हिज्जेमा अड्केको राष्ट्रियता

हिज्जेमा अड्केको राष्ट्रियता

राणा प्रधानमन्त्री जुद्धसम्शेरले स्वेच्छाले गद्दी त्याग गरेर रिडीतर्फ प्रस्थान गरेपछि २००२ सालको मंसिरको दोस्रो साता पद्मसम्शेर नेपालको प्रधानमन्त्री बने। रामका भक्त, अघिल्ला प्रधानमन्त्रीहरूको तुलनामा ‘गरिब’ र समय-काल-परिस्थितिलाई पनि अलि बुझेका प्रधानमन्त्री पद्मसम्शेरले शासनसत्ताको बागडोर सम्हालेपछि बदलिँदो समयसँगै आफूलाई ढाल्न खोजे। अरू राणा शासकभन्दा निकै अगाडि बढेर उनले आफूलाई ‘जनताको सेवक’ समेत भन्न भ्याए।

उनी प्रधानमन्त्री हुँदाखेरि विश्वभर चलिरहेको स्वतन्त्रता संग्राम वा प्रजातन्त्रको पहिलो लहरले नेपालीहरूलाई पनि छोइसकेको थियो। हिजोसम्म राणाहरूको शिकंजाभित्र रहेका रैतीहरू बिस्तारै राणाशासनको विरोधमा समेत उभिन थालेका थिए। एकथरी त राजनीतिक दल नै गठन गरेर संघटित हुँदै थिए। तसर्थ, यदि राम्ररी ‘कन्टेन’ गरेर अगाडि नबढ्ने हो भने त्यसले राणा शासनलाई नै बढार्ने उनले देखेजस्तो देखिन्थ्यो। यद्यपि, उनका भाइ-भारदार उनको विश्लेषणलाई मान्दैनथे। उनीहरू ‘सुधार’का पक्षमा थिएनन्। पुरानै तौरतरिकाले शासन गर्न चाहन्थे। अन्ततः उनीहरूले पद्मसम्शेरलाई राजकाजबाट लखेटी छाडे पनि। पद्मसम्शेर २००५ सालमा भारत निर्वासित भए।

तर पद्मसम्शेर लखेटिनुअघि नेपालमा पहिले कहिल्यै नभएका केही परिवर्तन पनि भए। संविधानै बन्यो, भलै त्यो लागू हुन पाएन। त्यसबाहेक शिक्षा, मिडिया क्षेत्रमा पनि परिवर्तन भएको देख्न सकिन्छ। उनको पालामा रैतीले रेडियो राख्न पाउने भए। नेपालमा रेडियो स्टेसनको स्थापना भयो।

अनि सरकारी मुखपत्र ‘गोरखापत्र’ले बिस्तारै तर ठूलै फड्को मारेको गोरखापत्रका पानाहरू अध्ययन गर्दा देख्न सकिन्छ। यो पत्रिका साप्ताहिकबाट अर्धसाप्ताहिक हुन्छ। यसको आकार बढ्छ। माग बढ्छ। अझ महत्वपूर्ण कुरा त यसमा पाठकहरूको सहभागिता (महिलाको समेत !) बढ्छ। ग्राहक बढ्छन्। पाठकपत्रको संख्या ह्वात्तै बढ्छ। थरीथरीका लेख र विविध विषयका सम्पादकीय पनि छापिन थाल्छन्।

 यसै क्रममा २००३ सालको साउन ४ गते गोरखापत्रमा एउटा छोटो सम्पादकीय छापिएको थियो, एउटा शब्द-बैङ्क÷ब्याङ्क-को हिज्जेउपर। ‘बैंक कि बङ्क ? ’ शीर्षकको यो सम्पादकीयले नेपालमा पनि चलिआएको हिज्जेलाई प्रश्न गरेको छ। र, यो हिज्जेको सम्बन्ध नेपाली राष्ट्रियता र स्वाधीनतासँग पनि गाँसिएको थियो।

