डडेल्धुराका अस्पतालमा पाँच शैयाको आइसोलेसन वार्ड
डडेल्धुरा : कोरोनाको त्रास बढ्दै गएपछि डडेल्धुराका दुईवटा ठूला अस्पतालमा आइसोलेसन वार्ड (अलग कक्ष) तयार पारिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन र कोही संक्रमित भइहाले उपचार र रोकथामका लागि अलग कक्षको व्यवस्था गरिएको हो ।
जिल्लाको डडेल्धुरा अस्पताल र भित्रि मधेश जोगबुढास्थित परशुराम नगरपालिका-१२ मा रहेको जोगबुडा अस्पतालमा एउटा÷एउटा अलग कक्षा बनाइएको छ ।
डडेल्धुरा अस्पतालमा हाल पाँच शैया राखी अलग कक्ष स्थापना गरिएको अस्पतालका निमित्त मेडिकल सुपेरिटेनडेन्ट डा. जगदिश चन्द बष्टले बताए । आवश्यक परे चार÷पाँच वटा जति शैया थप्न सकिने कोठालाई अलग कक्ष बनाइएको उनले जनाए ।
'हामीले अहिले पाँच शैया राखेका छौं, 'उनले भने,' अवस्था हेरेर चार÷पाँच वटा शैया अझै थप्न सकिन्छ।'
जोडबुडा अस्पतालमा तीन शैया क्षमताको अलग कक्ष निमार्ण गरी आवश्यक औषधि पनि स्वास्थ्य कार्यालयले व्यवस्थापन गरिसकेको जनाएको छ । यस्तै जोगबुडा अस्पतालले खुल्लामञ्च अगाडिको दुई कोठे भवन र रेडक्रसको भवनमा आवश्यक तयारीका लागि खाली गरिएको जोगवुढा अस्पतालका प्रमुख जितेन्द्र चौधरीले अन्नपूर्णलाई जानकारी दिए ।