देशभरका अदालत दुई साता बन्द
काठमाडौं : कोरोना भाइरसको जोखिम कम गर्न देशभरका अदालत दुई साताका लागि बन्द गरिएको छ। शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालत आगामी चैत २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो।
बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाको सुनवाई दुई साता रोकिने सर्वोच्च अदालतले जनाएको छ । फुल कोर्ट बैठकका लागि सर्वोच्चले शुक्रबारका लागि तोकिएका पेशीहरु यसअघि नै स्थगित गरिसकेको थियो।
अदालतमा भीडभाड बढी हुने भएकाले कोरोनाको जोखिम हुने भन्दै कानुन व्यवसायीले पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए।
कोरोना संक्रमण त्रासपछि सरकारले सर्वसाधारणलाई २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ।