सन्त्रासमा न्यूयोर्क

सन्त्रासमा न्यूयोर्क

अमेरिका : कहिल्यै नसुत्ने शहर न्यूयोर्क यतिबेला कोरोना भाइरस कोविड-१९ को सन्त्रासले २४ घण्टा नै सुतिरहेको छ। लाग्छ, यो शहरमा यतिबेला मानिस बस्दैनन्। हजारौं मानिस हिँडडुल गरिरहने यो शहर यतिबेला सुनसान छ। अमेरिकी सरकारले मानिसलाई समूहमा कार्यक्रम नगर्न, सामूहिक रूपमा भेला नहुन र घरमै बस्न आदेश जारी गरेको छ। यति मात्रै होइन विद्यालय, विश्वविद्यालय बन्द भएको यस्तै रेष्टुराँ, बार, जिम हल लगायतका सार्वजनिक भेला हुने स्थान बन्द गर्ने आदेश पनि सरकारले दिएको छ।

विश्वको आर्थिक राजधानीका रूपमा मानिने न्यूयोर्क र त्यसको केन्द्र म्यानहाटमा यतिबेला कुनै चहलपहल छैन। दैनिक लाखौं आवतजावत हुने म्यानहाटन बन्द जस्तो देखिन्छ। हाल न्यूयोर्क शहरमा ट्याक्सी गुडाउने पर्वतका सन्तोष आचार्यले भने, ‘अमेरिका आएको ६ वर्ष भयो। अहिलेसम्म यस्तो शान्त देखेकै थिइनँ, नेपाल बन्दको जस्तो अनुभूति भएको छ।’

संक्रमणका कारण मानिसहरू अत्यावश्यक सामाग्री किनमेल गरेर घरमै बस्ने तयारी गरिरहेको देखिन्छ। खाद्यान्न लगायतका सामग्री बेच्ने पसलमा भीड छ। धेरैजसो पसलका टाँड खाली खाली भएका छन्। मानिसलाई रोगभन्दा पनि त्रासले बढी सताएको देखिन्छ। फुडबजार, आपना बजार, कस्को, वालमार्ट जस्ता ठूलठुला ग्रोसरी लगायतका सामग्री बेच्ने पसल यति बेला प्रायः खाली छन्। विमानस्थल खाली नै देखिन्छन्।

पत्रकार आङछिरिङ शेर्पा भन्छन्, ‘मानिसले कम्तीमा महिना दिनका लागि खाद्यान्न लगायतका सामग्री किनमेल गरेर राखेको पाइन्छ। बजारमा अझै अभाव सृजना त भएको छैन तर यही अवस्था रहेमा बजारमा सामान अभाव हुने संकेत भने देखा परेको छ।’

न्यूयोर्कको ज्याक्सन हाइटमा नेपाली भाषीका व्यवसाय सञ्चालनमा छन्। रेष्टुराँ, ग्रोसरी, तरकारी पसल लगायत कारोबार हुने स्टोर नेपालीले सञ्चालन गरिरहेका छन्। नेपाली व्यवसायी रवि गौतमले भने, ‘अहिले कारोबार शून्यप्रायः छ।’ उनको ग्रोसरी र प्रभु मनि ट्रान्सफरको पसल छ। गौतमले दुवै पसलमा अहिले कारोबार नभएको गुनासो गरे। रोगको त्रासले मानिस पसलमा कम आउने गरेको उनको भनाइ छ।

अमेरिकाले सन्त्रास कम गर्न प्रयास भने जारी राखेको देखिन्छ। सरकारका तर्फबाट पर्याप्त पहल भइरहेको सरकारका प्रमुख व्यक्तिहरूले दैनिकजसो जनतालाई जानकारी गराइरहेका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले सरकारका तर्फ गरेका प्रयासबारे दैनिकजसो जानकारी गराइरहेका छन्। उनले जनतालाई नआत्तिन र सतर्क रहन ट्विटरमार्फत समेत जानकारी दिइरहेका छन्।

५० मिलियनको कोष खडा गरेर कोविडविरुद्ध जुध्न लागिपरेको सरकारले व्यवसायीलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने, लिएको ऋणमा केही समयका लागि ब्याज नलिने, रोगका कारण काममा जान नसक्नेहरूका लागि सरकारका तर्फबाट रकम उपलब्ध गराउने, घरमै बसेर काम गर्ने लगायतका व्यवस्था मिलाउन लागि परेको देखिन्छ।

सञ्चारकर्मी ज्योतिकुमार श्रेष्ठ सामाजिक सञ्जालमा सरकारको प्रशंसा गर्दै लेख्छन्, ‘सरकार होस् त अमेरिकाको जस्तो। नागरिकका निम्ति सरकार भनेको यस्तो हुनुपर्छ। संक्रमण रोक्ने पहलको शुरुवात ढिला गरी भएको तर सरकारका तर्फबाट भइरहेका कामबारे आमनागरिकले खुलेर प्रशंसा गरिरहेका छन्।’

यो समाचार तयार पार्दासम्म अमेरिकामा ९३ जनाको मुत्यु भएको छ भने चार हजारभन्दा बढी संक्रमितको पुष्टि भइसकेको छ। सयौं मानिस अस्पतालमा छन्। सरकारले यो साताभित्र कम्तीमा पाँच लाख मानिसले उपचार गर्न सक्ने गरी व्यवस्था मिलाएको छ भने महिना दिनभित्र पचास लाख मानिसले सहजै उपचार गर्न सक्ने गरी कम गरिरहेको प्रष्ट्याएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.