जेष्ठ नागरिकलाई घरमै उपचार

जेष्ठ नागरिकलाई घरमै उपचार

बैतडी : दशरथचन्द नगरपालिका ५ का सुरेशप्रसाद लेखक ९६ वर्ष पुगे। चाउरी परेको अनुहार त्यसै गल्दै गएको शरीर उनलाई बेलाबेलामा विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ। घरमै पुगेर स्वास्थ्यकर्मीले उनको चेकजाँच गर्न थालेपछि उनी खुसी भएका छन्। 

स्वास्थ्यकर्मी घरमै आएर उनको प्रेसर र सुगर चेक गरिन्। त्यसपछि उनलाई औषधि दिएर फर्किइन्। उनले भने, ‘घरमै आएर यसरी चेकजाँच कहिले भएको थिएन। जे होस् अहिले सरकारले हामीलाई पनि हेरेछ। हामी जेष्ठ नागरिकका लागि स्वास्थ्यकर्मी खटाएछ। यो निकै खुसीको कुरा हो।’

दशरथचन्द नगरपालिका ५ कै ८२ वर्षीया धनेश्वरी भट्टलाई पनि जोर्नी दुख्ने समस्या देखिएको छ। बेलाबेला उनले पनि औषधिका लागि घरपरिवारका सदस्यसँग भन्नुपर्ने हुन्छ। तर यो वर्ष स्वास्थ्यकर्मी घरमै आएर चेकजाँच र औषधि दिएपछि उनी पनि खुसी भएकी छिन्। उनले भनिन्, ‘हामी बुढेसकालका मानिसका लागि पनि सरकारले सोचे जस्तो लाग्यो। युवा उमेरमा हामीले पनि समाजका लागि केही गरेका छौं। अहिले शरीरले साथ नदिँदा सरकारले स्वास्थ्यकर्मी घरमै पठाएर सेवा दिँदा खुसी भएका छौं।’

दशरथचन्द नगरपालिका ४ की कलशा ठगुन्नालाई दम छ। उनलाई दमको औषधि नहुँदा धेरै समस्या हुने गरेको छ। तर गएको साता स्वास्थ्यकर्मी घरमा नै गएर जाँच गरे र औषधि दिए।‘बुढेसकालमा रोगले च्याप्यो। स्वास्थ्यकर्मी घरमै आएर औषधि दिएको यो पहिलो पटक हो। यसले म जस्ता बुढाबुढीहरुलाई सजिलो भएको छ’, उनले भनिन्।

स्वास्थ्य कार्यालयले 'मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम' मार्फत सेवा पाउँदा खुसी भएका यी केही प्रतिनिधिपात्र मात्रै हुन्। अहिले जिल्लाका तीन स्थानीय तहमा स्वास्थ्यकर्मी खटाएर जेष्ठ नागरिकको उपचार गर्ने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। उनले भने, ‘हामीले दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा एक-एक जना हेल्थ असिष्टेन्ट अथवा स्टाफ नर्स राखेर जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने व्यवस्था मिलाएका छौं। यसले जेष्ठ नागरिकप्रतिको समाजको दृष्टिकोणमा पनि परिवर्तन आउँछ।’

तीनओटै स्थानीय तहका प्रत्येक वडाका घरघरमा पुगेर जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्य भइरहेको भट्टले बताए। उनले भने, ‘हामीले प्रत्येकको घरमा गएर स्वास्थ्य चेकजाँच गर्न भनेका छौं। उहाँहरूले जेष्ठ नागरिकलाई दिएको सेवाको विवरण नाम सबै भरेर ल्याउनुहुन्छ।’

प्रत्येक वडाका घर-घरमा गएर चेकजाँच गरिरहेको दशरथचन्द नगरपालिकामा खटिएकी स्टाफ नर्स दीपा मौनीले बताइन्। उनले भनिन्, ‘हामीले घरमै पुगेर स्वास्थ्य सेवा दिँदा जेष्ठ नागरिक आमाबुवाहरू निकै खुसी हुन्छन्। औषधि दिँदा झन् खुसी हुन्छन्।’

जेष्ठ नागरिकप्रति परिवार, समाज सबैको सम्मान बढाउनका लागि मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालयले जनाएको छ। यो कार्यक्रम बैतडीसहित सुदूरपश्चिम प्रदेशका २९ स्थानीय तहमा चालु आर्थिक वर्षदेखि लागू भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.