संकटमा बैंकले पनि साथ दिनुपर्छ

संकटमा बैंकले पनि साथ दिनुपर्छ

ठूलो संस्थागत निक्षेप, थोरै कर्मचारी र तुलनात्मक रूपमा कम शाखामार्फत व्यवसाय गरिरहेको प्राइम कमर्सियल बैंकले आफ्नै जत्रो सञ्जाल भएको कैलाश विकास बैंकलाई खरिद गरेर एकीकृत कारोबार सुरु गरेको छ। काठमाडौंका स्थानीयको बढी सेयर स्वामित्व रहेको यो बैंकमा मुलुककै सबैभन्दा जेठा प्रमुख कार्यकारी अधिकृत छन्, नारायणदास मानन्धर। उनीमात्र वाणिज्य बैंकको त्यस्तो सीईओ हुन् जसको टेबलमा अहिले पनि कम्प्युटर हुँदैन। तर उनी आफ्ना ग्राहकलाई मित्र र साझेदार सम्झनुपर्छ भन्छन्। बैंकको मर्जरपछिको व्यवस्थापन र हालैका वित्तीय चुनौतीको सेरोफेरोमा अन्नपूर्ण पोस्टले उनीसँग गरेको कुराकानी 

तपाईंहरू सानो सञ्जालमा बसेर व्यापार गरिरहनुभएको थियो। यसबीचमा राष्ट्रिय स्तरको विकास बैंकलाई खरिद गर्नुको कारण के हो ?

हामीलाई जहिले पनि तपाईंहरूको सञ्जाल विस्तार ज्यादै सुस्त भयो भन्ने बैंकभित्रै पनि सुनिन्थ्यो। हामीले भएका शाखालाई स्वनिर्भर बनाएपछि मात्रै नयाँ बजारमा जाने रणनीति लियौं। त्यसोगर्दा हामी १२ वर्षमा सयवटा शाखा खोल्न सक्यौं। अरु बैंकले बढी खोले। तर तपाईंले परिणाम हेर्नुभयो भने हामीभन्दा अगाडि गएर सञ्जाल विस्तार गरेका बैंकलेभन्दा हामीले राम्रो नतिजा दिएका छौं। तर अहिले आएर किन एक्विजिसन गरेको ? भन्ने प्रश्न आउला। अहिले राष्ट्र बैंकले सञ्जाल विस्तार गर्न अवसर दिएको छ।

कैलाश विकास बैंकका पनि सयवटा शाखा छन्। यो त बनिबनाउ भयो। हामीले सयवटा अरु शाखा खोल्ने, कर्मचारी भर्ना गर्ने, तालिम दिने गर्नुभन्दा भइरहेको संस्थालाई टिप्दा राम्रो हुन्छ। आज टिप्दा आजैको दिनबाट हामीले लाभांश खान पाउँछौं। एकैपटक सञ्जाल विस्तार भयो। तालिमप्राप्त कर्मचारी छन्। ग्राहक छन्। कारोबार बढेको छ। पुँजी बढेको छ। जोखिम लिने क्षमता बढेको छ। सरकार र राष्ट्र बैंकले दिएको यो मौकामा पनि हामी चुक्यौं भने कहिले विस्तार गर्ने भन्ने सोचेर हामी एक्विजिसनमा गयौं।

ठूला बैंकको बीचमा मर्जर हुने अपेक्षा भरहेको बेला तपाईंहरू विकास बैंक भिœयाउन लाग्नुभयो नि ?

