई हामीले जोड दिन खोजेको हौं।
राप्रपालाई वैकल्पिक शक्तिका रूपमा व्याख्या गरिरहँदा सहजै प्राप्त होला झैं त देखिँदैन नि ?
हो, सहज छैन। संघर्ष गर्न आवश्यक छ। भारतमा पनि साम्यवाद तथा कांगे्रसलाई पराजित गर्न भारतीय जनता पार्टीलाई ६० वर्ष कुर्नुपरेको थियो। नेपालको परिस्थिति हेर्दा र विश्व राजनीतिक घटनाक्रम नियाल्दा हामीले त्यति लामो प्रतीक्षा गर्नुपर्ने देखिँदैन। खासगरी प्रमुख राजनीतिक दल कांग्रेस कम्युनिस्टभित्र सैद्धान्तिक विचरण, तीव्र गुटबन्दी र भ्रष्ट प्रवृत्ति देखिएको छ। मलाई लाग्छ, एकदुई निर्वाचनबाट हामी माथि उठ्ने छौं।
विद्यमान जनमतले त्यस्तो देखाउँदैन नि ?
हो, अहिलेको जनमतले त्यस्तो देखाउँदैन। नेपालको जनमत एकदमै तरल अवस्थामा छ। यसलाई परिवर्तन गर्नुपर्छ र सकिन्छ। तत्काल हेर्दा सम्भव नहोला झैं देखिन्छ। तर मेरो मान्यता के हो भने सम्भाव्यता भनेको आवश्यकताले जन्माउने हो। हामीले जनतालाई विश्वास दिलाउन सके यो सम्भावना छ। एकाध निर्वाचनपछि नै राजनीतिक शक्तिको उदय भएको देखिएको छ। तीन दशकको इतिहास बोकेको पार्टी हो। जनतामा उपस्थिति छ र अब छिटै योजनासहित जनतामा पुग्छौं। नयाँ उचाइ लिनेछौं।
राजतन्त्र र हिन्दुमा यहाँको प्राथमिकता कुन पहिलो ?
प्राथमिकताको विषयभन्दा पनि सैद्धान्तिक निष्ठाको कुरा हो। राजनीतिक अवधारणा र मार्गचित्र प्रस्तुत गर्न खोजेका छौं। त्यसअन्तर्गत हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्र उत्तिकै महŒवपूर्ण हुन्। समय र परिस्थितिलाई दृष्टिगत गर्दै हामी उपयुक्त प्राथमिकताका आधारमा कार्यनीति प्रस्तुत गर्छौं। त्यो कार्यनीतिअन्तर्गत हिन्दु राष्ट्रका एजेन्डा अगाडि ल्याएका छौं। भ्रष्टाचार र बेरोजगार रहेकाले सुशासन र रोजगारलाई जोड दिएका छौं। प्राथमिकताका कार्यनीतिका रूपमा रहेको छ। पार्टी संगठन बलियो भएर आउँदा त्यसलाई हामी अघि बढाउनेछौं।
सरकार समीक्षा
औपचारिक शिक्षा नै आवश्यक छैन भन्नेहरूले पार्टी र मुलुकको नेतृत्व गरिरहेको अवस्थाबारे यहाँको धारणा के छ ?
वास्तवमा विद्यालयको शिक्षा हासिल नगरे पनि अनुभवबाट खारिएका व्यक्तिमा पनि पर्याप्त ज्ञान हुन्छ। खासगरी विकासोन्मुख मुलुकहरूमा प्रजातन्त्र आइसकेपछि यसलाई दिगो बनाउन धेरै चुनौती पार गर्नुपरेको विश्व घटनाक्रमले देखाएको छ। पछिल्लो समय प्रजातन्त्र केही स्थिर देखिएको छ। यो आवरणमा मात्र हो, व्यवहारमा होइन। व्यक्ति र समाजको जीवनलाई रूपान्तरण गर्न सकिरहेको छैन। यसको मुख्य कारण हरेक मुलुकका आआफ्ना सापेक्षिक कारण छन्। राजनीतिक कारणसँगसँगै आर्थिक क्रान्तिलाई अगाडि बढाउन सकेनन्। नेपालको सन्दर्भमा राजनीतिक क्रान्तिपछि राष्ट्रिय सहमतिको संस्कार बनाएर लैजानुपर्नेमा प्रतिद्वन्द्वी शक्तिलाई निषेध गरेर आफ्नो वर्चस्व कायम गराउनेतर्फ हामी लाग्यौं। तेस्रो, नेपालको मौलिक दृष्टिकोणलाई दृष्टिगत गरी राजनीतिक प्रणाली स्थापित गर्न सकेनौं। अरूबाट अनुकरण गर्न खोज्यौं। भारत स्वतन्त्र भएपछि उसले पश्चिमा राष्ट्राको अनुकरण गर्यो भने हामीले भारतको। त्यसकारण हामीले सात दशकको अभ्यासबीच प्रजातन्त्रलाई दिगो बनाउन सकेनौं।
सरकार गठन भएको दुई वर्षलाई कसरी समीक्षा गर्नुहुन्छ ?
