नेपालमै १२ ज्योतिर्लिंग

नेपालमै १२ ज्योतिर्लिंग

भनिन्छ– सत्ययुगमा ‘ज्योतिर्लिंग’ धपधपी बल्थे रे। यही जनविश्वासकै कारण बर्सेनि हजारौं नेपाली भक्तजन भारतका विभिन्न स्थान धाएर केदारनाथ, रामेश्वरम्, मल्लिकार्जुन, सोमनाथ आदिको दर्शन गर्न जाने क्रम आजपर्यन्त छ। भगवान् शिव (शंकर) का साक्षात् अवतार भएकाले ज्योतिर्लिंगको दर्शन र पूजाआजाले पुण्य प्राप्त हुने शास्त्रहरूमा उल्लेख छ। ज्योतिर्लिंगको महिमा प्रत्येक वर्ष वाचन गरिने स्वस्थानी व्रतकथाको अध्याय ११ मा पनि आउँछ। मूलतः ६४ ज्योतिर्लिंगको चर्चा गरिएको छ। यसमध्ये १२ लाई सबैभन्दा पवित्र र उत्तम ज्योतिर्लिंगका रूपमा लिइन्छ, पुजिन्छ।

१२ ज्योतिर्लिंगको दर्शन र पूजाआजा गर्दा तत्कालीन राजालगायतले पाएका फलबारे १२ वटै कथा पनि शास्त्रहरूमा वर्णन गरिएका छन्। यही जनविश्वासका साथ खासगरी नेपाली हिन्दु धर्मावलम्बी भक्तजन भारतका विभिन्न स्थानमा रहेका १२ ज्योतिर्लिंगको दर्शन र पूजाआजाका लागि धाइरहेकै छन्। यसका लागि सोमनाथ ज्योतिर्लिंग दशनार्थ भारतको गुजरात राज्य (सौराष्ट्र) को समुद्रतटमा छ भने मल्लिकार्जुन ज्योतिर्लिंग आन्ध्र प्रदेशको कृष्ण नदीतटमा छ। ओमकारेश्वर ज्योतिर्लिंग मध्य प्रदेशको नर्मदा तटमा छ भने वैद्यनाथ ज्योतिर्लिंग महाराष्ट्रको झारखण्डस्थित पराली गाउँमा छ। भीमाशंकर ज्योतिर्लिंग महाराष्ट्रमै छ भने रामेश्वरम् ज्योतिर्लिंग तामिलनाडूको सरयू नदीतटमा छ। केदारनाथ ज्योतिर्लिंग उत्तराखण्डको केदारनाथमा पर्छ भने घुस्मेश्वर ज्योतिर्लिंग महाराष्ट्रकै औरंगवाद सहरनजिक पर्छ। नागेश्वर ज्योतिर्लिंग गुजरातकै द्वारका पुरी (दारुकभनम) मा, त्रयम्बकेश्वर ज्योतिर्लिंग महाराष्ट्रको नासिकमा, विश्वनाथ ज्योतिर्लिंग उत्तरप्रदेशको बनारसमा र महाकालेश्वर ज्योतिर्लिंग मध्यप्रदेशको उज्जैनमा पर्छन्।

