भिडियो सम्मेलन र मानवीय सुरक्षा
के भारतले निकट भविष्यमा सार्क सम्मेलन आयोजना गर्न इच्छुक रहेको सन्देश दिन खोजेको हो ?
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण एसियाली राष्ट्रहरूको सहयोग संगठन (सार्क) कोे भेट फेरि हुन्छ भनेर आशा मारिसकेका दक्षिण एसियाका जनताले यही चैत २ गते अचानक सार्क भिडियोसम्मेलन आयोजना भएको टेलिभिजन स्क्रिनमा देख्दा धेरैलाई पत्याउन गाह्रो परेको हुनुपर्छ। यो सम्मेलन भारतका प्रधानमन्त्री मोदीले ट्विटरमार्फत बोलाएका हुन्। उनले ट्विट गर्दै भनेका थिए, ‘म सार्क नेतृत्वलाई भिडियो सम्मेलनमार्फत कोरोना भाइरस (कोभिड—१९) सँग लड्न र हाम्रा नागरिकलाई स्वस्थ राख्ने उपायबारे रणनीति निर्माण गर्न प्रस्ताव गर्दछु। उनले थपे, ‘हामीले मिलेर विश्वका लागि उदाहरण बन्न सक्छौं। सार्कका सबै सदस्य राष्ट्रले मोदीको प्रस्तावलाई ट्विटरमार्फत नै स्वीकारे। सायद ट्विटर र भिडियोको माध्यमबाट क्षेत्रीय स्तरको सम्मेलन आयोजना गरिएको यो पहिलो घटना नै हुनसक्छ।
मोदीले बिम्स्टेक वा बीबीआईएन भिडियो सम्मेलन नबोलाएर किन अचानक सार्क भिडियो सम्मेलन बोलाउन चाहे ? के सार्कको विकल्पमा यी क्षेत्रीय तथा उपक्षेत्रीय संगठनहरू खासै प्रभावकारी हुन नसकेको वास्तविकता भारतले महसुस गरेको हो ? के भारतले निकट भविष्यमा सार्क सम्मेलन आयोजना गर्न इच्छुक रहेको सन्देश दिन खोजेको हो ? यी प्रश्नहरूको उत्तर अहिलेलाई भविष्यको गर्भमै छाडौं। मोदीको प्रस्तावले कम्तीमा पनि तीनवटा सन्देश भने अवश्य दिएको छ – पहिलो, संकट पर्दा छिमेकीको साथ र सहयोग अपरिहार्य छ। दोस्रो, विश्व शक्तिको रूपमा उदाउन पहिले क्षेत्रीय शक्ति भएकोे प्रमाणित गरेर देखाउन अपरिहार्य छ। र, तेस्रो, मोदी २.० को नेतृत्वमा भारतले कसैले नसोचेको ठूल्ठूला निर्णय अचानक लिन र कार्यान्वयन गर्ने क्षमता राख्छ। कोभिड—१९ ले भारतलाई सार्क स्तरीय भिडियो सम्मेलन नै भए पनि आयोजना गर्ने अवसर दिलायो। दक्षिण एसियाली राष्ट्रहरूमध्ये भारतमा हालसम्म सबैभन्दा बढी कोभिड—१९ बाट संक्रमित व्यक्ति पनि रहेका छन्। सम्मेलनको आयोजना फरक परिस्थितिमा फरक प्रक्रिया र तरिकाबाट सञ्चालन गरिएको भए पनि सबैले यसको हृदयदेखि नै स्वागत गरेका छन्। कोभिड—१९ ले उत्पन्न गरेको निराशाबीच सार्कको भविष्यप्रति भने केही आशा जगाएको छ।