यो बेलामा हामीलाई वाणिज्य बैंक पनि लिइदिनुपर्‍यो भन्न आइरहेका छन्। ४-५ वटा बैंकले भनिरहेकै छन्। पहिला यो एक्विजिसन टुंग्याऔं, त्यसपछि हेरौंला भनेका छौं। हामी वाणिज्य बैंक लिन पनि खुला छौं। तर हाम्रो ‘बटमलाइन’ के छ भने हामीले लिएको वाणिज्य बैंकबाट हामीलाई लाभ कति हुन्छ ? हामीले अहिले लिइरहेको लाभांश, नाफा र कर्मचारीको सेवासुविधामा आँच नआउने गरी कुनै वाणिज्य बैंक लिनसक्ने अवस्था छ भने हामी खुसीसाथ लिन्छौं। त्यसमै आँच आउनेगरी चाहिँ हामी जाँदैनौं। राष्ट्र बैंकले भोली पुँजी बढायो भने पनि हामी बोनस सेयरबाटै २० अर्ब रुपैयाँ पुँजी पुर्‍याउनसक्ने हैसियतमा पुगेका छौं। अहिलेसम्म मर्जर भएका संस्थाले अपेक्षा गरेजस्तो प्रगति गर्न सकेको देखिन्न।

दुई संस्था जोडिँदा सिर्जना हुने कमीकमजोरी व्यवस्थापन गर्न के गर्दै हुनुहुन्छ ?     

मर्जरको विश्वव्यापी अनुभव हेर्‍यो भने पनि यो या त एकाधिकार बजारमा सफल भएको छ। या त, सरकारी संस्था भएको अवस्थामा सफल भएको छ। अरु अवस्थामा प्रायः सफल भएको देखिन्न। हाम्रो संस्था त्यस्तो नहोस् भन्नका लागि पहिलो दिनदेखि नै हामी प्रयासरत छौं। अहिले हामीले उहाँहरूलाई ९४ रुपैयाँ प्रतिकित्ता मूल्य दिएर लिएका छौं। हामीलाई स्वाप रेसियोमा ६ रुपैयाँमात्रै फाइदा छ। हामी एकपटक नाफा खानेतिर लागेनौं। दीर्घकालसम्म लगातार कमाइ लिने बाटो खोज्यौं। हामी संस्थाको एकीकरण गर्न लाग्यौं। स्वाप रेसियोमा १०-२० करोड एक पटक नाफा खाएर अर्को वर्ष तिमीहरूको नोक्सान भयो, छुटेर जाऊ भन्न मिल्दैन।

हामीले कर्मचारीलाई पनि अन्तरघुलन हुन पहिलो दिनदेखि नै प्रयास गरिरहेका छौं। कर्मचारीबीच विभेदको वातावरण नबनोस् भनेर हामी सबैभन्दा धेरै सजग छौं। हामी उच्च व्यवस्थापनलाई कर्मचारीको विभेद सिर्जना हुन नदिन बढी प्रशिक्षित गरिरहेका छौं। तल्लो तहका कर्मचारीलाई हामीले कार्यशैली, प्रणाली, बैंकको आदर्श र व्यवहारको बारेमा तालिम दिइरहेका छौं। यसले हामीलाई आगामी दिनमा सुदृढ हुन सघाउ पुग्छ।

वित्तीय क्षेत्रमा बढ्दो सञ्चालन जोखिम घटाउने योजना के छन् ?

हामीले बढी जोखिम देखेका क्षेत्रमा लगानी गरेका छैनौं। मेडिकल कलेजमा हाम्रो लगानी छैन। क्रसर उद्योगमा लगानी गरेका छैनौं। ट्रकजस्तो व्यावसायिक सवारीसाधनमा पनि हामीले लगानी गरेका छैनौं। कहिलेकाहीँ विश्व बैंक र आईएमएफका मान्छेसँग मेरो यही विषयमा विवाद हुन्छ। अमेरिका र युरोपमा व्यावसायिक सवारीसाधनमा गरिने कर्जा लगानी निकै सुरक्षित मानिन्छ। तर नेपालमा त्यस्तो छैन। हामीले काठमाडौंमा एएटा गाडी किन्न ऋण दियौं भने त्यो गाडी भोलि कहाँ पुग्छ भनेर ‘ट्र्याक’ गर्ने सामथ्र्य हामीसँग छैन। हामी आफ्नो धरातलको वास्तविकतालाई मूल्यांकन गरेर जोखिम आँकलन गर्छौं।

