कोरोना नियन्त्रणका लागि गोरखामा हनुमान चालिसा पाठ
गोरखा : विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि गोरखाको गोरक्षनाथ वैदिक गुरुकुलमा नित्य हनुमान चालिसा पाठ गर्ने गरिएको छ । कोरोना भाइरस वायुबाट फैलने भएकाले वायुपुत्र हनुमानलाई प्रसन्न पार्न दैनिक बिहान र साँझ हनुमान चालिसा पाठ गर्ने गरिएको प्राचार्य ईश्वरीप्रसाद उपाध्यायले जानकारी दिए ।
'कोरोना भाइरस वायुको माध्यमबाट चीनबाट इटली, अमेरिका हुँदै विश्वभर फैलिएको छ । त्यसैले वायुपुत्र हनुमानलाई प्रसन्न पारेर राष्ट्रशान्ति र विश्वशान्तिका लागि तीनदिनदेखि हामीले हनुमान चालिसा पाठ गर्न थालेका छौं,' उपाध्यायले भने, 'बिहान पौने नौबजे र साँझ साँढे पाँचबजे पनि पाठ गर्छौं ।' गुरुकुलकै एकजनालाई कर्ता बनाएर संकल्प लिइ पाठ गर्ने गरिएको उनले बताए ।
कोरोनाको त्रासमुक्त गराउन दुर्गासप्तशती चण्डी पनि पाठ गर्न थालिएको उनले बताए ।दुर्गासप्तशती चण्डी नवरात्रसम्म पाठ गर्ने र हनुमान चालीसा पाठचाहिँ कोरोना निवारण नभएसम्म गरिरहने गुरुकूलका अध्यक्ष पुरुषोत्तम अर्यालले जानकारी दिए ।