कोरोना भाइरसभन्दा भ्रम भयानक

कोरोना भाइरसभन्दा भ्रम भयानक

कोराना भाइरसले हामी कोही संक्रमित छैनौं होला तर कोरोनाको भय र भ्रमले हामी थलिएका छौं। कोरानो भाइरसभन्दा डरलाग्दो भाइरस यतिबेला हामीले समाजमा जबर्जस्ती फैलाएको भय र भ्रम हो


यतिबेला दुनियाँ कोरोनाले त्रस्त छ। हरेक मानिसका दिमाग पनि कोरानाको भ्रम र भयले भरिएका छन्। मानिसको दैनिक जीवन नै कोरानाले कुँजिएको छ। सामाजिक सम्बन्धहरू खल्बलिएको अवस्था छ। विश्व अर्थतन्त्रमा कसैले नसोचेको गिरावट आएको छ। सेयरबजारदेखि रियल स्टेटसम्मका लगानीका क्षेत्र सुनसान छन्। होटेल, पर्यटन, मनोरञ्जनजस्ता चलायमान उद्यमहरू अस्तव्यस्त छन्। स्कुल तथा कलेजसमेत बन्द भएका छन्। औसत मानिसको गुजारा नै संकटमा पर्ने खतरा देखिएको छ।

आम मानिसलाई मात्र होइन; निकै सम्पन्न देशका शक्तिशाली व्यक्तित्वहरूलाई पनि कोरोनाले छाडेको छैन। सर्वसाधारण जनतादेखि मन्त्री तथा प्रधानमन्त्रीसम्म पनि कोरोनाका कारण क्वारेन्टाइनमा परेका छन्। गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरानाले एसिया, युरोप, अमेरिका, अफ्रिका सबैतिर विस्तार भइसकेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोराना संक्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ। जनवरीको अन्तिम हप्ता नै डब्लूएचओले कोरोना संक्रमणका कारण विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।

मृत्यु र बिरामीको अंकगणित आफ्नो ठाउँमा छ तर यसले आम मानिस र समाजमा सिर्जना गरेको त्रास र संकट निकै कहालीलाग्दो छ। कोरोनाबाट मर्नेहरूको संख्या भन्दा धेरै गुना बढी संख्यामा मानिस अरू सामान्य रोग र दुर्घटनाबाट दैनिक मरिरहेका छन्। मृत्युको अंकभन्दा खतरनाक पक्ष के हो भने कोरोनाले सारा दुनियाँमा कोलाहल मच्चाएको छ। कयौं देशहरूले भिसा स्थगन गरेका छन् र यात्रामा रोक लगाएका छन्। घरघरमा मानिसहरू क्यारेन्टाइन भएका छन्।

यति भयानक त्रास सार्स, स्वाइन फ्लु, डेंगुजस्ता महामाहारीका बेला फैलिएको थिएन। डब्लूएचओले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार पाँच हजार सात सय बढीको मृत्यु भइसकेको छ। १ सय ४१ देशका डेढ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। चीनले कोराना संक्रमण नियन्त्रणमा राखेको दाबी गरिरहँदा महामारीको केन्द्र यतिबेला युरोप बनेको छ। युरोपका अधिकांश मुलुक यसबाट प्रभावित छन् र त्यहाँको जनजीवन अस्तव्यस्त छ।

सारा संसार कोरोनाबाट त्रस्त र ग्रस्त हुँदा हामी जोगिएका छौं। यो हाम्रो सौभाग्य हो, यसको रहस्य दुनियाँले खोज्नेछ। यही यही अवस्था कायम रह्यो भने नेपालको छवि विश्वमान चित्रमा कोरोनामुक्त स्वस्थ र सुरक्षित मुलुकका रूपमा चम्किनेछ। के थाहा, यही कोरोनाले हाम्रो भाग्य कोरिन पनि सक्छ।