यो सरकारसँग अपेक्षा धेरै थिए। यद्यपि वर्तमान सरकारकै पालामा सिर्जित भएका त होइनन्, तर भ्रष्टाचार र बेरोजगार नियन्त्रण गर्नेतर्फ यो सरकार प्रभावकारी हुन सकेको छैन। खासगरी भ्रष्टाचारका क्षेत्रमा डरलाग्दो परिस्थिति देखिरहेको छु। यसले प्रजातन्त्र र राजनीतिक स्थिरतलाई आघात पुर्याउन सक्छ। डरलाग्दो चुनौती भ्रष्टाचार वा आर्थिक स्वार्थका लागि कुनै कानुन वाधक भए नीतिगत आवरणमा मन्त्रिपरिषद्बाट निर्णय गराउने, संवैधानिक निकायमा पार्टीका मान्छेहरू नियुक्त गर्ने र भ्रष्टाचारको प्रवृत्ति उकालो लाग्दो छ। यसमा सत्तारूढ मात्र होइन; प्रमुख प्रतिपक्षी दल पनि उत्तिकै जिम्मेवार छन्। यो यस्तो चक्र सिर्जना हुन खोजेको छ, प्रजातन्त्रको आवरणमा चुनाव जित्ने अनि भ्रष्टाचार गरेर अर्थाेपार्जन गर्ने, सत्तामा बलियो पडक जमाउने र फेरि चुनाव जित्ने चक्र नेपाली राजनीतिमा स्थापित हुन खोजिरहेको छ। कम्युनिस्ट असफल भयो भने कांग्रेसले त्यो स्थान लिने र कांग्रेस असफल भए कम्युनिस्टले त्यो ठाउँ लिने। यो चक्र भत्काउन पनि हामी क्रियाशील छौं। हाम्रो पार्टी एकताको मूल कारण पनि यो एक हो।
तर राप्रपा विभाजनको मूल कारण तपाईं हो भन्ने आरोप लाग्ने गरेको छ नि ?
यसअगाडि पार्टीको एकता महाधिवेशनबाट म अध्यक्ष निर्वाचित भएको थिएँ। मेरो अवधि अझै बाँकी नै थियो। तर दुर्भाग्यवश पार्टी विभाजन भयो। पार्टी विभाजन हुनुमा मेरो पनि कहीं न कहीं नैतिक दायित्व हुन सक्छ, तर पार्टी फुटाउने काम अरूले नै गरेका हुन्। मैले अस्ति पार्टी एकताका दिन गीता छुनुको कारण के हो भने अब म पनि पार्टी फुट्न दिन्न र अरूलाई पनि फुटाउन दिन्नँ। यो कसम खुवाउने काममा पशुपतिजी र प्रकाशचन्द्रजीलाई पनि संलग्न गराएको हुँ।
सरकारले किन काम गर्न सकेन होला ?