वि.सं. १९९४ मा मुलुकको पहिलो र एक मात्र ‘नेपाल बैंक’ खोलिएको थियो। सो ब्याङ्क खुलेको करिब एक दशक भैसकेको अवस्थामा र सोही हिज्जे (बैंक) प्रचलनमा रहिरहेको अवस्थामा सम्पादकले किन यो विषय उठाएका हन्, प्रष्ट हुँदैन। ‘गोरखापत्र’ले आफ्नो सम्पादकीयमा नेपालीको जिभ्रोको हवाला दिँदै कि त बङ्क हुनुपर्ने कि अंग्रेजी उच्चारण सरह ब्याङ्क हुनुपर्ने तर बैंक कसरी हुन गयो भनेर प्रश्न सोधेको छ। उसले बैंकलाई ‘बंक’ भन्नु उपयुक्त हुने भनेको छ- खास गरी बैंकको ढोकामा खोपिएको÷बनाइएको हिज्जेलाई परिवर्तन गर्दा बंक बनाउन सजिलो÷किफायती (ऐकार मेटिदिए पुग्ने) हुने कारणले।

यो सम्पादकीयको अन्तमा उसले छुस्स घुसाएको एक वाक्य ‘नत्र ता यो बैंक शब्दले ‘दमकल’ शब्दको सौता ‘वारुणयन्त्रालय’ले भन्दा वर्ता पिर्‍यो’ले ऊ भाषाको जबर्जस्ती ‘संस्कृतीकरण’को विरोधी रहेको पनि देखाउँछ। दमकल चार अक्षरको सजिलो शब्द थियो। उसको ‘सौता’ बनेर आएको वारुणयन्त्रालय लामो र कठीन।

यो सम्पादकीयबाट अर्को एउटा कुरा पनि खुल्न आउँछ। त्यो हो- अहिले जेलाई हामी ‘साइन बोर्ड’ भन्छौं, त्यसलाई ऊ वेला ‘परिचय पाटि’ भनिने रहेछ। अझ अर्को महत्वपूर्ण तथ्य चाहिँ, नेपाली भाषा प्रकाशिनी समितिले भाषिक शुद्धताका लागि अभियानै छेडेको सो सम्पादकीयले संकेत गर्छ। सम्पादकीयमा लेखिएका वाक्य-‘ने.भा.प्र. समितिले परिचय पाटिहरूमा नियन्त्रण गरेको छ। यो नियन्त्रण केहीकाल पछि नेपालमा भएभरका परिचय पाटिहरूको भाषालाई सुधारिसक्नका निम्ति नै होला भन्न सकिन्छ’-ले समितिले शहरका ‘परिचय पाटिहरू’ नियन्त्रणमा लिँदै तिनलाई शुद्ध तुल्याउन लागेकोतर्फ इंगित गर्छ। यद्यपि, कम्तिमा नेपाल बैंकका हकमा यो कारगर भएको देखिन्न, जुन अर्को रोचक तथ्य हो।

 यो सम्पादकीय छापिएको केही महिनापछि केशवराज ‘पिंडाली’-जो पछि गएर ख्यातनाम साहित्यकार र पत्रकार बने-ले लेखेको पाठकपत्र गोरखापत्रमा छापिन्छ। छिमेकी मुलुकमा बङ्क उहिल्यैदेखि चलेकाले पिंडालीले सोही प्रयोग गर्न उपयुक्त हुने मतो जाहेर गरेका छन्। र, बैंक पनि ठीकै हुने भनेका छन्। तर, उनी ब्याङ्कको भने घोर विरुद्धमा उभिएका छन्-उनका नजरमा ब्याङ्क भन्नु हास्यास्पद हुने रहेछ। पिंडालीको यो पत्र चाखलाग्दो भैकन पनि अलि अमिल्दो हो कि जस्तो देखिन्छ। पिंडालीले यहाँ हिन्दीमा बङ्क धेरै चलेको भने पनि खासमा भारतमा बैंक नै ज्यादा प्रयुक्त हुँदै आएको हो, जुन कुराको पुष्टि पुष्करसम्शेरको ‘रिज्वाइन्डर’ले पनि गर्छ।

