कोरोनाबारे गलत सूचना दिनेमाथि प्रहरीको निगरानी : एक पक्राउ
काठमाडौं : सामाजिक सञ्जालमा कोरोनाबारे गलत सूचना दिनेमाथि निगरानी बढाएको छ। काठमाडौंको कुनै अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिइसकेको भन्दै केहीले फेसबुक म्यासेन्जरमा सन्देश पठाएको सम्बन्धमा अनुसन्धान थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी केन्द्रीय प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीले केही फेसबुक पेज र फेसबुक गु्रपमासमेत भ्रम फैलाउने सूचना सम्प्रेषणका सम्बन्धमा अनुसन्धान भइरहेको बताए।
‘यस किसिमका भ्रामक जानकारी र अफवाह फैलाउने कार्यप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ, ‘क्षेत्रीले भने,‘भ्रम फैलाएर जनतामा त्रास फैलाउने व्यक्ति वा समूहको पहिचानका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।’
भ्रामक सूचना सम्प्रेषण गर्दै काठमाडौंको नर्भिक, टेकु अस्पताललगायत अन्य अस्पतालमा समेत कोरोनाको बिरामी उपचार भइरहेको र मृत्यु नै भएको अफवाह फैलाइएको थियो। तर अस्पताल प्रशासनले भने आफ्नो अस्पतालमा कुनै पनि कारोना संक्रमणका बिरामीको उपचार नभएकोविज्ञप्ति मार्फत जानकारी गराएको छ।
डीआइजी क्षेत्रीका अनुसार मुलुकी अपराधसंहिता अनुसार यसरी झुट्ठा अफबाह फैलाए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्छ। सो सजायका अतिरिक्त विद्युतीय माध्यम प्रयोग भएको हुँदा थप सजायसमेत हुनेछ।
मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद-२ मा ‘सार्वजनिक शान्तिविरुद्धका कसूर’ मा भएको प्रावधानले झुट्ठा अफबाह फैलाउन नहुने उल्लेख गरेको छ।
परिच्छेदमा भनिएको छ, ‘कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हुलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन।’
डीआइजी क्षेत्रीले विपद्का समयमा भ्रम फैलाउनेमाथि गम्भीर ढंगले अनुसन्धान थालिएको बताए। उनका अुनसार साइबर ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरोले छुट्टाछुट्टै ढंगले यस्ता भ्रामक सूचनामाथि निगरानी गरेर अनुसन्धान थालेको छ। प्रहरीले सीपाडोलबाट विवेक थापालाई पक्राउ गरिसकेको छ । उनीमाथि अनुसन्धान सुरु भएको डीआईजी क्षेत्रीले जानकारी दिए ।