सरकारलाई बाहिरबाट हेर्दा के देखिरहेको छु भने नेपाल कम्युनिस्ट पार्टीभित्र धेरै ठूलो सैद्धान्तिक विचलन छ, खासगरी नेतृत्व तहमा। सैद्धान्तिक विचलन हुनेबित्तिकै व्यक्तिले आफूलाई असुरक्षित महसुस गर्न थाल्छ। त्यसपछि जायज–नाजायज, नैतिक–अनैतिक काम गरेर आफूलाई सुरक्षित बनाउने काम गर्छ। यो प्रवृत्ति नेकपामा देखिएको छ। केपी ओलीसँग क्याबिनेटमा नजिक रहेर काम गरिसकेको छु। उहाँमा दृढ इच्छाशक्ति, स्पष्ट राष्ट्रवादी र केही गरौं भन्ने सोच रहेको मैले पाएको छु। तर यो अवधिमा उहाँको क्षमताअनुसार काम भएको छैन।
पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष र प्रतिस्पर्धाले उहाँ निरीह बन्नुभएको हो वा उहाँको स्वास्थ्यले साथ नदिएर। यसबाट उहाँलाई थप कमजोर बनाउने खेल भएको छ। म नेकपाका शीर्ष नेताहरूलाई के आग्रह गर्छु भने धेरै लामो समयपछि जनताले ठूलो आशा र भरोसाका साथ नेकपालाई अत्यधिक बहुमत दिएका हुन्। यसमा प्रमुख दुइटा कारण छन्– एउटा राष्ट्रियताको सुदृढीकरण र दोस्रो स्थायी तथा बलियो सरकार। यी दुई विषयमा सम्झौता गर्ने गरी सरकारलाई अस्थिर बनाउने हो भने यसले नेकपालाई अलोकप्रिय त बनाउँछ नै, अर्काे २०७२ सालको संविधानको भविष्य नै संकटमा पर्न सक्छ।
बाह्य शक्ति हावी
सरकारले काम गर्न नसक्नुमा बाह्य शक्तिको प्रभाव पनि देख्नुहुन्छ ?
२०६२/६३ सालको राजनीतिक परिवर्तनपछि नेपालको राजनीतिमा बाह्यशक्तिको राजनीतिक प्रभाव बढ्दै गएको जगजाहेर छ। यो पनि सबैलाई थाहा छ कि गएको चुनावमा केपी ओली र कम्युनिस्ट पार्टीलाई पराजित गर्न धेरै ठूलो शक्ति पनि लागेका हुन्। ती शक्तिसँगको सम्बन्ध र सन्तुलन प्रधानमन्त्रीले कसरी मिलाउनुभएको छ, त्यो त थाहा छैन। तर ती शक्तिहरू सरकारलाई असफल बनाउन लागिरहेको सत्य हो।
कम्युनिस्ट गठबन्धनलाई जिताउने शक्तिहरू पनि त थिए होलान् नि ?
अवश्य पनि हुन सक्छन्। पछिल्लो समय परिवर्तनलाई ठीक ढंगले समायोजन गर्न नसक्दा नेपाल बाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बनेको छ। स्वाभाविक रूपमा नेपालमा दुई छिमेकीको चासो हुन्छ। यस्तै अन्य अन्तर्राष्ट्रिय शक्तिहरूको चासो पनि हुन्छ। हामीले राजसंस्थासहितको प्रजातन्त्र चाहिन्छ भन्नुको पछाडिको कारण पनि यही हो। नेपाल जुन खालको भौगोलिक अवस्था छ, यो भूराजनीतिक अवस्थामा राष्ट्रिय सुरक्षा र सामरिक स्वार्थमा आघात पुग्यो भने स्वाभाविक रूपमा छिमेकीले नेपालमा गतिविधि बढाउँछन्। त्यस्तो गतिविधि बढ्दै जाँदा देशको बृहत्तर हितमा सम्झौता गर्ने र मुलुक विखण्डनको अवस्था पनि आउन सक्छ। त्यसकारण राष्ट्रिय अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्न पनि एउटा अभिभावकीय शक्ति आवश्यक हुन्छ भनेरै राजसंस्थाको वकालत गरेका हौं। हरेक मुलुकलाई यो बाध्यता नहुन सक्छ। गणतन्त्र आफैंमा खराब होइन। राजतन्त्र पनि आफैंमा ठीक भन्ने होइन। तर हरेक मुलुकको इतिहास, भूराजनीतिक परिवेश, सामाजिक सांस्कृतिक केही मान्यता स्थापित गरेको हुन्छ। दुर्भाग्य, हामीले त्यसलाई पूर्णरूपमा बेवास्ता गरेर अरूको लहलहैमा ‘पपुलिस्ट’ राजनीति गर्न खोज्यौं। यसबाट हामी सचेत हुनुपर्छ।
पछिल्लो समय बाह्य सहयोगलाई लिएर पनि विवाद देखिन थालेको छ। किन यस्तो अवस्था उत्पन्न भएजस्तो लाग्छ ?
