कोभिड– १९ कमजोर भाइरस !

कोभिड– १९ कमजोर भाइरस !

कोरोना भाइरस परिवारमा कोभिड– १९ सबैभन्दा कान्छो र अरू प्रजातिको तुलनामा कमजोर देखिन्छ। आगामी दिनमा यो भाइरसबारेमा थप जानकारी आउँदै गर्दा आजको मितिसम्मको तथ्यांकलाई आधार मान्ने हो भने विगतमा देखिएको विशेष गरेर कोरोनाका अरू प्रजाति जस्तै मर्स तथा सार्स कोरोना भाइरसभन्दा यसको मृत्युदर धेरै कम देखिन्छ। यद्यपि यसको प्रसारण गति तीव्र र संख्याको हिसाबमा धेरै हुन सक्छ।

हाल यसको मृत्युदर तीनदेखि चार प्रतिशतको हाराहारीमा देखिएको छ भने मर्स झन्डै ३० र सार्स १० प्रतिशतको हाराहारीमा छ। झन्डै ८० प्रतिशतजतिमा कोभिड– १९ को संक्रमण सामान्य हुने र ती व्यक्ति स्वास्थ्य केन्द्रसम्म नआउँदा तिनीहरूको गणना मृत्युदरको प्रतिशतमा जोडिएको छैन। तर यदि ती व्यक्ति पनि तथ्यांकमा समावेश गरिएर हेर्ने हो भने कोभिड– १९ को मृत्युदर अति न्यून हुने निश्चित छ। यसमा धेरै वैज्ञानिक पनि सहमत भएको देखिन्छ। यस मानेमा यो कोभिड– १९ प्रजाति विशेष गरेर अरू महामारीका रूपमा फैलिएको कोरोना परिवारका अरू प्रजातिभन्दा धेरै कम घातक भनिएको मान्न सकिन्छ।

चीनको वुहान सहरबाट फैलिएको अनुमान गरिएको यो भाइरस चीनबाहिर विश्वका झन्डै एक सय ८० देशमा फैलिइसकेको छ। कोभिड– १९ विभिन्न कारण ती देशमा पुगेको भए पनि ती सबै देशमा सो भाइरसले समुदायमा व्यापकता पाएको भने होइन। विश्वका हरेक देशका मानिस भने आफ्नो देशमा यसले भयावह स्थिति ल्याउँछ कि भनेर त्रासमा बाँचेको भने देखिन्छ, जुन नेपालमा पनि छ। यसो भन्दै गर्दा हामीले गएको तीन महिनामा यसले कति देशमा भयावह स्थिति ल्यायो भनेर संख्यामा हेर्ने गरेको देखिँदैन।

सञ्चारमाध्यमबाट आउने समाचारमा पनि संक्रमण फैलिएको देशको संख्या हेर्ने र महामारी फैलिएको देशका बारेमा बढी चासो दिनेर लिने गरेको पाहिन्छ तर यस्तो भयावह स्थिति कति देशमा थियो वा छ भनेर कसैले पनि सोचेको भने पाइँदैन। अहिलेसम्म चीन, कोरिया, इरान र इटालीमा यो भाइरसको अति प्रभाव परेको देखिन्छ। अर्को शब्दमा भन्नुपर्दा विश्वमा कोभिड– १९ देखिएको लगभग दुई प्रतिशत देशमा मात्र यसले भयावह महामारीको रूप लिएको देखिन्छ। अरू केही देशमा कोभिड– १९ सुस्तगतिमा रहेको वा नियन्त्रणमा राखेको देखिन्छ। यसको मतलब कोभिड– १९ पुगेको विश्वका हरेक देशमा यसले उत्तिकै प्रभाव वा मानवीय क्षति पार्न सक्ने क्षमता नराख्ने प्रस्टै देखिन्छ।