अब १२ ज्योतिर्लिंग नेपालमै

कल्पभेदअनुसार पुराणहरूमा १२ ज्योतिर्लिंग (द्वादश) ज्योतिर्लिंगको अस्तित्व विभिन्न स्थानमा रहेको पाइन्छ। शिवपुराण, वराहपुराण, स्कन्दपुराण र बृहत् विष्णुपुराणलगायतले १२ ज्योतिर्लिंग नेपालमा पनि रहेको प्रस्ट पारेको छ। यसअनुसार मल्लिकार्जुन ज्योतिर्लिंग नेपालको दार्चुलामा छ। ओमकारेश्वर ज्योतिर्लिंग खोटाङको रेवा नदीमा छ भने वैद्यनाथ ज्योतिर्लिंग अछामको साँफेबगर छ। भीमाशंकर ज्योतिर्लिंग दोलखाको कौशिकी नदीमा छ भने रामेश्वरम् ज्योतिर्लिंग महाकालीमा छ। केदारनाथ ज्योतिर्लिंग बैतडीको रावलाद्रीमा पर्छ भने धुष्मेश्वर ज्योतिर्लिंग रामेछापको जटापोखरीमा पर्छ। नागेश्वर ज्योतिर्लिंग दार्चुलाको नाघुमा, त्रयम्बकेश्वर ज्योतिर्लिंग सिन्धुलीको गौतमी नदीकिनारमा, विश्वनाथ महाकाली नदीतटमा र महाकालेश्वर ज्योतिर्लिंग ताप्लेजुङको तमोरी र पाँचथरको काबेली नदीको संगममा पर्छन्।

नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले स्कन्द पुराणको मानस खण्ड, हिमाद्री वराह पुराण र शिव पुराणको अध्ययन गरी यी १२ ज्योतिर्लिंग नेपालका विभिन्न १० जिल्लामा रहेको फेला पारेका हुन्। उनले शास्त्रीय प्रमाण फेला पारेपछि २०७२ सालदेखि २०७५ सालसम्म नेपालको पैदल यात्रा गरे। नेपाल आमाको मूर्ति स्थापनार्थ गरिएको पैदल यात्राका क्रममै उनले १२ ज्योतिर्लिंग तत्तत् स्थानमा रहेको फेला पनि पारेका हुन्। अधिकांश ज्योतिर्लिंगको औपचारिक रूपमा सुरुआत पनि गरेका छन्।

पुत्रशोकले सन्तप्त धुष्मा दिव्य हिमालयतर्पm गइन्। कौशिकी नदी पार गरी जटासरोवरबाट उत्पन्न जटागंगाका तटमा पुगेर भक्तिपूर्वक शिव आराधना गरिन्। धुष्माको आराधनाबाट उत्पन्न शिव नै धुष्मेश्वर ज्योतिर्लिंगका रूपमा प्रतिष्ठित भएको उल्लेख छ। कौशिकी पार गर्दै जाँदा रामेछापको जटापोखरीस्थित जटागंगा किनारमा धुष्मेश्वर ज्योतिर्लिंग उत्पन्न भएको प्रसंग छ।

कहाँ कस्तो अवस्थामा छन् ?

ताप्लेजुङ र पाँचथरको सीमामा पर्ने महाकालेश्वर ज्योतिर्लिंगका लागि मन्दिर बनाइएको मन्दिर व्यवस्थापन समितिका सहसचिव श्रीराम महतारा बताउँछन्। दुई रोपनीमा रहेको यसका लागि दुई रोपनी क्षेत्रफल थप्न लागिएको छ। साँझ–बिहान नियमित पूजा हुने यहाँ गाउँका सबैले पालैपालो पूजा गर्ने उनको भनाइ छ। यो काबलीबाट पाँच किलोमिटर दूरीमा छ। सिन्धुलीस्थित गौतमी नदीकिनारमा त्रयम्बकेश्वर ज्योतिर्लिंग छ, जुन यसअघि गाउँलेलाई थाहै थिएन। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शंकर मगर भन्छन्, ‘नजिकको तीर्थ नचिनेर हेलाँ भएको रहेछ। जगद्गुरु बालसन्तले चिनाएपछि सबै उत्साहित छौं।’ मन्दिरका नाममा २५ रोपनी जग्गा छ। पुजारी अर्जुन आलेमगरले बिहान–बेलुकी नित्य पूजा गरिरहेका छन्। बीपी राजमार्गबाट १५ मिनेट हिँडे पुगिन्छ।