तपाईंले एमसीसीसँग जोड्न खोज्नुभएको होला। एमसीसी कार्यान्वयन गर्दा नेपालको कहीं पनि अहित हुन्छ जस्तो लाग्दैन। अमेरिकी सरकारको नेपालको जलविद्युत् र यातायात पूर्वाधार विकासमा ठूलो रकम अनुदानमा आउँदै छ। यो अनुदान ग्रहण गर्दैमा हामीले अमेरिकी क्याम्पमा गएको ठान्नु हुँदैन। खासगरी सत्तारूढ दलको आन्तरिक फोहोरी प्रतिस्पर्धाका कारण यसबारे अनेकौं भ्रम सिर्जना गरिएका छन्। यसलाई सरकारले यथाशक्य चाँडो सदनबाट अनुमोदन गराएर कार्यान्वयनमा लैजानुपर्छ।
प्रमुख प्रतिपक्षी कांग्रेसको भूमिका कस्तो पाउनुभएको छ ?
सत्तारूढ दल जति असफल भएको छ, त्योभन्दा कम असफल कांग्रेस छैन। प्रमुख प्रतिपक्षी दल भनेको संसदीय व्यवस्था ‘गभर्मेन्ट इन वेटिङ’ मानिन्छ। तर उसले त्यो ढंगबाट भूमिका निर्वाह गर्न सकेको छैन। भ्रष्टाचारलगायतका विषयमा सशक्त आवाज उठाउन सकेको छैन। न त सरकारका कमीकमजोरी सार्वजनिक रूपमा लगेर जनताको विश्वास आर्जन गर्न सकेको छ। यसको प्रमुख कारण कांग्रेसका सैद्धान्तिक र वैचारिक विचलन हो। कांग्रेसको सैद्धान्तिक धरातल नै स्पष्ट छैन। कांग्रेस पार्टीभन्दा पनि चौतारीजस्तो छ। त्यहाँ जस्तोसुकै विचारधाराको मान्छे जतिबेला आएर पनि बस्न सक्छ। गुटबन्दी तीव्र छ। यसले कांग्रेसप्रतिको विश्वसनीयता पनि कम हुँदै गएको छ। यसकारण तेस्रो शक्तिको आवश्यकता देखेर हामी अगाडि बढेका छौं।
राप्रपाको बाटो
राप्रपा कसरी अगाडि बढ्छ ?
अहिले कोरोना भाइरसका कारण पार्टीका गतिविधि रोकिएका छन्। चाँडै देशभर स्थानीय तहसम्म पार्टी एकीकरण र समायोजन टुंग्याउँछौं। त्यसपछि वैशाखदेखि भ्रष्टाचार र हिन्दु राष्ट्रका पक्षमा देशव्यापी अभियान र आवश्यकता हेरी आन्दोलनमा जान्छौं। तेस्रो, हामीले पार्टी महाधिवेशनबारेमा एकीकरणकै बेलामा महŒवपूर्ण समझदारी गरेका छौं। आगामी महाधिवेशनमा आउने प्रतिनिधि सक्रिय सदस्यमध्येबाट प्रदेश–प्रदेशबाट निर्वाचित भएर आउने व्यवस्था गरेका छौं। यसैगरी युवाहरूलाई पार्टीमा आकर्षित गर्न युवा नेतृत्वमा जोड दिएका छौं।
राप्रपामा दशकौंदेखि तपाईंहरू नै नेतृत्वमा हुनुहुन्छ, यसले राप्रपाधारका दलहरूभित्र नेतृत्वको खडेरी हो ?
राप्रपाभित्र क्षमता भएका र योग्य युवा साथीहरू हुनुहुन्छ। केही वर्षपछाडि उहाँहरू राष्ट्रिय राजनीतिमा स्थापित हुन्छन्। हामी पनि राजनीतिको उत्तरार्धमा लागिसकेकाले पार्टीलाई हाँक्न सक्ने युवाहरू छन्। त्यहीअनुसार युवाहरूलाई पार्टीभित्र नेतृत्वका लागि हुर्काइराखेका पनि छौं। सम्भवतः उपयुक्त भयो भने आउने महाधिवेशनमै युवा साथीहरू पार्टीको नेतृत्वमा आउन सक्छन्।
राप्रपा पूर्वपञ्चहरूको मात्र पार्टी भयो। यसमा अरूको आकर्षण नहुनुको कारण के हो ?