धेरैको मन–मस्तिष्कमा कोभिड– १९ को संक्रमण हुनेबित्तिकै मृत्यु हुन्छ भन्ने छाप व्याप्त छ। तर यो भाइरस आफ्नै परिवारमा अरू प्रजातिभन्दा कम घातक र उस्तै लक्षण तथा सर्ने प्रकृति भएको फ्लु भाइरसको तुलनामा कम सक्रिय हुने देखिएको छ।

हाल विश्वमा कोभिड– १९ र फ्लु भाइरस सँगसँगै घुमेको देखिन्छ। पंक्तिकारले कोभिड– १९ महामारीको उत्कर्षमा पुग्दा एक व्यक्ति चीन पुगेर फर्कनेबित्तिकै उच्च ज्वरो आउने, श्वासप्रश्वासमा कठिनाइ हुने र खोकी लाग्ने भएर अस्पताल आउँदा स्वास्थ्य परीक्षण र उपचार गरेको थियो। जोकोहीले पनि ती व्यक्तिमा कोभिड– १९ को संक्रमण भएको हुन सक्छ भनेर शंका गर्न सक्छन्। त्यो सोच गलत पनि होइन तर प्रयोगशाला परीक्षणबाट फ्लु ‘ए’ को संक्रमण देखियो। अर्थात् त्यो बेलामा चीनमा कोभिड– १९ सँगै फ्लुको भाइरस पनि घुमिरहेको प्रस्टै देखिन्थ्यो। नेपालमा पनि पंक्तिकारले सिन्धुपाल्चोकको एक गाउँमा लगभग पूरै रुघा, खोकी, ज्वरो देखिँदा धेरैले त्यसलाई कोभिड– १९ को संक्रमण होला भनेर शंकामा त्रासमा बसेको पाइएको थियो तर बिरामीको नमुना परीक्षण गर्दा हङकङ फ्लुको नामले चिनिने फ्लु ‘एच ३’ देखियो।

हामीले फ्लु वा रुघा–खोकी लाग्दा पनि सबैभन्दा पहिले कोभिड– १९ लाई नै बढी प्राथमिकता दिँदा रहेछांै भन्ने देखिन्छ। बितेका चार–पाँच महिनामा अमेरिकामा मात्र अनुमानित झन्डै १३ देखि २२ हजारको हाराहारीमा फ्लुबाट उत्पन्न जटिलताबाट त्यहाँका नागरिकको मृत्यु भएको अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ। तर कोभिड– १९ ले तीन महिना बितिसक्दा पनि आजको मितिसम्म विश्वभरिको मृत्यु हुनेको संख्या १० हजारभन्दा पनि कम भएको देखिन्छ। यसको अर्थ कोभिड– १९ को कारणले थप धेरै मानिसको मृत्यु होस् भन्न खोजिएको होइन तर फ्लु भाइरसको तुलनामा यो भाइरस धेरै कमजोर रहेछ भन्ने प्रस्टै देख्न सकिन्छ। यद्यपि यस संक्रमणको उतारचढाव आगामी दिनमा कस्तो हुन्छ भनेर हेर्न अरू केही हप्ता भने कुर्नुपर्ने नै हुन्छ।