हामीले निक्षेपमा पनि त्यस्तै बाटो समातेका छौं। अहिले कल निक्षेपमा प्राइम बैंकले धेरै पैसा राख्यो भन्ने आरोप छ। राष्ट्र बैंकको नियमले पनि सबै खाले कल निक्षेपलाई एउटै टोकरीमा राखेर हेर्छ। तर वित्तीय संस्थाको निक्षेप राखेको हो की अरु प्रकृतिका संस्थाको निक्षेप हो भनेर हेर्नुपर्छ। आज सबै बैंकले एक वर्षको निक्षेप लिएर २० औं वर्षका टर्म कर्जामा लगानी गरिरहेका छन्। ‘म्याचिङ’मा हामीले ५० वर्षअघि पढेका सूत्रहरुले अहिलेको बजारमा काम गर्दैन। हामीसँग ठूलो निक्षेप ३ महिना, ४ महिनादेखि वर्षमा एक पटकमात्रै निकाल्ने खालका छन्। त्यस्तो कल निक्षेपले सञ्चालन जोखिम निम्त्याउनुपर्छ भन्नु मुर्खता हुन्छ।

केही बैंक निक्षेपको ब्याजदर घटाउन थालेका छन्। त्यसका लागि यो सही समय हो ?

अहिले अर्थमन्त्रीको प्रत्यक्ष संलग्नतामै बैंकले ब्याजदरलाई एउटा सीमाभित्र राख्ने काम भयो। त्यसो नगरिएको भए आज वित्तीय क्षेत्रको स्थायित्व भयाबह समस्यामा पर्ने जोखिम हुन्थ्यो। तर, अहिले फेरि ब्याजदर घटाउने रणनीति सुरु भएको छ। केही बैंकर कल निक्षेप नै बन्द गर्नुपर्छ भन्ने पनि भए। यो के भनेको हो, मैले बुझेको छैन। पैसा धेरै भएर हो की, किन हो ? ब्याज नपाउने हो भने मान्छेले किन निजी बैंकमा पैसा राख्छ ? राष्ट्रिय वाणिज्य बैंक वा राष्ट्र बैंकमै लगेर राखिदेला।

अहिलेका बैंकर मेरो खर्च बढेको छ, त्यसलाई नियन्त्रण गर्नुपर्छ भन्नेतिर सोच्नुपर्दैन ? जति आर्थिक भार पर्छ, सबै अर्कालाई ‘पासअन’ गर्ने सोच बैंकरले राख्नुहुन्न। अहिले हाम्रो अर्थतन्त्र पनि समस्यामा परेको छ। निजी उद्यमीले कमाइ गर्न सकेको छैन। यस्तो बेला हामीले ग्राहकलाई संरक्षण गर्नुपर्छ। यो बेला निक्षेपकर्तालाई सकेसम्म बढी ब्याज दिनु आवश्यक छ। ऋणीलाई सहजीकरण गर्नुपर्ने बेला छ। अर्काले के गर्छ भन्नेभन्दा म आफूले यो असहजताबाट बाहिर आउन के सहयोग गर्नसक्छु भनेर सोच्नुपर्छ। राष्ट्रिय संकटमा हामीले सरकार र सबैलाई साथ दिनुपर्छ।

विश्वव्यापी महामारी बनेको कोरोनाको असरबाट प्राइम बैंक कति सुरक्षित छ ?

हामीले सबैभन्दा पहिला बैंकका चार पिलर, लगानीकर्ता, निक्षेपकर्ता, ऋणी र कर्मचारीलाई हेर्छौं। यी चारैवटालाई हामी एकसाथ बढी सुविधा दिन्छौंभन्दा धेरैले विश्वास गरेका थिएनन्। यो १२ वर्षको दौरानमा हामी पहिलो वाणिज्य बैंक होला की, स्थापनाको दोस्रो वर्षदेखि लाभांश बाँड्ने। त्यो कहिले पनि छुटेन। सुरुकै वर्ष हामीले साढे १० प्रतिशत लाभांश दिएका थियौं। त्यो दर २७ प्रतिशतसम्म पुग्यो। हामीले व्यवस्थापना चुनौती मोलेरै बोनस सेयर दियौं। त्यसले लगानीकर्तालाई बढी लाभान्वित गर्‍यो। १२ वर्षअघि १० हजर रुपैयाँको सेयर किन्नेको सम्पत्ति अहिले २ लाख ८० हजार पुगेको छ। यो बोनस सेयरकै कारणले भएको हो।