यसमा अलिकति भ्रम पनि छ। यो पार्टीको स्थापना पूर्वपञ्चहरूबाटै भएको हो। हाम्रो विचारधारा विगतका राम्रा मूल्य–मान्यताको पनि प्रभाव छ। त्यसकारण त्यो आरोपमा केही सत्यता भए पनि अहिले राप्रपा पूर्वपञ्चहरूको पार्टी होइन। पञ्चायतको लिगेसीलाई राप्रपाले बोक्दैन। पञ्चायतको अवसान हुने बेलामा जन्मिएको व्यक्ति ३० वर्षको हुन थालिसक्यो। त्यस्ता धेरै व्यक्ति राप्रपामा छन्। उनीहरूलाई पञ्चायतको विरासत बोकाउनु अन्यथा हुन्छ। राप्रपामा दोस्रो जनआन्दोलनमा सक्रिय सहभागी भएका, कांग्रेस–कम्युनिस्टमा राम्रो भूमिकामा रहेका नेताहरू पनि छन्।
कतिपयलाई भ्रम पनि छ– राप्रपाले हिन्दुराष्ट्र र राजसंस्थाको मात्रै कुरा गर्छ। यो पनि नितान्त गलत छ। हामीले एउटा धर्मको मात्र राज्यले संरक्षण गर्नुपर्छ भनेका होइनौं। हामी पूर्ण धार्मिक स्वतन्त्रताका पक्षमा छौं। नेपाल हिन्दु राष्ट्र कायम हुनुपर्छ। हिन्दु नेपालको साझा पहिचान हो। पार्टीगत रूपमा संवद्र्धनवादको कुरा गरेका छौं। संवद्र्धनवादको वैचारिक दर्शनको प्रेरणा स्रोत वैदिक सनातन धर्म हो। राजसंस्थाको कुरा गर्दा हामीले २०६२/६३ साल अघिजस्तो राजतन्त्रका कुरा पनि गरेका होइनौं। परिवर्तनकारी शक्तिहरूलाई पनि चित्त बुझ्ने, सहमति र सम्झौतासहितको राजतन्त्र र लोकतन्त्रका पक्षमा कुरा गरेका छौं। जनता र जनताका प्रतिनिधिले गर्ने व्यवस्थासहितको राजतन्त्रका कुरा गरेका हौं। अहिलेको संविधानमा हामीले पनि हस्ताक्षर गरेका छौं। यसमा हाम्रो पनि अपनत्व छ। हामी संविधानकै परिधिमा रहेर हाम्रा मान्यता जनताका अभिमतबाट स्थापित गर्न चाहन्छौं। हामीले लिएको मान्यता र संविधानप्रतिको निष्ठाबीच अन्तरद्वन्द्व छ भन्ने सोच्नु हुँदैन। यो संविधानले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रलाई जनताको अभिमतबाट परिवर्तन गर्न सक्ने अधिकार दिएकाले यो अधिकार हाम्रा लागि चुनौती हो। अब हामीले यो अधिकार प्रयोग गरेर जनता हाम्रा पक्षमा छन् भन्ने प्रमाणित गर्नुपर्छ।
तपाईं निरन्तर हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाका पक्षमा लाग्नुभएको छ। तपाईंकै जीवनकालमा यो सम्भव देख्नुहुन्छ ?
हिन्दु राष्ट्र स्थापना सम्भव छ। यसमा केही भ्रम छन्, ती निराकरण गर्न सक्यौं भने हिन्दु राष्ट्रका मुद्दा स्थापित हुन्छ। जहाँसम्म राजसंस्थाको विषय छ। म जति पहिला आशावादी थिएँ, त्यसमा कमी आएको छ। यसमा कारण के हो भने मैले शून्यबाट चार, चारबाट पच्चीस हुँदै ३७ सम्म पुर्याएर राप्रपालाई तेस्रो ठूलो शक्ति बनाएँ। कांग्रेस र कम्युनिस्टभित्र पनि राजसंस्थाप्रतिको स्वीकारोक्ति बढ्दै गएको थियो। राप्रपाको एकीकृत महाधिवेशनमा केपीजी, प्रचण्डजी, शेरबहादुरजी, हृदयेश त्रिपाठीजीलगायतलाई एउटै मञ्चमा राखेर राजसंस्थाबारेमा कुरा गर्यौं। तर दुर्भाग्य भन्नुपर्छ– यो गति पार्टी विभाजनबाट अवरुद्ध भयो। पार्टी विभाजनमा देशभित्रका वा बाह्य, पशुपतिजी लाग्नुभयो कि प्रकाशचन्द्रजी, यसमा मलाई धेरै चित्त दुखाइ छैन।
मलाई सबैभन्दा बढी पीडा मेरै हातले हस्ताक्षर गरेर सांसद र मन्त्री बनाएका व्यक्तिहरूले पार्टी विभाजनका लागि जुन हस्ताक्षर गरे, यो मेरा लागि ठूलो पीडा थियो। फेरि पार्टी एकतापछि त्यो गति बढाउन सक्यौं भने मेरै जीवनकालमा राजसंस्था पुनस्र्थापना हुन सक्छ। अर्काे कुरा, हिन्दु राष्ट्र भावनाको विषय हो। राजसंस्थाका कुरा गर्दा संस्था र पात्रको कुरा पनि आउँछ। त्यो संस्था र पात्रले नेपाली जनता र खासगरी राजनीतिक दलको विश्वास आर्जन नगरेसम्म त्यो सम्भव हुँदैन। त्यसका लागि सकारात्मक भूमिका राजसंस्था वा राजसंस्थाका उत्तराधिकारीबाट हुनुपर्छ। राजसंस्था कुनै शक्तिले ल्याएर टिकाउ हुने होइन। जनता र राजनीतिक दलबाट स्वीकारोक्ति नभएसम्म त्यो टिकाउ हुँदैन। त्यो स्वीकार्यका लागि राजसंस्था र उत्तराधिकारीको भूमिका पनि उत्तिकै हुन्छ।
नेपालले अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध सुदृढ बनाउन के गर्नुपर्ला ?