 पिंडालीको पत्र छापिएको दश दिनपछि नै नेपाली भाषा प्रकाशिनी समिति तथा नेपाली भाषानुवाद परिषद्का समेत प्रमुख रहेका पुष्करसम्शेरको पत्र छापिएको थियो गोरखापत्रमा। पुष्करसम्शेरले आफू÷समितलाई भने प्रष्ट रूपमा ‘ब्याङ्क’को पक्षमा उभ्याएका छन्। यो ‘ब्याङ्क’को पक्षको उनको उभ्याइलाई उनले नेपाली राष्ट्रियताको पक्षको उभ्याइको रूपमा प्रस्तुत गर्न खोजेका छन्। उनको पत्रको शीर्षकले नै विशेष आग्रह गर्छ- ‘हामी नेपालीले ‘ब्याङ्क’ नै लेख्नुपर्छ’।

शब्दको हिज्जेसँग पुष्करसम्शेरले जुन राष्ट्रियतालाई गाँसेका छन् राष्ट्रवादका अध्येताका लागि सो निकै चाखलाग्दो कुरा हो। उनको पत्रको पहिलो वाक्य-‘हामी नेपाली’ हौं भन्ने कुरा बिर्सन लाग्यो कि भन्ने डरले यो चिठी लेखेको हुँ-ले धेरै कुरा भन्छ। यदि यो हिज्जेको शुद्धतासँग वा यसको अन्य विदेशी भाषासँगको सम्बन्धको कुरासित नेपाली राष्ट्रियता गाँसिएको उनले नदेख्ता हुन् त सम्भवतः उनले पाठकपत्र पठाउँदैनथे कि।

नेपालको पहिलो अंग्रेजी-नेपाली शब्दकोष निर्माणको नेतृत्व गरेका पुष्करले बङ्क र बैंकको विपक्षमा दिएका दलिल बलिया छन्, मननीय छन्। यद्यपि, यी ‘शक्तिशाली’ पदाधिकारीले दिएका सुझाव पनि किन कारगर हुन सकेन, त्यो चाहिँ अनुसन्धेय छ।

 विदेशी वा अन्य भाषाबाट सापटी लिएका शब्द (आगन्तुक) का हिज्जे लेख्दा अहिले पनि हामीले पछ्याउनुपर्ने बाटो पुष्करसम्शेरले देखाएकै हो- यद्यपि, ‘राष्ट्रियता’वाला कारणले चाहिँ होइन। तर, हाम्रा भाषाका मठाधीशहरूले जबर्जस्ती गरेर सबै आगन्तुकलाई ह्रस्व र पातलो ‘स’ बनाउने नियम लादेर भाषा र हिज्जेको हुर्मत लिइसके। त्यसैले, अहिले हामीकहाँ आगन्तुक शब्दको हिज्जेमा ठूलो बेथिति कायमै छ।

बेथितिबारेको टिप्पणीलाई यहीँ टुंग्याएर अहिले भने गोरखापत्रमा छापिएका ती तीनै वटा सामग्री पढौं। र, गमौं किन पुष्करसम्शेरले यो हिज्जेलाई नेपाली स्वाधीनता र राष्ट्रियतासँग जोडे। गोरखापत्रका तीन वटै सामग्रीको हिज्जे सकेसम्म जस्ताको तस्तै उतार गरिएको छ। नबुझिने ठाउँमा कोष्ठकभित्र प्रश्नवाचक चिह्न (? ) राखिएको छ। साथै, ती सामग्रीको छायाप्रति पनि दिइएको छ।

(पराजुली मार्टिन चौतारीमा आबद्ध ऐतिहासिक समाजशास्त्री हुन्)

 बैंक कि बङ्क ?