कोरोनाको विश्वव्यापी महामारी हुँदा नेपाल जोगिएको छैन। हामी सबैको भाग्य अनि भगवान् भरोसा भन्नुपर्छ। हामीले अपनाएको सावधानी, हाम्रो सरसफाइ तथा स्वास्थ्य स्तर तथा रणनीतिक तयारीका कारण हामी कोरोनामुक्त भएका होइनौं। हाम्रो खानापान शैली, हाम्रो भौगलिक अवस्थिति, हाम्रो अनौठो हावापानीलगायतका कारणले हामी जोगिएको आम अनुमान छ। नेपालमा किन कोरोना संक्रमण फैलिएन ? यसमा विभिन्न कोणबाट अनुमान तथा आशंका गरिएका छन्।

कोरोनाको भौतिक उपस्थिति नदेखिए पनि यसको मनोवैज्ञानिक प्रभाव हामीकहाँ गहिरो रूपमा परिसकेको छ। पर्यटन क्षेत्र पूरै सुनसान छ। होटेल र एयरलाइन्स क्षेत्र संकटमा परिसकेको छ। ट्राभल एजेन्सीहरूले सटर बन्द गरिसकेका छन्। सेयर बजारमा यसको मनोवैज्ञानिक असर देखिएको छ भने रियल स्टेट पनि मन्दी छाएको छ। व्यापार-व्यवसाय र उद्योगधन्दामा यसको नकारात्मक असर परेको छ।

कोराना भाइरसले हामी कोही संक्रमित छैनौं होला तर कोरोनाको भय र भ्रमले थलिएका छौं। कोरानो भाइरसभन्दा डरलाग्दो भाइरस यतिबेला हामीले समाजमा जबर्जस्ती फैलाएको भय र भ्रम हो। आवश्यक सावधानी र सुरक्षा ठीक हो तर हामीले सावधानी र सुरक्षाको जुन शैली हामी अपनाउन खोजिरहेका छौं, त्यो कोरोना प्रभावित मानिसले भन्दा बढी छ, केही उत्ताउलो पनि छ। शत्रु नआउँदै फायर खोलेर गोलीगट्ठा र ऊर्जा खेर फालेको अवस्थाजस्तै हो अहिलेको हाम्रो आतुरी र आतंक।

कोरोना संक्रमणको वास्तविक तस्बिरभन्दा हामीले सामाजिक सञ्जालमार्फत जबर्जस्ती फैलाएको हल्ला अनि आतंक बढी भयानक छ। मेडिकल जाँच तथा प्रमाणविना नै सामान्य ज्वरो तथा रुघाखोकी लाग्नसाथ कोरोना लाग्यो भन्दै हल्ला गर्ने र त्यसलाई सामाजिक सञ्जालमा भाइरल बनाउने डरलाग्दो प्रवृत्ति बढेको छ। यसले अनावश्यक रूपमा समाजमा भय फैलाउने र स्वस्थ मानिसको पनि मनोबल गिराउने काम भइरहेको छ।

रक्सी खाए कोरोना भाग्छ। लसुन खानेलाई कोराना लाग्दैन। लामखुट्टेले कोरोना सार्छ। कोरोना लागेपछि सीधै मरिन्छ। यस्ता अनेक हल्ला र भ्रमले आम मानिस आतंकित भएका छन्। कोरोना भाइरससम्बन्धी वास्तविक जानकारी नहुँदा आम मानिसहरू विभिन्‍न हल्ला र भ्रमबाट अत्तालिएको अवस्था छ। भ्रमको पछि लाग्दा विभिन्‍न घटना पनि भएका छन्। मान्छेहरू सूचितभन्दा पनि बढी भ्रमित भएका छन्।

विज्ञहरूका अनुसार यो आफंैमा कुनै भयानक रोग होइन। सरसफाइ र सावधानी अपनाउने हो भने यो आफैं निको हुन्छ। कोरोना भाइरसले छुनासाथ मरिहालिन्छ भन्ने भ्रम गलत भएको विज्ञहरूले बताइसकेका छन्। कोरोना भाइरसबाट संक्रमित डेढ लाखमध्ये ७५ हजारभन्दा बढी निको भइसकेका छन् र सामान्य अवस्थामा घर फर्किसकेका छन्।

