जीप दुर्घटनामा ९ घाइते, दुईजनालाई हेलिकोप्टरबाट पोखरा लगियो
बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका -४ दग्नाममा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । गम्भीर घाइते दुईजनालाई हेलिकोप्टरबाट उपचारका लागि पोखरा पठाइएको छ ।
दग्नामबाट बेनी आउँदै गरेको ग २ च ५९८८ नम्बरको बोलेरो जीप सडकदेखि करिब १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार रोकेर राखिएको जीप अचानक गुडेर सडकबाट खस्दा दुर्घटना भएको हो । गम्भीर घाइते दग्नामकी ९ वर्षीया मिञ्जा पुन र ४९ वर्षीया भदेवी गर्बुजालाई एयर डाइनेस्टिको हेलीकोप्टरबाट मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको रघुगंगा गाउपालिकाका अध्यक्ष बहादुर भण्डारीले बताए ।
३६ वर्षीय सुकमाया गर्बुजा, ३० वर्षीय हमाया पुन, ७ वर्षीय युबी गर्बुजा, ५० वर्षीय मनबहादुर तिलिजा, ३ वर्षीय बर्षा शेरपुञ्जा, १३ वर्षीय तासिना शेरपुञ्जा र ५ वर्षीय अशिम गर्बुजाको बेनी अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रवप्रसाद शर्माले बताए ।
घाइते सबै दग्नामका हुन् । जीपका चालक रघुगंगा गाउँपालिका-५ झिँका पूर्णबहादुर शेरपुञ्जा भने सकुशल छन् । घाइतेका अनुसार न्युट्रल अवस्थामा रोकेर राखिएको गाडी ओरालोमा एक्कासी गुडेको थियो ।
स्थानीयबासी, जनप्रतिनिधि, सुरक्षाकर्मी, यातायात व्यवसायीले घाइतेको उद्धार गरेर बेनी ल्याएका थिए ।