कोरोना नभित्रियोस् भन्दै कञ्चनपुरमा यज्ञ
महेन्द्रनगर : विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस नेपालमा नभित्रियोस भनेर कञ्चनपुरको शिवधाममा यज्ञको आयोजना गरिएको छ ।
नेपालमा कोरोनाको संक्रमण नहोस् भनेर शिवधाम क्षेत्र विकास समिति र अन्य धार्मीक संघ संस्थाले पशुपतिनाथको श्रीविग्रहमा महारुद्राभिषेक तथा महापुजाको आयोजना गरेको शिवधाम विकास समितिका अध्यक्ष हेमविक्रम थापाले बताए ।
'विश्वमा कोरोना भाइसरको त्रास फैलिएको छ', उनले भने, 'हाम्रो देशमा सुख शान्ती र मानवीयक्षति नहोस् भनेर पशुपतिनाथको रुद्राभिषेकको महापुजा आयोजना गरेका हौँ ।' उनले नेपालमा कोरोना भाइसरको संक्रमण नहुने बताए । सबैले आ–आफ्नो क्षेत्रमा भगवानको पुजा गरे देशमा कुनै पनि संकट नआउने उनको भनाइ थियो ।
त्यस्तै गुरुभूमि फाउन्डेशनका अध्यक्ष सुशील पाण्डेयले विकसित मुलुकमा जस्तो नेपालमा उपचारका लागि व्यवस्था नभएको बताए ।'हामीले कोरोना संक्रमणबाट मानवीय क्षति नहोस् भनेर पशुपतिनाथलाई सम्झिन पुगेका हौं।' उनले भने, 'सरकारले दिएको निर्देशन र डक्टरको सुझाव अनुसार हामीले सर्तकता अपनाउने छौँ तर धार्मीक आस्थाका र मानवजातिको कल्याणको लागि महापुजाको आयोजना गरिका हौँ ।'
शिवधाम क्षेत्र विकास समितिले २५ जनाभन्दा बढी भीडभाड हुन नदिन आलोपाले गरी महापूजामा सरिक हुने व्यवस्था मिलाएको छ ।