केदारनाथ ज्योतिर्लिंग पुग्न बैतडीको बडियाबाट चार घन्टा पैदल हिँड्नुपर्ने अवस्था छ। परापूर्वकालदेखि पूजा गर्दै आएका चन्द्रबहादुर भाटका अनुसार, बजेट नहुँदा पूर्वाधार व्यवस्थित छैन। पूजारी, भण्डारी, धामी, भरणी आदि मन्दिरमा हुन्छन्। वर्षमा एकदुईपटक भव्य पूजा हुन्छ तर प्रायः भक्तजनको भीड हुन्छ। मल्लिकार्जुन ज्योतिर्लिंग महाकाली र चौलानी नदीका बीचमा छ। विक्रम धामीका अनुसार सुरुआतदेखि यहाँ आफ्नै परम्परा भए पनि रुद्राभिषेक आदि पूजाका लागि अढाई वर्षसम्म बुकिङ भइसकेको छ। ‘पहिले पूजारीबाहेकले हेर्न पाउँदैनथे। बलिको अन्त्य गर्न स्थानीय लागेकाले अहिले निषेधित छ। दिनहुँ पूजा हुन्छ तर पूर्वाधारमा लगानी आवश्यक छ’, उनी भन्छन्।

भारतले जसरी नै नेपालले पनि करोडौं लगानी गरेर भव्य पूर्वाधार बनाएमा मुलुकका विभिन्न भागमा रहेका ज्योतिर्लिंग दर्शन र पूजाआजाका लागि बर्सेनि हजारौं भक्तजन पुग्नेछन्। यसले धार्मिक पर्यटनको विकास हुनेछ।

रामेश्वरम् ज्योतिर्लिंग पौराणिककालदेखि स्थानीय देवताका रूपमा पुजिँदै आएको थियो। व्यवस्थापन समितिका अध्यक्ष कमलसिंह बोहोरा भन्छन्, ‘बालसन्तले ज्योतिर्लिंग भनेर प्राणप्रतिष्ठा गरेपछि घुइँचो लाग्न थालेको छ। डेढ वर्षमा २५ लाखजतिको श्रमदान गरेर स्थानीयले केही पूर्वाधार बनायौं।’ मन्दिरका लागि रामसिंह विष्टले एक बिघा जमिन दिएका छन्। विश्वनाथ ज्योतिर्लिंगमा गोपालदत्त भट्ट पूजारी छन्। मन्दिर बनाउन चन्दा संकलन गर्दै फाउन्डेसन तयार भइरहेको उनको भनाइ छ। ज्योतिर्लिंग भनेर चिनाएपछि भीड बढेको जानकारी दिँदै उनी थप्छन्, ‘गाडी आइपुग्ने बाटो खनेका छौं, राजमार्गबाट भीरको बाटो एक घन्टा आउनुपर्छ।’ यसअघि बनारसी देवता भनेर पूजिन्थ्यो। यहाँ लोहार जातिका पूजारी, धामी, चण्डारी छन्।

नागेश्वर ज्योतिर्लिंग दार्चुलाको नौगाड गाउँपालिका– १ को उत्तरी भेगमा छ। मन्दिर व्यवस्थापन समितिका सहसचिव नरेन्द्रबहादुर बमका अनुसार विगतमा परम्पराअनुसार धूप र दियो बाल्ने गरे पनि ज्योतिर्लिंग पत्ता लागेपछि नित्य पूजा हुन थालेको छ। शिवरात्री र माघे संक्रान्तिमा घुइँचो लाग्न थालेको उनको भनाइ छ। बाटोबाट तीन किलोमिटर पैदल हिँडेपछि २० बिघा फराकिलो उक्त मन्दिर पुगिन्छ। ‘जन श्रमदानबाट पाँच किलोमिटर सडक खन्ने काम भइरहेको छ। ज्योतिर्लिंग भनेर थाहा पाएपछि प्रदेश सरकारले १३ करोड रुपैयाँ छुट्ट्याएको छ’, उनी भन्छन्। मुस्ताङमा पर्ने भनिएको सोमनाथ ज्योतिर्लिंग शालग्राम पर्वतसँग जोडिएको छ।