म कुनै पनि नेताको राष्ट्रियताका विषयमा शंका गर्दिनँ। उहाँहरूको देशप्रतिको मायाबारेमा मलाई आशंका छैन। तर जुन ढंगबाट काम भइरहेको छ, यसले सिंगो राष्ट्रिय अस्तित्वमाथि खिया लाग्दै गएको अनुभूति गरेको छु। धेरै उदाहरण छन्। त्यसमध्ये एउटा, जसरी नेपालको डेमोग्राफिक परिवर्तन तीव्र गतिमा भइरहेको छ, यसमा कसैले चिन्ता गरेको छ ? केही दिनअघि तराईमा ५० हजार मुस्लिम सहभागी एउटा कार्यक्रम भयो। कार्यक्रमप्रति आपत्ति होइन तर कहाँबाट आउनुभयो त्यति धेरै संख्यामा ? मुलुकमा जसरी इसाईकरण भइरहेको छ, यसप्रति खै चिन्ता ? मुलुकप्रतिको बफादारीमा विस्तारै शिथिलता आउँदैछ। आम मानिसमा सबै दल र नेताहरूलाई खराब देख्ने प्रवृत्ति बढ्दै गएको छ। हामी राजनीतिक दलले यो खतरालाई महसुस गरेनौं भने झन् खराब स्थिति आउन सक्छ। त्यसकारण हामी राष्ट्रियताका विषयमा चनाखो भएनौं र मुलुकप्रति प्रतिबद्ध भएनौं भने बाह्य हस्तक्षेप अझै बढ्छ। त्यसकारण राष्ट्रिय स्वार्थ र हितका पक्षमा राजनीतिक दलका साथै नागरिक समाज, सञ्चार क्षेत्र र आमनागरिक सबै सचेत हुनुपर्छ।
२६. राजसंस्था चाहिन्छ भनिरहनुभएको छ तर राजतन्त्र पुनस्र्थापनाप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ?
राजसंस्थाको विषयले कहिलेकाहीं मलाई अत्यन्तै चिन्तित बनाउँछ। मैले जुन कुरा उठाइरहेको छु, यो पूर्वराजा वा कुनै राजसंस्थाका उत्तराधिकारीले भनेर होइन। मेरो चेतनास्तरको विकास भएसँगै राजसंस्था हाम्रो मुलुकका लागि आवश्यक हुन्छ भनेर म यसका पक्षमा उभिँदै आएको हुँ। पूर्वराजाका बारेमा मलाई व्यक्तिगत गुनासो छैन। पूर्वराजाको हामीप्रति सद्भाव रहेकै मैले पाएको छु। राजसंस्था पुनस्र्थापनाबारे पूर्वराजाले मलाई सधैं भन्नुभएको कुरा के हो भने नेपाली जनता के चाहन्छन्। मैले देश छाडेको छैन। म देशभित्रै छु। जनताले मेरो आवश्यकता ठाने भने मलाई के भूमिकामा राख्छन् म त्यो भूमिका निर्वाह गर्न तयार छु। मुख्य कुरा देश बलियो हुनुपर्छ भन्ने चिन्ता उहाँमा छ। तर आफूलाई दरबारवरिपरिका भन्ने व्यक्तिका गतिविधि र क्रियाकलाप पूर्वराजाका सदासयता र हाम्रो अभियान कमजोर बनाउने खालका छन्।