निक्षेपकर्तालाई पनि हामीले अरुलेभन्दा बढी ब्याज दिएका छौं। तर, व्यक्तिलाई बढी दिएका छौं, संस्थागत निक्षेपमा हामीले कम ब्याज दिएका छौं। हामीले संस्थागत निक्षेपको लाभ व्यक्तिगत निक्षेपकर्तालाई दिएका छौं। कर्जामा पनि हामीले ऋणिको हितमा काम गर्छौं। हामीले अरुभन्दा सस्तो ब्याजमा ऋण दिएका छौं। कुनै प्राकृतिक प्रकोप, महामारी वा आर्थिक समस्याले कुनै क्षेत्र बढी प्रभावित पर्दा हामी आफैं अग्रसर भएर ऋणको ब्याजदर घटाइदिन्छौं। बर्डप्mलुको संक्रमण हुँदा हामीले नै बोलाएर ह्याचरी उद्योगीलाई ब्याजदर घटाइदियौं। अप्ठेरो परेको बेला हामीले सहयोग गर्‍यौं भने त उनीहरूले पछि हामीलाई लाभ दिइहाल्छन् नी। अप्ठेरो परेको बेला ग्राहकलाई चुस्नु हुन्न। हामीले सहयोग गर्नुपर्छ। अहिले कोरोना भाइरसको कारण कहाँकहाँ हाम्रा ग्राहकलाई अप्ठेरो परेको छ भनेर अध्ययन गरिरहेका छौं।

अनि कर्मचारीलाई ?

कर्मचारीका लागि हामीले दोहोरो लाभ दिइरहेका छौं। हामीले बैंकिङ क्षेत्रको औसत तलब पनि दिएका छौं। अरु सबै बैंकभन्दा बढी बोनस पनि दिएका छौं। यसबाट कर्मचारीले वर्षभरिमा पाउने रकम अरु बैंकभन्दा प्राइमका कर्मचारीले बढी पाइरहेका छन्। यसबाहेक हामीले कर्मचारीको जीवन दर्शन बदल्नुपर्छ र उनीहरूको नैतिक मूल्य पनि बढाउनुपर्छ भन्ने आधारमा हामीले ध्यानशिविरमा जान कर्मचारीलाई प्रोत्साहित गरेका छौं।

तपाईंहरूले म्यानपावर कम्पनीलाई दिएको जमानत जोखिममा छैन भनेर विज्ञप्ति नै प्रकाशित गर्नुपर्ने अवस्था किन आयो ?

बजारमा म्यानपावर कम्पनीको बैंक ग्यारेन्टिबारे समाचार आएका छन्। हो, हामीले त्यस क्षेत्रबाट ठूलो रकम आम्दानी गरेका छौं। तर, बजारमा आएको यस्तो हल्लामा जोखिमको सही मूल्यांकन हुन सकेको छैन। भर्खरै भारतको यस बैंकले एउटै परिवारमा ठूलो रकम कर्जा दिएर डुबेको समाचार आएका छन्। तर हामीले म्यानपावरमा त्यसो गरेको होइन। हामीले ६ सयभन्दा बढी म्यानपावर कम्पनीलाई लगानी गरेका छौं। ८-१० वर्षको हाम्रो अनुभवमा अहिलेसम्म जम्मा एउटामात्रै दाबी आएको छ। यति ठूलो आम्दानी भएको क्षेत्रमा एकाध जोखिम हुनु स्वाभाविक हुन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.