हाल सार्कको अध्यक्ष राष्ट्र नेपाल भए पनि सार्क भिडियो सम्मेलनको अध्यक्षता भने भारतले गर्यो। मोदी आफैंले भिडियो सम्मेलन सञ्चालन समेत गरे। मोदीले ठूल्ठूला र साहसिक निर्णय अचानक लिने क्षमता र प्रवृत्ति देखाएका छन्। भारतले बिम्स्टेक सैनिक अभ्यास पनि काठमाडांैं सार्क सम्मेलनको बेला आफ्नो भाषणको दौरानमा अचानक घोषणा गरेका थिए। प्रधानमन्त्रीको दोस्रो पदावधि सुरु भएको तीन महिनाभित्र उनको सरकारले दुवै सदनमा जम्मु—कश्मीरको पुनर्गठन विधेयक पेस गरेको थियो। विधेयकले जम्मु—कश्मीरमा विगतको छुट्टै संविधान र कानुनको सट्टा भारतको संघीय संविधान र कानुनका प्रावधान लागु गर्यो। जम्मु—कश्मीर र लद्दाख छुट्टिएपछि जारी गरिएको भारतको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा र कालापानी भूभागलाई अचानक भारतीय भूभागमा पारेपछि नेपालमा यसको तीव्र विरोध भइरहेको छ। नागरिकता संशोधन कानुनलाई पनि मोदी सरकारको अर्को साहसिक कदमका रूपमा लिइन्छ। पाकिस्तानविरुद्ध केही सैनिक कार्बाही पनि अचानक नै गरिएको थियो।
कोरोना भाइरस जस्तो अदृश्य शत्रुसँगको लडाइँ अदृश्य रूपमै लड्दा प्रभावकारी हुन्छ, घुमघाम र धूमधाम गरेर होइन। यो आम जनताले लड्ने लडाइँ हो, यो लडाइँमा व्यक्ति–व्यक्तिले जितेमात्र समाज, देश र विश्वले जित्नेछ।
भारतको प्रस्तावमा सार्क भिडियो सम्मेलन आयोजना गरिएको भए पनि सार्कको वर्तमान अध्यक्ष राष्ट्रको हैसियतले त्यसको अध्यक्षता नेपाललाई गर्र्न दिएको भए विशाल भारतको उदारताबारे अझ बढी प्रशंसा हुन्थ्यो होला। अध्यक्षता नेपालले गरेको भए पनि यो सम्मेलन सम्भव हुनुको देन भारतलाई बाहेक अरूलाई जाने थिएन। हालसम्म सार्क सम्मेलन हुन नसक्नुमा पनि भारतको अनिच्छाले गर्दा नै हो। सार्क भिडियो सम्मेलनको सफलताको अनुभव र फाइदाबाट पाठ सिकेर भारतले सार्क सम्मेलन आयोजना गर्न पहल गरेमा भारतको साहसिक निर्णयको प्रशंसा उचाइमा पुग्नेमा द्विविधा छैन। उदीयमान विश्वशक्ति भारतका लागि यो अपरिहार्य पनि छ। तसर्थ, अब सार्क सम्मेलन गर्न ढिला गर्नु हुँदैन।
भिडियो सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान भने उपस्थित भएनन्। उनको अनुपस्थितिले एकातिर भारत र पाकिस्तानबीचको बिग्रँदो सम्बन्धलाई उदांगो पारेको छ भने उनले आफ्नो स्वास्थ्य राज्यमन्त्रीलाई सहभागी गराएर सार्कप्रति पाकिस्तानको प्रतिबद्धता भने जाहेर गरेको छ। पाकिस्तानका स्वास्थ्य राज्यमन्त्रीले उनको वक्तव्यको क्रममा कश्मीरको मुद्दासमेत उठाएपछि सार्क क्षेत्रमा सहयोगको भावना निर्माण गर्ने भारतको पहलमा धक्का लागेको टिप्पणी भारतका केही सञ्चारमाध्यमले गरेका छन्। हरेक चुनौतीसँगै अवसर पनि आएको हुन्छ। कोभिड—१९ संकटले भारत र पाकिस्तानबीचको मतभेदलाई थाति राखेर क्षेत्रीय सहयोग संगठनलाई दक्षिण एसियाली जनताको सर्वोपरि हितको लागि पुनः क्रियाशील बनाउने अवसर दिलाउन सक्छ। सम्मेलनमा पाकिस्तानले सार्क स्वास्थ्यमन्त्रीहरूको बैठक बोलाउन पनि प्रस्ताव गरेको छ। यसमा भारतको प्रतिक्रिया के आउँछ हेर्न बाँकी नै छ।
