जोरपाटी-सुन्दरीजल सडक : ठेक्काको ४ वर्षपछि निर्माण सुरु
काठमाडौं : जोरपाटी-सुन्दरीजल सडकखण्ड विस्तार प्रक्रिया अघि बढेको छ। सिमांकन विवादका कारण ठेक्का लागेको करिब ४ वर्षसम्म सडक विस्तार हुन सकेको छैन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरीय निर्णयले पुसमा जोरपाटी-सुन्दरीजल सडक खण्ड १४ मिटरमा विस्तार गर्न सहमति प्रदान गरेसँगै विस्तार प्रक्रिया अघि बढेको हो। मन्त्रीस्तरीय निर्णयले सार्वजनिक जग्गा भएको ठाउँमा २२ मिटर र स्थानीयको जग्गा पर्ने ठाउँमा १४ मिटर मात्र विस्तार गर्न सहमति प्रदान गरेका छ।
साँघुरो जोरपाटी-सुन्दरीजल ७ किमि सडक खण्ड २०७३ असार ३ गते २२ मिटरमा विस्तार गर्नेगरी ठेक्का लगाइएको थियो। यो सडक खण्ड मुस्किलले ६ मिटरको छ। सडक विस्तार गर्न आसपासका धेरै घर भत्काउनुपर्ने हुन्छ। सवारीसाधन र जनसंख्या वृद्धिले सडक साँघुरो भइसकेको छ। सडकलाई फराकिलो र चिल्लो पार्ने उद्देश्यले सडक विभाग काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २२ मिटरमा विस्तार गर्ने गरी डिजाइन तयार गरेको थियो। मुआब्जा रकम वितरण नगरी सडक विस्तार गर्न स्थानीयले अवरोध गरेका थिए। स्थानीयको माग पूरा गर्ने अवस्था नहुँदा सडक विस्तार प्रभावित बनेको थियो।
जोरपाटी-सुन्दरी खण्डलाई ३.५ किमि÷३.५ किमिको दुईवटा प्याकेजमा ठेक्का लगाइएको थियो। यी दुवै प्याकेजको ठेक्का आशीष÷सीएम जेभीले प्राप्त गरेको थियो। ५६ करोड ५१ लाख ३५ हजार रुपैयाँमा दुवै प्याकेजको ठेक्का लगाइएको थियो।
२२ मिटरमै सडक विस्तार गर्दा ठेक्काभन्दा कयौं गुणा रकम मुआब्जाका लागि मात्र वितरण गर्नुपर्ने भएकाले तत्कालीन समयमा निर्माण कार्य अघि बढाउन नसकिएको आयोजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाले बताए। ‘१४ मिटरसम्म विस्तार गर्न स्थानीय सहमत छन्। डिजाइनअनुसारै विस्तार गर्दा ठूलो परिणाममा स्थानीयको जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ। ती जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग बजेट अभाव छ। मुआब्जा दिने रकम नहुँदा सडक विस्तार ढिला भएको थियो। अहिले स्थानीयले १४ मिटरमा सडक विस्तार गर्दा तत्काल मुआब्जाको रकम नलिने प्रतिबद्धता जाहेर गरेका छन्। सडक विस्तारका क्रममा भत्किने घर तथा टहराको भने मुआब्जा स्थानीयका मागको आधारमा दिइनेछ। जग्गाको मुआब्जा भने सरकारले मुआब्जाका लागि रकम निकासा गरेपछि मात्र दिइनेछ।
यो सडक २०७५ भदौ ३ गतेसम्म विस्तार सक्ने गरी ठेक्का लगाइएको थियो। अहिले २०७७ असार ३१ गतेसम्मका लागि म्याद थप गरिएको छ। उपलब्ध जग्गामा सडक विस्तार गर्न अनुमति प्राप्त भएसँगै विस्तार प्रक्रिया अघि बढाइएको आशीष सीएम जेभीका सञ्चालक शान्तकुमार श्रेष्ठले बताए। ‘स्थानीयको साथ र सहयोग भए सडक विस्तार गर्न समस्या हुँदैन। गोकर्णेश्वर नगरपालिकाले सडक विस्तारमा सहजीकरण गर्न नौ सय जना स्थानीयको हस्ताक्षर पनि संकलन गरेको छ’, श्रेष्ठले भने, ‘त्यसमा केही स्थानीको हस्ताक्षर छैन।’ चौडा र चिल्लो सडक सबैको आवश्यकता भएकाले स्थानीयको सहयोग प्राप्त हुनेमा उनी विश्वस्त देखिए। ठेकेदार कम्पनीले दुई किलोमिटर पर्खाल र सडकको दायाँ र बायाँ ५ सय मिटर ड्रेनेज राखिसकेको छ।