कोरोना संक्रमण : भारतीय सीमाबाट फैलिने जोखिम
काठमाडौं : भारतसँगको खुला सीमाका कारण नेपालमा कोरोना संक्रमण फैलन सक्नेमा बढी चिन्तित छ। भारतमा कोरोनाबाट चारजनाले ज्यान गुमाइसकेका छन्। नेपाल भारतबाट तीनतर्फबाट घेरिएको छ।
सरकारले चीनबाट भन्दा पनि भारतबाट कोरोना संक्रमण फैलिनसक्ने आशंका गरेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै भारतसँग सीमा जोडिएका तराईका जिल्लाका नेपाली रोजगारीका लागि भारतमा रहेकाले उनीहरू फर्कंदा कोरोना संक्रमण आउन सक्नेमा थप सावधानी अपनाउने निर्णय सरकारले गरेको छ।
बिहीबार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा कोरोनाको वस्तुस्थिति, पूर्वतयारीसँगै प्रतिकार्य योजनाका विषयमा चर्चा भयो। चीनसँगै भारतीय सीमा नाकाबाट वारपार हुने सर्वसाधरणको जाँचलाई अझ व्यवस्थित गर्ने निर्णय बैठकले लिएको छ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्च स्तरीय समन्वय समितिसँगै कोरोनाविरुद्ध प्रतिकार्य योजनाको ‘एक्सन टिम’ ले काम गरिरहेको बताए।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले कोरोनाबारे अफवाह फैलाउने र अनर्गल प्रचार गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना र ६ महिनासम्मको काराबास सजाय हुने बताए। कोरोना भाइरस संक्रमित बिरामीहरू मनिटर गर्ने अनलाइन डाटाबेस बनाउने विषयमा समेत छलफल भएको थियो।
छलफलमा नेपाली सेनासहित तीनवटै सुरक्षा निकायले कोरोना भाइरसविरुद्धको तयारीबारे जानकारी दिएका थियो। छलफलमा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठी, सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायत सहभागी थिए।
संसदीय समिति स्थगित
कोभिड-१९ भाइरसको प्रभाव संसदीय समितिमा परेको छ। कोरोना भाइरसको त्रासका कारण प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहीबार चल्दाचल्दै स्थगित भयो। २५ जनाभन्दा बढी मानिस समितिमा उपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसकी सचेतक पुष्पा भुसाल, सांसद दिलेन्द्र बडूलगायतले सरकारको निर्देशन विपरीत नजान सभापति शशी श्रेष्ठलाई आग्रह गरेका थिए। सरकारले बुधबार २५ जना भन्दा बढी मानिसको जमघट नगर्न निर्देशन दिएको थियो। समिति बैठकमा ४५ जनाको हाराहारीमा मानिस उपस्थित भएका थिए। सांसदहरूको आग्रहपछि सभापति श्रेष्ठले बैठक स्थगित गरेकी हुन्। समितिमा संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयकमाथि छलफल भइरहेको थियो।
कैदीबन्दी घटाउन निर्देशन
कारागारमा कैदीबन्दीका संख्या घटाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले कैदीबन्दीलाई कोभिड-१९ बाट सुरक्षित राख्न बिहीबार यस्तो निर्देशन दिएको हो।
कोरोना भाइरसको संक्रमण फैलिएपछि कारागारको अवस्था जटिल हुनसक्ने भएकाले सरकारलाई कैदीबन्दीको संख्या घटाउन निर्देशन दिइएको समितिका सभापति कृष्णभक्त पोख्रेलले बताए।
समितिले कोरोना भाइरसको परीक्षणका लागि सातवटै प्रदेशमा मेडिकल टिम, इक्युपमेन्ट र औषधिको पर्याप्त व्यवस्था मिलाउनसमेत सरकारलाई निर्देशन दिएको छ।
देशभरका स्वास्थ्य संस्थामा जनसंख्याको चाप अनुसार कोरोना भाइरसको परीक्षणलाई प्रभावकारी बनाउन निर्देशन छ।
मास्क, औषधिलगायत दैनिक उपभोग्य वस्तुको कृतिम अभाव र कालोबजारी भइरहेकाले त्यसलाई रोक्न प्रभावकारी अनुगमन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ।
शैक्षिक परामर्श बन्द
नेपाल शैक्षिक परामर्श संघ नेपाल (इक्यान)ले शुक्रबारदेखि सम्पूर्ण शैक्षिक परामर्श दातृ संस्था बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ संक्रमणको जोखिम बढेकोले सम्पूर्ण शैक्षिक संस्थासहित शैक्षिक परामर्श दातृ संस्थाहरू बन्द गर्ने निर्णय गरेको इक्यानले जनाएको छ।
‘महामारीबाट बच्न हरेक नागरिकले आफू नै सचेत भएर सावधानीका उपायहरू अपनाउनु अति आवश्यक भएको छ। त्यसैले सम्पूर्ण संस्था बन्द गर्ने निर्णय भएको हो’, संघ अध्यक्ष प्रकाश पाण्डेले भने। सरकारले सबै शैक्षिक संस्थालगायत मानिसहरूको चहलपहल हुन सक्ने सबै क्षेत्रहरूलाई आगामी चैत्र मसान्तसम्म बन्द गर्न बुधबार गरेको थियो।
सरकारको निर्णयलाई समर्थन गर्दै सबै सदस्य संस्थाका कार्यालय तथा संघका कार्यालय समेत आगामी चैत्र मसान्त सम्मका लागि बन्द गरिएको इक्यानले जनाएको छ।
त्रिवि प्रशासन खुल्ने
त्रिभुवन विश्वविद्यालयले चैत महिनाभित्रमा सञ्चालन गरिने सम्पूर्ण परीक्षा स्थगित गरेको छ। त्रिवि कार्यकारी परिषद्को बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो। कार्यकारी परिषद्ले परीक्षा स्थगित गर्न सबै संकाय तथा परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएको थियो।
सोही निर्देशन अनुसार सम्पूर्ण परीक्षा स्थगित गरिएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। बिहीबार अन्तिम दिन रहेका परीक्षा भने सञ्चालन भएको उनले जानकारी दिए। चैत मसान्तसम्म पठनपाठन बन्द गर्न निर्देशन दिइएको जोशीले बताए। यो बिदा आगामी वर्षे तथा हिउँदे बिदामा मिलान गरिने उनले जानकारी दिए।