भारतका प्रधानमन्त्रीले आफ्नो सम्बोधनको क्रममा ‘आपसी’ ‘साझा’ र ‘मिलेर’ जस्ता शब्द पटक–पटक प्रयोग गरे। उनले कोभिड—१९को विरुद्ध सार्क सदस्य राष्ट्रहरूबीच आपसमा मिलेर तयारी गर्न, मिलेर काम गर्न, मिलेर सफलता हासिल गर्न, आपसी सहयोग बढाउन, साझा अनुसन्धान प्लेटफर्म स्थापना गर्न र सार्क डिजेस्टर म्यानेजमेन्ट सेन्टर (सार्क राष्ट्रहरूको साझा केन्द्र) लाई उपयोग गर्न पर्नेमा जोड दिए। मोदीले कोभिड—१९ संकटकालीन फन्डका लागि आफ्नो देशको तर्फबाट १० मिलियन अमेरिकी डलर योगदान गरेको घोषणा गर्दै अरू राष्ट्रहरूलाई पनि स्वेच्छाले योगदान गर्न अपिल गरे। साझा चुनौती र संकटसँग लड्न साझा प्रतिबद्धता र आपसमा मिलेर काम गर्ने बानी बसाल्नु आवश्यक छ। सबै सरकार प्रमुख र प्रतिनिधिले आआफ्नो देशको तयारी र विचारहरू सम्मेलनमा बांँडे। मोदीले भनेजस्तै दक्षिण एसियाली राष्ट्रहरूले मिलेर विश्वका लागि उदाहरण बन्ने हो भने भावी साझा चुनौती र अरू सम्भावित संकटसँग लड्न सार्कलाई पहिले पुनर्जीवित गर्नु आवश्यक छ। यसमा पनि भारतले नै अग्रसरता लिनुपर्छ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गाैलाको दोस्रोपटक सफल प्रत्यारोपण गरेको बाह्रौंं दिनमा सिंहदरबारमा गई भिडियो सम्मेलनमा भाग लिएर आफ्नो उच्चतम् इच्छा शक्ति मात्र प्रदर्शन गरेनन्, यसले नेपालको गुणस्तरीय र भरपर्दो स्वास्थ्य उपचार पद्धतिको अप्रत्यक्ष रूपमा व्यापक प्रचारसमेत गरायो। भिडियो सम्मेलनमा मोदीलगायत सबै राष्ट्राध्यक्ष तथा प्रतिनिधिले ओलीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे। नेपालले सार्कलाई क्रियाशील बनाउन निरन्तर जोड दिँदै आएको छ।
दक्षिण एसियाली मुलुकमध्ये भारत, पाकिस्तान, नेपाल र भुटान कोरोना भाइरस प्रारम्भ भएको मुलुक चीनसँग सीमा जोडिएको हुँदा यो क्षेत्र उच्च जोखिममा पर्छ। सार्क भिडियो सम्मेलन हुँदाका दिनसम्म भारतमा ११४ संक्रमित र दुईको मृत्यु भएको र पाकिस्तानमा ३८, बंगलादेशमा चार, श्रीलंकामा पाँच, माल्दिभ्समा १३, अफगास्तिानमा १६, भुटानमा एक र नेपालमा एकजना संक्रमित भेटिएको तर निको भएको अवस्था छ। दक्षिण एसियामा जम्मा करिब १९४ जना संक्रमित भेटिएकामध्ये दुईजनाको मृत्यु भएको तथ्यांक छ।
