कोरोना त्रास : केमिकल अभावमा डायलासिस सेवा बन्द, बिरामीको बिचल्ली
वीरगन्ज : कोरोना संक्रमणले अस्पतालमा बिरामीको उपचारमा प्रभाव पर्न थालेको छ। कोरोनाको संक्रमणको त्रास फैलँदै गएका बेला बजारमा केमिकल (रसायन) अभाव हुँदा वीरगन्जको नारायणी अस्पतालमा डायलासिस सेवा बन्द गरिएको छ।
नारायणी अस्पतालमा बुधबारदेखि डायलासिस सेवा बन्द हुँदा मिर्गौलाका बिरामी बिचल्लीमा परेका छन्। डायलासिसका लागि चाहिने केमिकल(रसायन) सकिएको र बजारमा पनि नपाइएको भन्दै अस्पतालले बुधबारदेखि सूचना टाँसेर अनिश्चितकालका लागि डायलासिस सेवा बन्द गरिदिएको हो।
नारायणी अस्पतालमा ४२ जना मिर्गाैलाका बिरामीले सातामा २ पटक गरी डायलासिस सेवा लिँदै आएका छन्। तर, बुधबारदेखि अस्पताल प्रशासनले सेवा बन्द गरिएको सूचना टाँसेपछि उनीहरूको बिचल्ली भएको छ।
वीरगन्जमा नारायणी अस्पतालसँगै वीरगन्ज हेल्थ केयर र नेसनल मेडिकल कलेज गरी ३ वटा स्वास्थ्य संस्थामा डायलासिस सेवा उपलब्ध छ। नारायणी अस्पतालमा डायलासिस सेवा निःशुल्क छ। तर, निजी अस्पतालले भने एक पटकको ३ देखि ५ हजार रुपैयाँ शुल्क लिने गरेका छन्।
दुवै निजी अस्पतालले डाइलेसिस सेवा दिइरहे पनि बजारमा केमिकल अभाव भएकाले मौज्दातको केमिकलले धेरै दिन थेग्न नसक्ने अवस्था देखिएको छ। नारायणी अस्पतालमा डायलासिस सेवा बन्द हुँदा बिरामीले अस्पताल प्रशासनमाथि आक्रोश पोखेका छन्।
‘प्राइभेट हस्पिटलले सेवा दिइरहेको छ तर त्यहाँ जाँदा एक पटकको ३ देखि ५ हजार लाग्छ, हामी गरिबसँग त्यति पैसा छैन’, बुधबार नारायणी अस्पतालमा भेटिएकी किशनावतीले भनिन्, ‘सरकारी अस्पतालले हाम्रो ज्यानसँग खेलवाड गरिरहेको छ। ’
किशनावतीसँगै डायलासिसका लागि बुधबार सीता देवी, पूजा गुप्ता, रुमैसा खातुन, फुनेसा खातुन, आयसा खातुन, पुजा कुमारी गरी १० जनाभन्दा बढी मिर्गाैलाका बिरामी अस्पताल पुगेका थिए। तर, डायलासिस कक्षको मूलढोकामै ताल्चा लागेको देखेपछि उनीहरू निरास भएर फर्किएका थिए। डायलासिस कक्षमा सेवा बन्द गरिएको सूचना पढेर बिहीबार फर्कंदै मिर्गाैलापीडितका आफन्त।
नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले भने डायलासिसका लागि आवश्यक एपार्ट र बिपार्ट नामक २ केमिकल सकिएकाले बुधबारदेखि डायलासिस सेवा बन्द गरिएको बताए। ‘अस्पतालको मौज्दात पनि बुधबारदेखि सकियो, बजारमा पाइएको छैन, उनले भने, ‘सम्झौता गरिएको आपूर्तिकर्तासँग पनि केमिकल छैन। ’
एपार्ट केमिकल उपत्पादन गर्ने काठमाडौंका उद्योग सञ्चालकको मोबाइलमा सम्पर्क गर्न खोज्दा स्विच अफ रहेको उनले सुनाए। बीपार्ट केमकिल भारतबाट आयात हुने भएकाले कोरोनाको संक्रमणले आयात हुन नसकेको उनको भनाइ छ।
वीरगन्जमा डायलासिस सेवा उपलब्ध रहेको निजी अस्पताल वीरगन्ज हेल्थ केयर हस्पिटलले पनि डायलासिसका लागि आवश्यक पर्ने एपार्ट र बिपार्ट केमिकलको बजारमा अभाव रहेको जनाएको छ। तर, हस्पिटलमा पहिलेदेखि नै केही जगेडामा रहेका कारण सेवा भने सुचारु रहेको अस्पतालका सञ्चालक डाक्टर अबुल हयसले जानकारी दिए।
जगेडामा केही केमिकल रहेकाले अहिले तत्कालका लागि सेवा सुचारु छ, उनले भने, ‘तर बजारमा भने पाइएको छैन भन्ने सुनेको छु, सायद कोरोनाको असर यसमा पनि परेको हुन सक्छ। ’
नेसनल मेडिकल कलेजले भने आफूसँग पर्याप्त परिमाणमा केमिकल मौज्दात रहेकाले सेवामा समस्या नपरेको जनाएको छ। मेडिकल कलेजका मेडिकल डाइरेक्टर डा. प्रमोद सर्राफले १० वटा हेमोडायलासिस मेसिनबाट दैनिक ३० जना बिरामीलाई सेवा प्रदान गरिरहेको बताए।