यसरी बिते कुशलको तीन वर्ष : बल्‍ल पाए न्याय

यसरी बिते कुशलको तीन वर्ष : बल्‍ल पाए न्याय

धादिङ : बुधबार जिल्ला अदालत धादिङको गेटबाट बाहिरिँदै गर्दा सिद्धलेक गाउँपालिका-५ कुम्पुरका कुशल आलेमगरको अनुहारमा उत्साह थियो। परिवारको खर्च जोहो गर्न तीन वर्षअघि वैदेशिक रोजगारीमा जान लाग्दा आफ्नै छिमेकी दाइबाट ठगिएर घर न घाटको बनेका कुशलले क्षतिपूर्ति पाएका छन्।

घर नजिकैका छिमेकी लक्ष्मणप्रसाद पन्तले टर्की र दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ३ वर्षअघि ११ लाख रुपैयाँ ठगेर फरार भए। पन्त भागेपछि धेरै कमाएर परिवारलाई सुःखमा राख्ने कुशलको सपना भताभुंग भएको थियो। पन्तको विश्वासमा राम्रो उत्पादन हुने एक रोपनी खेत बिक्री गरेर कुशलले ११ लाख रुपैयाँ बुझाएका थिए। पन्त भागेपछि कुशल वैदेशिक रोजगार अदालतको शरणमा पुगे।

लामो कानुनी झमेला पूरा गरेर आलेमगरले मंगलबार आफूले बुझाएको ११ लाख रुपैयाँ र त्यसको हर्जना थप साढे ५ लाख गरी १६ लाख ५० हजार रुपैयाँ पन्तको परिवारबाट पाएका छन्। यो कानुनी लडाइँमा साथ दिने सबैलाइ सम्झिँदै आँखाबाट खुसीको आँसु नै झारे। अझैसम्म फरार रहेका ठग लक्ष्मण पन्तलाइ भने अदालतले डेढ वर्षको कैद सजाय पनि सुनाएको छ।

वैदेशिक रोजगारीेमा जान लागेका बेला ठगिएर विचल्लीमा परेका कुशल आलेमगरको समस्या र उनले लडेको कानुनी लडाइबारे अन्नपूर्ण पोष्ट दैनिक र अनलाइनमा पटक-पटक समाचार प्रकाशित भएको थियो।

यसरी बिते संघर्षका तीन वर्ष
पन्तले सुरुमा टर्किको व्यवसायिक फार्ममा सेल्स मेनका रूपमा पठाइदिने भन्दै तीन लाख रकम लिए। पछि टर्कीमा द्वन्द्व चलिरहेकाले दक्षिण अफ्रिका पठाउने आश्वासन दिए। कुशलले २०७३ पुस १० गतेसम्म पटक-पटकमा आइएमइमा पन्तको नाममा ११ लाख रुपैयाँ बझाए। आइएमइ गरेको त्यही भौचर नै कुशलको लागि कानुनी लडाइँको बलियो प्रमाण बन्यो।

‘गाउँकै छिमेकी दाइ थिए, राम्रै चिनजान थियो। अरु मान्छे पनि पठाएको छु, कम्पनीसँग कुरा भइरहेको छ भनेर फेसबुकमा कुारकानी गरेको देखाए। यसरी फसाउलान भन्ने लागेको थिएन’, मगरले भने, ‘दक्षिण अफ्रिका पठाउने भनेर भारत लगेर ५ महिनासम्म राख्यो। पछि आएर मैले दक्षिण अफ्रिका पठाउन सकिन। नेपालमा गएर तिम्रो हिसाब-किताब गरिदिउँला भनेर पासपोर्टसमेत नदिइ भारतबाट फर्काए।’

आमाको सहारामा हुर्किएका कुशलको आर्थिक अवस्था कमजोर छ। उनले राम्रो देशमा गएर धेरै कमाउने सपना बुनेका थिए। पन्तले भने उनको गरिबी र धेरै कमाउने सपनाको फाइदा उठाउँदै धेरै कमाइ हुने ठाउँमा पठाइदिने भन्दै पटक-पटक गरी लाखौं रुपैयाँ मागे।