सरुवा रोगको महामारी मानवीय सुरक्षाका लागि खतरा हो र यसले समग्र राष्ट्रिय सुरक्षामा समेत असर पार्छ। संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्मा मेडिकल एन्ड बायो डिफेन्स प्रिपेर्डनेस युनिट नै रहेको छ। नेपालको संविधानले धारा २६७ मा प्राकृतिक विपत्ति र चरम आर्थिक अव्यवस्थाबाट उत्पन्न हुने संकटको बेला राष्ट्रिय सुरक्षा परिषद्ले नेपाली सेना परिचालन गर्नसक्ने प्रावधान छ। सरुवा रोगले महामारीको रूप लिएमा यसबाट पनि नेपालमा राष्ट्रिय संकट उत्पन्न हुन्छ। कोभिड—१९ लाई नियन्त्रण गर्न इटालीले सबै ६० मिलियन जनतालाई हिँड्डुलमा प्रतिबन्ध (लक डाउन) लगाएको छ। संयुक्त राष्ट्र अमेरिका, सर्बिया र स्पेनले कोभिड—१९ सँग जुध्न राष्ट्रिय संकटकाल घोषणा गरेको छ। तसर्थ, कोरोना भाइरसको महामारी स्वास्थ सुरक्षा र राष्ट्रिय सुरक्षाका लागि समेत खतरा हो। यसले राष्ट्रिय जीवनको सबै क्षेत्रमा प्रभाव पार्छ। यस्तो महामारीले मानवीय सुरक्षा, आर्थिक समृद्धि र स्थिरता जस्ता राष्ट्रिय हितको विरुद्ध चुनौती सिर्जना गर्ने भएकाले नियन्त्रणका लागि राष्ट्रले सम्पूर्ण स्रोतसाधन समेत परिचालन गर्नुपर्ने हुनसक्छ।
नेपालको संविधानको धारा ५१ बमोजिम राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत ‘सर्वांगीण मानवीय सुरक्षाको प्रत्याभूति गर्ने’ नीति राज्यले अवलम्बन गर्ने व्यवस्था गरेको छ। मानवीय सुरक्षाको मान्यताअनुसार नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य, आवास, सामाजिक सुरक्षा र वातावरणीय सन्तुलनलगायतका विषयको सुनिश्चितता हुनुपर्छ। कोभिड—१९ महामारीलाई नियन्त्रण गर्न संसारभर राष्ट्रिय सुरक्षाका संयन्त्र प्रत्यक्ष÷परोक्ष रूपमा क्रियाशील भएका छन्।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले चीनले भाइरस संक्रमणकोे प्रारम्भिक सूचना लुकाएकाले प्रभावकारी विश्व प्रतिक्रियामा ढिलाइ भएको आरोप लगाए। पाकिस्तानले महामारीलाई नियन्त्रणका उपायबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को विशेष बैठक नै बोलायो। पहिले युद्धग्रस्त मुलुकबाट आफ्ना नागरिकलाई उद्धार गरेजस्तै भारतले कोरोना भाइरस संक्रमित देशबाट झन्डै नौसय भारतीय र केही विदेशी नागरिकलाई उद्धार गरी ल्याएको छ। नेपालले चीनको वुहान सहरमा अध्ययनरत १७५ विद्यार्थीलाई उद्धार गरी ल्यायो।
कोरोना भाइरस नामक अदृश्य शत्रुसँग अहिले विश्वले नै लडाइँ लडिरहेको छ। लडाइँको बखत देखिने प्रायः सबै सूचक अहिले देखापरिरहेका छन्। जस्तै संकटकालको घोषणा, सीमाबन्द, हवाई यातायातमा कटौती, पातलिएको सडक आवागमन, सेयरको मूल्य र आर्थिक वृद्धिमा गिरावट आदि। कोरोना भाइरस जस्तो अदृश्य शत्रुसँगको लडाइँ अदृश्य रूपमै लड्दा प्रभावकारी हुन्छ, घुमघाम र धूमधाम गरेर होइन। यो आम जनताले लड्ने लडाइँ हो, यो लडाइँमा व्यक्ति–व्यक्तिले जितेमात्र समाज, देश र विश्वले जित्नेछ।