फ्लु र कोभिड– १९ को सर्ने प्रकृति र लक्षण लगभग उस्तै भएकाले पनि यहाँ तुलना गर्न खोजिएको हो। फ्लुले विशेष गरेर बालबालिका, दीर्घरोगी तथा वृद्धवृद्धालाई बढी प्रभावित पारेको देखिन्छ। फ्लु भाइरसले युवालाई पनि उत्तिकै जोखिममा पारेको देखिन्छ तर कोभिड– १९ का बारेमा गरिएको अनुसन्धानको निष्कर्षले बालबालिकामा यसको प्रभाव लगभग नगन्य वा शून्यप्राय भएको देखाएको छ। अझ नवजात शिशुमा समेत कोभिड– १९ को संक्रमण देखिँदा पनि कडा अथवा मृत्यु नभएको देखिएको छ। यसले विशेष गरेर वृद्धवृद्धा यो पनि ७०–८० वर्षभन्दा माथिकालाई मात्र बढी प्रभावित गराएको देखिएको छ। यसरी सरसर्ति हेर्दा कोभिड– १९ को विशेष प्रभाव एउटा मात्र उमेर र समूहप्रति बढी र विशेष लक्ष्यित भएको देखिन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार फ्लु भाइरसले संक्रमण गरेको दिनदेखि लक्षण देखिने समयसम्मको अवधि कोभिड– १९ को भन्दा छोटो हुने र एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने समय अन्तराल पनि कोभिड– १९ भाइरसको भन्दा छिटो–छिटो हुने उल्लेख गरेको छ। यसबाट पनि कोभिड– १९ को एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गति फ्लु भाइरसको भन्दा कम भएको देखिन्छ। नेपालमा देखिएको पहिलो कोभिड– १९ को बिरामीबाट नजिकको सम्पर्कमा आएका अरू व्यक्तिमा सरेको देखिँदैन र छैन। तर फ्लुको संक्रमण विद्यालय र गुम्बा वा सार्वजनिक स्थलहरूमा कसैलाई देखे लगभग त्यहाँ भएका सम्पूर्ण व्यक्तिलाई पनि त्यही समयमा संक्रमण हुने गरेको प्रशस्त उदाहरण छन्। यसबाट पनि कोभिड– १९ को भाइरस सर्ने र सार्ने कुरामा पनि फ्लु भाइरसभन्दा कम क्षमता रहेछ भन्ने देखिन्छ।

चीनका अनुसन्धानकर्ताले कोभिड– १९ ले फेरि दोस्रोपटक संक्रमण गरेमा यसको लक्षण कडा नहुने वा रोग नै नदेखिने प्रारम्भिक तर सानो अनुसन्धानको नतिजा हालै सार्वजनिक गरेको थियो। यो अनुसन्धान बाँदरमा गरिएको थियो। यो अनुसन्धान प्रारम्भिक चरणमा रहेको भए पनि यसले एकपटक संक्रमण गरिसकेकालाई फेरि बिरामी बनाउन नसक्ने रहेछ भन्ने संकेत भने गरेको देखिन्छ। यद्यपि यस प्रकारको अनुसन्धान मानवमा गरेपछि अझ प्रस्ट हुनेछ। तर फ्लुले भने हरेक मौसममा आफ्नो जेनेटिक रूप परिवर्तन गर्दै (नेपालमा विशेषतः मार्च र अगस्त महिनामा) अत्यधिक मानिसलाई संक्रमण गरी मृत्युसमेत गराउने गर्छ। यसर्थ भोलि कोभिड– १९ विरुद्धको खोपको विकास भएको अवस्थामा सो खोपले अत्यधिक वा पूर्ण सुरक्षा दिन सक्ने देखिन्छ तर फ्लु भाइरसको खोप विकास भइसकेको भए पनि यसले पूर्णरूपमा सुरक्षा दिने गरेको दिँदैन।

कोभिड– १९ भाइरस, कोरोना परिवारको सबैभन्दा कान्छो र नयाँ प्रजाति भएकाले मानिसमा कूतुहलता र जिज्ञासा र धेरै जानकारी थाहा नभएकाले सँगसँगै त्रास सिर्जना पनि गरेको छ। धेरैको मनमस्तिष्कमा कोभिड– १९ को संक्रमण हुनेबित्तिकै मृत्यु हुन्छ भन्ने छाप व्याप्त भएको पाइन्छ। तर कोभिड– १९ भाइरस आफ्नै कोरोना भाइरस परिवारमा अरू प्रजातिभन्दा कम घातक र उस्तै लक्षण तथा सर्ने प्रकृति भएको फ्लु भाइरसको तुलनामा कम सक्रिय हुने देखिएको छ। त्यसो हो भने ‘के कोभिड– १९ भाइरस हामीले सोचेभन्दा कमजोर रहेनछ त ? ’

–डा. पुन क्लिनिकल रिसर्च युनिट शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालका संयोजक हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.