आफूले बुझाएको रकम सहज रूपमा फिर्ता पाउने छाँटकाँट नदेखेपछि कुशल प्रहरी र प्रशासनसँग गुहार माग्न पुगे। उनी ठगिएको समाचार पनि प्रकाशित भयो। आफ्नो फसेको पैसा उठाइदिन सुरक्षित आप्रवास परियोजनामामार्फत वैदेशिक रोजगार विभागमा उजुरी पनि गरे। वैदेशिक रोजगारमा ठगिएकाहरुको तर्फबाट वकालत गर्दै आएको पिपुल फोरम र पौरखी नेपालले मगरको तर्फबाट मुद्दा लडे।

दुई वर्ष मुद्दा प्रक्रिया चलेपछि २०७६ बैशाख ८ गते वैदेशिक रोजगार न्यायाधिकरणको कार्यालयले विगो ११ लाख र त्यसको ५० प्रतिशत हर्जनासहित ठग लक्ष्मण पन्तलाई डेढ वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला गर्‍यो। नगद तिर्न नसके लक्ष्मण पन्तको जायजेथाबाट भए पनि क्षतिपूर्ति भराउन जिल्ला अदालत धादिङलाइ लेखि पठायो।

न्यायाधिकरण कार्यालयको आदेशविरुद्ध लक्ष्मणका बाबु हरिप्रसाद पन्तले आफ्नो छोरा सम्पर्कमा नभएको र जायजेथाबाट क्षतिपूर्ति दिन नपर्ने भन्दै सर्वोच्च अदातलमा अन्तरिम आदेश माग गर्दे रिट हालेका थिए। त्यस्तै २०७६ असोज २ गते जिल्ला अदालत धादिङमा पनि सर्वोच्चमा रिट निवेदन परेको र रिटको सुनवाइ नहुन्जेलसम्म बिगो असुलउपर गर्ने मुद्दा तामेलीमा राख्न निवेदन दिएका थिए।

तर, २०७६ माघ १६ गते जिल्ला न्यायाधीस देवेन्द्र पौडेलको इजलाशले लक्ष्मणका बाबु हरि पन्तको माग बमोजिम मुद्दा तामेलीमा राख्नु नपर्ने फैसला गर्दै कुशललाइ पन्तको जायजेथाबाट बिगो भराउने आदेश गरेपछि कुशलले क्षतिपूर्ति पाउने बाटो खुलेको थियो। तर, फेरि लक्ष्मणका बाबु हरि पन्तले अदालतले गरेको पञ्चकृत मूल्यांकलन थोरै भएको भन्दै आफ्नो जग्गाको मूल्य ४० लाखभन्दा बढी पर्ने दावी गरि पूनः अदालतमा निवेदन दिए।

तर, चैत्र ४ गते पन्त परिवारले बिगो र जरिवानावापतको रकम अदालतमा नगदै बुझाएका थिए। रकम बुझेपछि कुशलले अब यो रकम खेत किन्नमै खर्च गर्ने बताए। ‘पहिले पनि खेत बेचेर पन्तलाई रकम दिएको थिएँ। यत्रो लफडा आइपर्‍यो,’ कुशलले भने, ‘अब यो पनि खेत किन्नमै खर्च गर्छु।’ क्षतिपूर्तिवापत पाएको रकम पनि राजस्व बुझाउनु पर्दा दुःख लागेको बताए। उनले भने, ‘यत्रो दुःख गरियो, मानसिक तनाव बेहोर्नुपर्‍यो। बल्ल-बल्ल क्षतिपूर्ति पाएको थिएँ, त्यही पनि ५ प्रतिशत सरकारलाई नै बुझाउनु पर्ने नियम रहेछ।’

उनले अब विदेश जाने सपना त्यागेका छन्। तीन वर्ष दुःख पाएपछि अब विदेशको मायाँ मारेको उनले बताए। उनले भने, ‘जे जस्तो हुन्छ आफ्नै माटोमा खनिखोस्री खानेछु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.