अछाम साँफेबगरमा पत्ता लागेको वैद्यनाथ ज्योतिर्लिंगमा मन्दिर, आ श्रम, यज्ञमण्डप, गुरुकूल र गौशाला रहेको मन्दिरमा संलग्न पूर्वडीएसपी सुरजबहादुर शाहको भनाइ छ। मन्दिर व्यवस्थापन समितिका सल्लाहकार शान्तकृष्ण श्रेष्ठ दोलखास्थित भीमेश्वर नै भीमाशंकर ज्योतिर्लिंग भएको पुष्टि बालसन्तले गरेको जानकारी दिन्छन्। भारतले करोडौं लगानी गरेर भव्य पूर्वाधार बनाएका कारण त्यहाँका ज्योतिर्लिंग दर्शन र पूजाआजाका लागि बर्सेनि हजारौं नेपाली भक्तजन पुग्छन्। नेपालमा पनि अध्ययन–अनुसन्धान गरी शास्त्रीय आधारअनुसार तत्तत् ठाउँमा पुगी पत्ता लगाई जगद्गुरु बालसन्तले प्राणप्रतिष्ठासमेत जगाइसकेको अवस्थामा नेपाल सरकारले त्यहाँ पुग्ने सहज सडक र मन्दिर र परिसरमा भव्य भौतिक पूर्वाधार निर्माण गर्न सके धार्मिक पर्यटनको समेत विकास हुनेछ।

स्वस्थानी व्रतकथामा ज्योतिर्लिंग

ब्राह्मणपुर भन्ने स्थानमा ऋषिपत्नीहरू स्नान गर्न गएका थिए। महादेवलाई त्यही बाटो भएर जान लागेको देखेर आपसमा कुरा गरे, महादेव पत्नी नहुँदा बेहोसी भई हिँडेका छन्। हामी एक भएर उनकै पछि जाऊँ। ऋषिहरूले महादेवले हाम्रा पत्नी पछि लगाए भनेर आरोप लगाए। शिवले भने, ‘मैले ल्याएको होइन, किन आएछन् ? ’ ऋषिहरूले भने, ‘महादेव, हजुरको नांगो शरीर देखेर पत्नीहरू पछि लागेर आएका हुन्, हामी श्राप दिन्छौं– तिम्रो लिंग पतन भइजाओस्। श्राप दिनासाथ शिवले पनि आफ्नो लिंग पतन भएको अभिनय गरे। तर त्यस लिंगबाट भयानक ज्योतिर्लिंग उत्पत्ति भयो।

स्वस्थानी व्रतकथाको अध्याय ११ मा महादेवको ज्योतिर्लिंग उत्पत्ति भएको प्रसंग आउँछ। ब्रह्मादि देवताले ज्योतिर्लिंगले संसार छोप्न लाग्यो भनेपछि विष्णु तत्काल ज्योतिर्लिंग भएको ठाउँमा पुगे। विष्णुले शिव–शिव भन्दै भयानक लिंगलाई अंकमाल गरे। त्यो ज्योतिर्लिग सय करोड सूर्यसमान थियो। अंकमाल गर्नासाथ त्यो भयानक ज्योतिर्लिंग सामान्य अवस्थामा परिणत भयो। त्यसपछि उक्त लिंगबाट शिव प्रत्यक्ष भई ऋषिहरूसँग भने, ‘हे ऋषि हो, निरपराध मलाई तिमीहरूले श्राप दियौ। म पनि तिमेरुलाई श्राप दिन्छु। सुन, तिमेरुको पनि वाक्य अशुद्ध रहोस्। तिमेरुका स्त्री पनि एकै पुरुषसँग बस्न नसकून्। पतिव्रता नहोऊन्।’ यसपछि चित्तलाई दृढ बनाई उत्तर दिशामा गई लोभ, मोह, काम, क्रोध छाडी सम्पूर्ण इन्द्रिय बाँधी तीनवटै आँखालाई निराकार लिंगस्वरूपमा खिचेर ठूलो कष्टले महादेव तपस्या गर्न लागे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.