रोग प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठाइयो
बाजुरा : स्वामीकार्तिक गाउँपालिकामा १ मुक्तिकोट र २ पुडेनीमा अज्ञात रोगले दुईजना बालबालिकाको मृत्यु भएको समाचार पछि रोग प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । अज्ञात रोगले गाउँ नै थला परेको खबर आएपछि स्वामीकार्तिक खापर गाउँपालिका २ बर्खुका स्वास्थ्य चौकी इन्चार्ज बृर्ख विकको संयोजकत्वमा टोली पठाएको गाउँपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले जानकारी दिए।
स्वास्थ्यकर्मीलाई औषधिसहित पठाएको अध्यक्ष शाहीले बताए । स्वामीकार्तिक खापर गाउँपालिका २ पुडेनीका चतुरे थापाका ४ महिनाका छोरा खम्बीर थापा र वडा नम्बर १ मुक्तिकोटका भर्बले विककी ५ महिनाकी छोरी डम्मरा विकको मृत्यु भएको छ भने दर्जनौ बिरामी भएको समाचार संचार माध्यमा र गाउँपालिकालाई जाकारी आएपछि टोली खटाएको अध्यक्ष शाहीले बताएका छन् ।
रुघाखोकीका जस्तै लक्षणहरु देखा परेका छन् । रोगले वडा नम्बर २ त पुरै प्रभावित भएको छ । ज्वरो आउने टाउको दुख्ने, खोकी लाग्ने हात खुट्टालगायतका लक्षणहरु देखापरेको स्थानीय आनन्द बुढाले बताए ।
गाउँमा सबै बिरामी भएपछि दैनिक जीवनयापन अस्तव्यस्त रहेको बुढाले बताए । स्वामीकार्तिक खापर गाउँपालिका १ र २ सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्दछ। रोग प्रभावित क्षेत्र बाजुराको निकै दुर्गम ठाउँ हो।