स्वरोजगार बनाउन युवालाई सहुलीयत कर्जा
बेंसीसहर : मस्र्याङ्दी गाउँपालिकाले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउन निब्र्याजी ऋण दिने भएको छ । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले स्वरोजगार बन्न चाहने युवालाई व्यवसाय सञ्चालन गर्न ब्याज सहुलियतको कर्जा दिने प्रक्रिया सुरु गरिएको बताए ।
युवालाई आत्मनिर्भर बनाइ विदेश पलायन हुनबाट रोक्न गाउँसभाबाट अनुमोदन गरी बिनाब्याज ऋण प्रवाह गर्न लागिएको उनले बताए । 'गाउँसभाबाट युवा उद्यमशिलता विकास कोष कार्यक्रम पास गरियो,' गुरुङले भने, 'त्यससम्बन्धी नियमावली र कार्यविधिसमेत बनाएर कर्जा प्रवाह प्रक्रिया सुरु गरिएको छ ।'
कार्यक्रमका लागि गाउँपालिकाले यसवर्ष 50 लाख रुपैयाँको युवा उद्यमशिलता विकास कोष स्थापना गरेको छ । अर्को वर्ष कोष वृद्धि गर्दै जाने गाउँपालिकाले जनाएको छ । कोषबाट कृषि, पशुपालन, उद्योग तथा व्यापार सञ्चालन गर्न ऋण दिइने उपाध्यक्ष होमबहादुर विकले बताए । व्यवसाय सञ्चालन गर्न चाहने युवालाई कोषबाट कम्तीमा एकलाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म ऋण दिइने उनले बताए ।
व्यवसाय दर्ता गरेर व्यापार, व्यवसाय सुरु गरी वडा कार्यालयको सिफारिस पेस गरेपछि ऋण दिने व्यवस्था छ । यो रकम व्यवसाय हेरेर एक वर्षदेखी तीन वर्षभित्र चुक्ता गरिसक्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत् खेमराज देवकोटाले बताए । ऋण लिने युवालाई तीन किस्तामा रकम भुक्तानी गर्नुपर्ने कार्यविधि बनाइएको छ ।
पहिलो किस्तामा २० प्रतिशत, दोस्रो किस्तामा ३० प्रतिशत र अन्तिम किस्तामा ५० प्रतिशत रकम कोषको खाता रहेको बैंकमा जम्मा गर्नुपर्नेछ । तोकिएको मितिमा किस्ता रकम जम्मा नगरेमा १२ प्रतिशतका दरले हर्जना लिइने कोषका कार्यक्रम अधिकृत विष्णुप्रसाद दाहालले बताए ।
व्यवसाय सञ्चालनका लागि पालिका भित्रका ७१ युवाले आवेदन दिएको दाहालले बताए । 'आवेदन लिएपछि सबैलाई बोलाएर कोषको कार्यविधीबारे अभिमुखीकरण गरिसकिएको छ,' दाहालले भने, 'आवेदकले गर्न खोजेको व्यवसायको अनुगमन भैरहेको छ । अब छिट्टै ऋण प्रवाह गर्छौं ।' आफ्नै लगानीमा व्यवसाय सञ्चालन गरिसकेकालाई ऋण सहयोग दिइने उनले बताए ।
स्थायी ठेगाना गाउँपालिका बाहिर भएका र गाउँपालिका भित्र स्थायी ठेगाना भएरपनि अन्य पालिकामा ब्यवसाय गरेकालाई भने सहुलियतपूर्ण ऋण नदिइने कार्यविधिमा उल्लेख छ । युवा उद्यमशिलता कोषको पूर्णसदुपयोग हुनसके बेरोजगार न्यूनीकरण, आयात न्यूनीकरण, निर्यात प्रवद्र्धन हुने अध्यक्ष गुरुङले जानकारी दिए । यस कार्यक्रमले गाउँपालिका भित्र कृषि पशु, स्थानीय हस्तकला उत्पादन, पर्यटनलगायतका क्षेत्रमा टेवा पुग्ने उनले बताए ।