केही वर्षदेखि यता ‘बैंक’ शब्दले नेपाली भाषा भाषीहरूको गिदिमा बिजार(? )लाग्दो धक्का मार्न लागिरहेछ। कुनै केटाकेटी ले च्याँ च्याँ पारेर थाल घोटे जस्तै। पाश्चात्य शब्दलाइ जस्ताको तस्तै दोहर्‍याउने हो भने --- ब्याङ्क र नेपाली जिभ्रोको मान राख्ने हो भने बंक हुनुपर्ने तर ‘बैंक’ कसरी भयो कुन्नि ! ने.भा.प्र. समितिले परिचय पाटिहरूमा नियन्त्रण गरेको छ। यो नियन्त्रण केहीकाल पछि नेपालमा भएभरका परिचय पाटिहरूको भाषालाई सुधारिसक्नका निम्ति नै होला भन्न सकिन्छ, तर यो भित्तामा लेखिएको ‘बैंक’ गारो नै नभत्कीकन कसरी सुध्रला वा समितिका नियन्त्रणमा पुग्ला र ? बरू एउटा अर्को उपाय छ। बंक का ढोका अगाडिको अक्षर बनाउन धेरै खर्च लाग्दैन। बाँकी छापिएका फारामहरूलाई सिद्धिएपछि सुधार्दै जान पनि सकिन्छ। नत्र ता यो बैंक शब्दले ‘दमकल’ शब्दको सौता ‘वारुणयन्त्रालय’ले भन्दा वर्ता पिर्‍यो।

(गोरखापत्र, २००३ साउन ४, पृ. २)

बङ्क कि बैङ्क

सम्पादकजी ! गो. प. को ‘बङ्क,’ ‘ब्याङ्क’ र ‘बैङ्क’ बारेमा सम्पादकीय टिप्पणी पढें। ‘बङ्क’ शब्द हिन्दीमा उहिल्यै चलिसकेको छ, नेपालीले पनि लिएमा धेरै सुविस्ता हुन जान्छ। उच्चारण र लेखाइलाई लिएर विवाद गर्नु त आफ्नो खिसी ? गर्नु हो। धेरै जसो अङ्ग्रेजी शब्दको ठीक उच्चारण देवनागरीका अक्षरद्वारा गराइन सकिंदैन, त्यस्तै हिन्दीका शब्द अङ्ग्रेजीबाट नसकिने पनि छन्। अङ्ग्रेजी शब्द नै बहिष्कार गर्ने हो भने ‘द्रव्य रक्षनिय’ वा यस्तै केही लेख्ने भन्ने गरिदिए भयो। ह्वैन भने विकृत रूप ‘बङ्क’ उही लिपिको अर्को उन्नत भाषाले लिएको लिनुमा श्रेय छ। तर ‘बैङ्क’ केही अंशमा ठीक हुन आएमा पनि ‘ब्याङ्क’ लाई समर्थन गर्नु त हास्यास्पद हुन आउँछ।

- केशवराज ‘पिंडाली’। (गोरखापत्र, २००३ कात्तिक २०, पृ. २)

हामी नेपालीले ‘ब्याङ्क’ नै लेख्नुपर्छ

संपादकजी ! ‘हामी नेपाली’ हौं भन्ने कुरा बिर्सन लाग्यो कि भन्ने डरले यो चिठी लेखेको हुँ।

अंग्रेजी र फ्रेञ्चको उही लिपि छ एउटै वस्तुलाई भने उही अक्षरविन्यास भएको शब्द (जस्तो तबदभि) को अंग्रेजीमा बेग्लै फ्रेञ्चमा बेग्लै उच्चारण हुन्छ। त्यस्तै उही लिपि भए तापनि हिन्दी र नेपालीको उच्चारणमा कैयन वैषम्य पाइन्छन्। अहिले आवश्यक परेको ‘ऐकार’को उच्चारणको बारे मात्र विचार गरौं --

नेपाली -- त्यसले चोर्‍यो, है !

