कोरोनाले डेंगु ओझेलमा

कोरोनाले डेंगु ओझेलमा

काठमाडौं : विश्वव्यापी त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा डेंगु रोगको संक्रमण ओझेलमा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभर महामारी बनेपछि कोरोनाको सन्दर्भमा सतर्कता अपनाउन परिपत्र गरेपछि डेंगुबारे जनचेतना अभियान अलपत्र परेको हो ।

मन्त्रालयले शुक्रबार अर्को आदेश नभएसम्म प्रसूति र किरियाबाहेक अन्य विदा स्वीकृत नगर्न नगराउन स्वास्थ्य सेवा विभागलगायत अन्य स्वास्थ्य संस्थामा पत्राचार गरेको छ । स्वास्थ्य पदाधिकारी कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीमा व्यस्त छन् । सोही कारण डेंगुविरुद्ध प्रदेश तहका स्वास्थ्यकर्मीलाई तालिम दिन नसकिएको स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीले बताए । पछिल्लो साढे दुई महिनायता पाँचवटा प्रदेशमा डेंगुका ३६ नयाँ बिरामी देखिएका छन् ।

डेंगु संक्रमण भएका प्रदेशमा जनचेतना फैलाउन तालिम दिन नसकिएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए । उनले भने, ‘कोरोना भाइरसको रोकथामतिर ध्यान दिनु परेकाले अन्यत्रको काम रोकिएको छ ।’ डेंगुको संक्रमणपछि बेसरी टाउको, पेट र आँखाको गेडी दुख्ने रिंगटा लाग्ने, बान्तामा रगत देखा पर्नेलगायतका लक्षण देखिन्छन् ।

जटिल अवस्थामा पुगेपछि नाक वा गिजाबाट रगत बग्ने र बेहोस हुने सम्भावना हुन्छ । मौसम परिवर्तनसँगै डेंगु रोग बढेकाले जनचेतना बढाउनु पर्ने खाँचो रहेको डा. पाण्डेको भनाइ छ । उनले भने, ‘सबैको ध्यान कोरोना भाइरसको नियन्त्रणतिर गएकाले तालिम दिन प्रदेश तहमा जान सकिएको छैन ।’ एडिज जातको लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमण तराईका जिल्लामा देखिएको छ ।

घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनु दुई घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय भएर टोक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोलाले बताए । गत पुस १६ गतेदेखि शुक्रबारसम्ममा ३६ जना डेंगुका बिरामी फेला परेको जानकारी दिए । उनले भने, ‘डेंगुको संक्रमण हुने सिजन यही हो । अहिलेको डेंगु संक्रमणका बिरामी झन् बढ्न सक्ने अवस्था छ ।’ सन् २०२० जनवरीमा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा डेंगु संक्रमित फेला परेका हुन् । सबैभन्दा बढी बिरामी रूपन्देहीका छन् । रूपन्देहीमा ११ बिरामी फेला परेका छन् ।

त्यसपछि काठमाडौं, ललितपुर र मोरङमा तीन तीन गरी ९ संक्रमित देखिएको रोग नियन्त्रण महाशाखाले जनाएको छ । प्रदेशगत रूपमा सबैभन्दा बढी ५ नं प्रदेशमा १४ जना संक्रमित फेला परेका छन् । पाण्डेका अनुसार, डेंगुको संक्रमण गराउने लामखुट्टे दिउँसो बढी सक्रिय हुने गरेको छ । पछिल्लो तीन महिनामा प्रदेश नं १ को मोरङमा ३, सुनसरीमा २ र झापामा १ जना डेंगुका बिरामी फेला परेका छन् । बागमती प्रदेशमा काठमाडौंमा ३, ललितपुरमा ३, नुवाकोटमा १, रामेछापमा १ र मकवानपुरमा १ गरी ९ जना बिरामी छन् ।

गण्डकी प्रदेशमा ५ जना बिरामी फेला परेका छन । कास्कीमा २ जना र गोरखा, म्याग्दी, नवलपरासी सुस्ता पूर्वमा एक÷एक बिरामी फेला परेका छन् । प्रदेश नं ५ को रूपन्देहीमा ११ जना र नवलपरासी सुस्ता पश्चिम, कपिलवस्तु र बाँकेमा एक÷एक गरी १४ जना बिरामी फेला परेका छन् । सुदुरपश्चिममा डडेलधुरा र कैलालीमा एक÷एक गरी दुई बिरामी देखा परेका छन् ।

डा. बास्तोलाले जतिसक्यो छिटो जनचेतना फैलाउनु पर्ने बताए । उनले भने, ‘विगतको अवस्था हेर्ने हो भने यसले पनि प्रकोपको रूप लिन सक्छ । लामखुट्टेको वृद्धि विकास रोक्दैे बासस्थान नष्ट गर्नु पर्छ ।’ डेंगुको संक्रमणबाट जोगिन झुल लगाएर सुत्ने र बाहिर बस्दा शरीर ढाक्ने लुगा लगाउनु पर्ने उनको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.