नारायणी अस्पतालमा रोकिएको डायलासिस सेवा सुचारु
वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा केमिकलको अभावमा २ दिन बन्द रहेको डायलासिस सेवा शुक्रबारदेखि सुचारु भएको छ । डायलासिसका लागि चाहिने केमिकल सकिएका कारण नारायणी अस्पतालमा चैत ५ देखि डायलासिस सेवा बन्द गरिएको थियो ।
काठमाडौंबाट केमिकल मगाएर शुक्रबार दिउँसोदेखि डायलासिस सेवा सुचारु गरिएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
डायलासिस गर्न चाहिने एपार्ट र बिपार्ट नामक केमिकल अस्पतालमा सकिएपछि अस्पतालले सुचना नै निकालेर चैत ५ गतेदेखि अनिश्चितकालका लागि डायलासिस सेवा बन्द गरेको थियो ।
सेवा बन्द हुँदा अस्पतालमा नियमित डायलासिस गराउँदै आएका बिरामी र उनका आफन्तले बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारीलाई भेटेर गुनासो गरेका थिए । अस्पतालले काठमाडौंबाट केमिकल मगाएर शुक्रबारदेखि सेवा सुचारु गरेको अस्पतालका मेसु उपाध्यायले बताए ।
'काठमाडौंबाट तत्कालका लागि २ महिना पुग्ने गरी केमिकल मगाएर सेवा सुचारु गरेका छौँ', उनले भने ।