हिन्दी -- उसने मुझे दिया है।

यी दुई ‘है’ को उच्चारणमा कत्रो विभिन्नता छ, हामीले बिर्सन हुँदैन। पहिलो ‘है’ को उच्चारण ‘है’ हो। दोस्रो ‘है’ को उच्चारण ‘ह्य’ को नजीक पुग्दछ। त्यस्तै हिन्दी कैसा, पैसा इत्यादिको उच्चारण क्यसा, पयसा हिन्दी बुझ्नेलाई विदितै छ। तर हामी नेपाली भने संस्कृतकै पछि लागी शुद्ध ‘ऐ’ नै भन्दछौं।

अब अंग्रेजी शब्द (mबल, अबत, दबलप) को उच्चारण हिन्दी भाषामा मैन, कैट, बैङ्क लेख्नु हिन्दीको उच्चारणको हिसावले सर्वथा उचित हो, किनभने त्यसरी हिन्दी नकल अंग्रेजी उच्चारणको निकै नजीक पुग्ने देखिन्छ। तर हामी नेपालीले ‘मैन’ को उच्चारण मैन (माहुरीको मैन जस्तै) गर्न मात्र जानेका छौं। त्यसैले अंग्रेजी उच्चारण उतार्न हिन्दी अक्षरविन्यास जति नजीक पुग्न खोज्छ त्यही अक्षरविन्यास अपनाउँदा हामी त्यति पर भाग्न खोज्दछौं भन्ने स्पष्ट थाहा हुन्छ। यस्ता अंग्रेजी शब्दका ठीक उच्चारण देवनागरी अक्षरबाट उतार्न सकिन्न तापनि हिन्दीले गरे जस्तो नजीक पुग्न कोशिश गर्नु भूल होला र ? हामी ‘ऐ’ लाई ‘ऐ’ नै उच्चार्ने नेपालीले मैन, कैट, बैङ्क भनी हाँसो गराउनुभन्दा म्यान, क्याट, ब्याङ्क भनी हिन्दीमा जस्तै यथार्थको(? ) नजीक पुग्न खोजेकामा किन हास्यास्पद हुने ? हो, अर्को उन्नत भाषाको देखासिकी गर्नु श्रेय छ तर अभिप्राय (यहाँ नजीक पुग्ने) बुझेर मात्र नक्कल गर्नु उचित होला, नत्र अंग्रेजीको देखासिकी गरी बेलायतलाई ‘होम’ भने जस्तो हुन्छ। उन्नत भाषा (अर्थात् हिन्दी) को अक्षरविन्यास मात्र टिपी? उच्चारणलाई छाड्दा झन् हास्यास्पद हुन आउँछ कि ? हामीले हिन्दी उच्चारण टिपी भोलिदेखि ‘मकै’ ‘खै’ लाई ‘मक्य ख्य ? ’ उच्चार्नु वा हिन्दी अक्षरविन्यास अपनाई ‘मालताल प्याक गर’ (भकुण्डोको खेलमा) ब्याक बस्छु’ को सट्टा ‘मालताल पैक गर बैक बस्छु’ लेख्न थाल्नु श्रेय होइन। अंग्रेजी पद लिंदा हिन्दीलाई गुरु(? ) तुल्याई उसको चोरऔंला समातेर हामीले उक्लन पर्दैन। त्यसैले हामी नेपालीले त ‘ब्याङ्क’ नै लेख्नुपर्छ। (तपाईंको चिठी छोटकरी होओस् भन्ने उक्तिलाई लङ्घन नगर्नालाई भन्दछु--) शङ्का हुने महानुभावबाट ने.भा.प्र. समितिको ‘अंग्रेजी नेपाली कोष’ मा भूमिकाको पृष्ठ ‘त, थ,’ एकपल्ट पढिदिने कष्ट होओस्।

‘बैङ्क’ चाहिं अंग्रेजी शब्दको हिन्दी नक्कल ‘बैङ्क’ को हिन्दी विकृत रूप हो। त्यो रूप हामीले निहुरेर सोहोर्नु पर्ने आवश्यक देखिन्छ भने त्यसलाई ‘भाको, गाको, रेछ, रैछ, घराँ, कताट’ इत्यादिको वर्गमा स्थान दिए हुने हो।

--पुष्करशमशेर   (ने.भा.प्र. समिति तथा ने. भाषानुवाद परिषद्)

(गोरखापत्र, २००३ कात्तिक ३०, पृ. २)
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.