काउलेपानी होमस्टेमा 'लालिगुराँस प्याकेज'

काउलेपानी होमस्टेमा 'लालिगुराँस प्याकेज'

बेंसीसहर : देशमा कोराना भाइरसको सन्त्रास फैलिए पनि नेपालकै नमूना लमजुङको काउँलेपानी होमस्टेमा सुरु भएको 'लालीगुराँस प्याकेज' ले आन्तरिक पर्यटक तानिरहेको छ । १२ महिने प्याकेजअन्तर्गत फागुनदेखि सुरु भएको लालीगुराँस प्याकेजमा पर्यटकको आगमन बढेको होमस्टे व्यवस्थापन समितिले जनाएको छ । 

काउलेपानी होमस्टे व्यवस्थापन समितिले फागुन र चैत महिनालाई लालीगुराँस प्याकेज बनाएर प्रचार-प्रसार गर्दा दैनिक होमस्टे भरिभराउ भएको समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । बनमा लालीगुरास लटरम्म फुलेको र पर्यटकको आकर्षण लालीगुराँसमा भएकाले सोही प्याकेजलाई प्रचार-प्रसार गरी होमस्टे प्रवद्र्धन गरिएको उनले बताए ।

'अहिले वनैभरि लालीगुराँस फुलेको छ,' गुरुङले भने, 'लालीगुराँस प्याकेजमा सधैँजसो होमस्टे भरिभराउ हुन्छ, अहिले पनि कुनै दिन पर्यटक खाली छैनन् ।'

कोरना सन्त्रास रहेपनि होमस्टे भरिभराउ भएको अध्यक्ष गुरुङले बताए ।गाउँसहरको काउलेपानीदेखि उपल्लो क्षेत्र पुरानकोटसम्मै वनमा लालीगुराँस फूल फुलेको छ । यो समयमा हिमाली दृश्यवलोकन पनि उत्कृष्ट देखिन्छ । गाउँमा आएका पर्यटकलाई गाउँमाथिको जंगलमा फुलिरहेको लालीगुराँसको मनमोहक दृश्य देखाउने गरिएको अध्यक्ष गुरुङले बताए । पर्यटकलाई लालीगुराँस टिप्न भने रोक लगाइएको उनले बताए ।

काउलेपानी होमस्टे व्यवस्थापन समितिले पर्यटकलाई आकर्षण गर्न र उनीहरूको बसाई लम्ब्याउन बाह्रै महिना प्याकेजको व्यवस्था गरेको छ । अध्यक्ष गुरुङका अनुसार अब चैत बैशाखमा ऐंसेलु काफल प्याकेज सुरु हुन्छ ।

१२ महिने प्याकेजमा पर्यटकले भरपुर मनोरञ्जन लिने गरेको काउलेपानी होमस्टे व्यवस्थापन समितिका सचिव कवीन्द्र गुरुङले बताए । समितिका अनुसार वैशाखमा ऐंसेलु प्याकेज, जेठ महिनामा जडिबुटी प्याकेज, असारमा धान रोपाइँ प्याकेज र साउनमा कोदो रोपाइँ प्याकेज छन् । यसैगरी भदौ महिनामा जात्रा प्याकेज, असोजमा चाडपर्व प्याकेज, कात्तिक महिनामा कटुस प्याकेज, मसिरमा दाइ प्याकेज, पुसमा कोदो चुट्ने प्याकेज, माघमा तरुल प्याकेज बनाइएको काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।

काउलेपानीमा बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकनै बढी आउने गर्छन् । काउलेपानीको होमस्टेलाई ३५ औं विश्व पर्यटन दिवसको अवसर पारेर नेपालभरिबाटै उत्कृष्ट होमस्टे गाउँ घोषणा गरिएको थियो । छोटो अवधीमै उत्कृष्टको मान्यता पाएको होमस्टेबाट स्थानीय निकै खुसी भएका छन् । काउलेपानी पर्यटन विकास समितिका अनुसार होमस्टे सञ्चालनमा आएको ८ वर्षमा एक लाख पर्यटकले भ्रमण गरिसकेका छन् । 

२५ घरधुरी रहेको काउलेपानीमा  १५ घरमा होमस्टे सञ्चालन भएको छ । जसमा ८४ वेड रहेको छ । सदरमुकाम बेसीशहरबाट मोटरमा करिव ७ किलोमीटर कच्ची बाटो पार गर्दै पुगिने गाउँसहरको काउलेपानी गाउँ समुन्द्री सतहदेखि १ हजार ६ सय मिटर उचाइमा छ । 

काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायत १४ वटा हिमश्रृङ्खलाहरु देख्न सकिन्छ । लमजुङ दरबार, काउलेपानी देवी मन्दिरलगायत ऐतिहासिक महत्व बोकेको काउलेपानी क्षेत्रमा गुरुङ, नेवार, भुजेल लगायतका जातजातिको बसोबास छ । काउलेपानीको होमस्टेसंगै स्थानीयवासिन्दाको कला, संस्कार र संस्कृतिले काउलेपानी पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.