विश्व स्वास्थ्य संगठनको अनुसन्धानअनुसार नोभल कोरोना यो नयाँ प्रजातिको भाइरस हो, जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्छ। यसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास ‘सार्स’ सम्म गराउन सक्छ। सन् २००३ मा देखिएको सार्स र नोबल कोरोना भाइरस एउटै प्रजातिका हुन्। दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्छन्। नोबल कोरोना भाइरस मानिसहरूबीच सजिलै सर्न सक्छ भनेर अझै वैज्ञानिक पुष्टि भएको छैन। यसमा अनुसन्धान भइरहेको छ।

विज्ञहरूका अनुसार हरेक भाइरस तथा महामारीको आफ्नो जीवन हुन्छ। निश्चित अवधिपछि यो आफैं नियन्त्रणमा आउँछ या हराउँछ। यसअघि इबोला, सार्स, स्वाइन फ्लु निश्चित अवधिपछि आफैं नियन्त्रणमा आएका थिए।

कोरोनाबाट जोगिन रोकथामको पूर्वतयारी तथा सावधानी बुद्धिमानी हो। त्यो हरेक व्यक्ति र परिवारदेखि लिएर राज्यका निकायले गर्नुपर्छ। तर कोरोनाको बहानामा लतो छाड्ने काम हामीले गर्नुहुँदैन, जुन अहिले भइरहेको छ।

यतिबेला वडा कार्यलयदेखि सिंहदरबारसम्म सबैतिर कोरोना लागेको छ। कोरोना भन्दै काम सार्ने र पन्छाउने प्रवृत्ति बढेको छ। बजारमा पनि त्यही हालत छ। खानेकुरा, तेल र ग्यासको कृत्रिम अभाव र हाहाकार मच्चाउने कोसिस भइरहेको छ। मूल्यमा मनोमानी हुन थालेको छ। कोरोनाको बजार हल्लाबाट अत्तालिएर मानिसहरू आवश्यकताभन्दा बढी खानेकुरा तथा दैनिक उपभोगका समान स्टोर गर्न थालेका छन्। त्यसले गर्दा बजारको माग र आपूर्तिको सन्तुलन बिथोलिएको छ र यही मौकामा कालोबजारी गर्नेहरू सक्रिय हुन खोजिरहेका छन्।

गाउँघरतिर कोरोनाको हालखबर के छ, त्यसको यकिन अपडेट मिडियामा आउन सकेको छैन। तर सहरमा बस्ने हामी कोरोनाको मनोवैज्ञानिक बिरामी भइसकेका छौं। गाउँघरका मानिससँग हात धुने साबुन छैन होला तर उनीहरूले हल्ला मच्चाएका छैनन्। कोरोनाको भय र भ्रम फैलाउने सहरका तिनै मानिस हुन्, जसले कोरोनाबाट बच्न छिनछिनमा सेनिटाइजरले हात धुन थालेका छन् अनि सुत्दा पनि मास्क खोल्न डराउँछन्। मुखमा मास्क र गोजीमा सेनिटाइजर बोकेर सहरका एकथरी मानिसहरू कोरोना भगाउने कोसिस गर्दैछन् र कोकोहोलो मच्चाउँदैछन्।

सही सूचना प्रवाह गरेर घरघरमा सावधानी अपनाऔं र सुरक्षित बसौं तर कोरोनाको भ्रम र भय फैलाएर समाजलाई आतंकित गर्ने अनि आफ्नो आत्मविश्वास र ऊर्जा गुमाउने काम नगरौं।

सिंगो भूगोल कोरोनाबाट त्रस्त र ग्रस्त हुँदा हामी जोगिएका छौं। यो हाम्रो सौभाग्य हो, यसको रहस्य दुनियाँले खोज्नेछ। यही अवस्था कायम रह्यो भने नेपालको छवि विश्वमान चित्रमा कोरोनामुक्त स्वास्थ्य र सुरक्षित मुलुकका रूपमा चम्किनेछ। यसले हाम्रो पर्यटन र अर्थतन्त्रलाई नयाँ उचाइ दिनेछ। कोरोनाले हामीलाई यस्तो अवसर प्रदान गर्ने सुखद सम्भावना पनि छ। के थाहा, यही कोरोनाले हाम्रो भाग्य कोरिन पनि सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.