कोरोना त्रास : सरकारले ग्यासको कोटा बढायो
काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको कोटा थपेको छ। विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरसको त्रासका कारण बजारमा सिर्जना भएको ग्यासको आपूर्ति व्यवस्थापनमा समस्या देखिएपछि निगमले कोटा बढाएको हो।
निगमले प्रत्येक महिना नियमित रुपमा खपत हुँदै आएको ३८ हजार टनमा ११ हजार टन थप उपलब्ध गराउने भएको हो। मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ग्यासमा कोटा थपेको जानकारी दिएको छ। उक्त कोटा मध्ये चैत ३ गतेसम्म २५ हजार ६ सय ४९ टन एल.पि.ग्याँस आयात भएको छ।
बाँकी एलपी ग्यासको समेत निर्वाध रुपमा आयात हुन कुनै पनि किसिमको व्यवधान नदेखिएको मन्त्रालयले जानकारी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘पेट्रोलियम पदार्थको हकमा डिजेल पाइपलाइनबाट आयात हुने भएकोले नियमित आपूर्तिमा कुनै समस्या हुने छैन भने पेट्रोल नियमित भन्दा बढी खपत भई रहेको भएता पनि सोही बमोजिम आयातसमेत भइरहेको छ।’ उपभोक्ताले सम्भावित संकटको अवस्थालाई बोध गरेर आवश्यकता भन्दा बढी पेट्रोलियम पदार्थ र ग्यासको सञ्चय गर्दा माग र आपूर्तिबीच असन्तुलन भएर बजारमा समस्या देखिन थालेको मन्त्रालयले बताएको छ।
मन्त्रालयले समस्त उपभोक्तालाई आफ्नै सुरक्षालाई जोखिममा पारी पेट्रोलियम पदार्थ तथा ग्यास जस्तो अति प्रज्वलनशील पदार्थको घरमा सञ्चय गरी नराख्न अपीलसमेत गरेको छ।