काठमाडौं महानगरले ७० हजारलाई खोप दिने
काठमाडौं : काठमाडौं महानगरपालिकाले यस बर्ष ७० हजार बालाबालिकालाई रुबेला– दादुराको खोप दिने लक्ष्य राखेको छ ।
खोप कार्यक्रम चैत्र १९ गतेबाट सुरु हुने महानगरले जनाएको छ । महानगरपालिकाका ३२ ओट वडालाई ३ भागमा बाँडेर कार्यक्रम सञ्चालन हुनेछन् । त्यसलअन्तर्गत पहिलो चरणमा १९ गतेदेखि २१ गतेसम्म वडा ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडामा खोप कार्यक्रम चल्नेछ । यी वडामा ७९ वटा खोप केन्द्र राखिने छन् ।
दोस्रो चरणमा २२ गतेदेखि २४ गतेसम्म वडा १, २, ३, ४, ५, ११, १२, १३, २६, २७, २८, २९ र ३० वडा गरी १३ वटा वडामा खोप कार्यक्रम चल्नेछ । यी वडामा ९३ वटा खोप केन्द्र राखिनेछन् । अभियानको तेस्रो चरणमा २५ गतेदेखि २७ गतेसम्म चल्नेछ । यसअवधिमा वडा नं. १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ गरी १२ वटा वडामा चलाइनेछ । यी वडामा ९५ वटा खोपकेन्द्र रहनेछन् ।
यसअवधिमा छुटेका बालबालिका लागि २८ गते, महानगरका २७ वटा सहरी स्वास्थ्य क्लिनिकबाट खोप दिइने महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।
खोप कार्यक्रमका लागि महानगरले अभिमूखिकरण कार्यक्रम सुरु गरेको छ । सोमबारबाट सुरु भएको अभिमुखिकरण कार्यक्रममा तीन दिन सम्म चल्ने महानगरले जनाएको छ । अभिमुखि कार्यक्रममा ८० जना खोप कार्यकर्ता सहभागि हुने छन् ।
रुवेला–दादुराको खोप जन्मेको ९ महिनादेखि माथि ५ बर्ष मुनिका बालबालिकालाई दिइने महानगरपालिकाका खोप अधिकृत सूर्य खड्काले बताए । ‘सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई नियमित खोप दिइरहेको छ,’ उनले भने, ‘सन् २०२३ सम्ममा नेपालबाट रुवे ला दादुरा निवारण गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय लक्ष्यअनुसार अहिलेको अभियान चलाइएको हो ।’