हेटौंडामा सय आइसोलेटेड बेड
बागमती प्रदेश ब्युरो : चीन र भारतसँग सीमा जोडिएका बागमती प्रदेशका विभिन्न जिल्लामा कोरोना भाइरस संक्रमण रोक्न उच्च सतर्कता अपनाउन थालिएको छ। जिल्ला र स्थानीय तहले विभिन्न निर्णय गर्दै पूर्वतयारीको कामलाई तीव्रता दिएका छन्।
बागमती प्रदेशको राजधानी हेटौंडा अस्पतालमा सय शैय्याको आइसोलेटेड बेड बनाउन थालिएकोे अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए। ‘ठाउँ तयार भयो, उपचार कक्षका लागि आवश्यक सामग्री आउँदै छ’, उनले भने। अस्पतालको निर्माणाधीन भवनमा आइसोलेटेड बेड निर्माण गरिने पौडेलले बताए।
कोभिड–१९को जोखिमलाई ध्यान दिँदै हेटौंडा अस्पतालले ज्वरो आएका बिरामी र ज्वरो नआएका बिरामीलाई आइतबारदेखि छुट्टाछुट्टै समयमा उपचार गर्ने व्यवस्था मिलाएको मेडिकल सुपरिन्टेन्डेन्ट प्रवीण श्रेष्ठले बताए।
प्रदेश सरकारको निर्णयअनुसार हेटौंडामा पाँच सय शैय्याको क्वारेन्टाइन (निगरानीकक्ष) निर्माण स्थलको शनिबार सरसफाइ गरिएको छ। प्रदेशस्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबार बसेको बैठकले हेटौंडा अस्पतालसहित, हेटौंडा एकेडेमी, वन विज्ञान अध्ययन संस्थान, गौरीटार खेलकुद एकेडेमी र सशस्त्र प्रहरीको हेटौंडा क्याम्पमा निगरानी कक्ष निर्माण गर्ने निर्णय गरेको थियो।
प्रदेश सरकारले आफ्नो क्षेत्रमा पर्ने सबै १३ जिल्ला माकोरोनाविरुद्ध लड्ने रणनीति तयार पारिसकेकोे बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए।
आइसोलेसनमा राखिएका बिरामीमा कोरोना देखिएन
उच्च ज्वरो आएपछि तीन दिनअघि सिन्धुली अस्पतालको आइसोलेसनमा राखिएका बिरामीमा कोभिड–१९ नरहेको पुष्टि भएको छ। १०४ डिग्री ज्वरो आई निमोनियासमेत भएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्ध बिरामीमा कोभिड–१९ नरहेको पुष्टि भएको सिन्धुली अस्पतालका प्रवक्ता डा. प्रसन्न राजभण्डारीले बताए। ‘उनको टेकु अस्पतालमा नमुना परीक्षण गराउँदा भाइरल इन्फ्लुएन्जा मात्र रहेको पाइएको छ’, डा. राजभण्डारीले भने।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको सरोकारवालाहरूको सर्वपक्षीय बैठकले यहाँको भूसंरक्षण कार्यालयको भवनलाई क्वारेन्टाइन स्थल तोकेको छ। सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले उक्त भवनमा २० देखि ३० जनासम्म राख्न सकिने गरी क्वारेन्टाइन निर्माण गर्ने बताए।
प्रहरीद्वारा कार्यालयमै मास्क उत्पादन
जिल्ला प्रहरी कार्यालय नुवाकोटले आफ्नै कार्यालयभित्र मास्क उत्पादन थालेको छ। कोभिड–१९ कोरोना भाइरसबाट प्रहरी कर्मचारीलाई जोगाउनुका साथै सचेतना फैलाउन मास्क उत्पादन सुरु गरिएको प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। बजारमा मास्क अभाव भएपछि आफैंले उत्पादन सुरु गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
सचेत गराउँदै स्थानीय सरकार
कोरोना संक्रमण आफ्नो क्षेत्रमा आउन नदिन जिल्लाका स्थानीय तहले सचेतना अभियानलाई तीव्र बनाएका छन्। कोरोना भाइरस कोभिड–१९ बाट बच्न त्रसित नभई सचेत भएर लाग्न सर्वसाधारणलाई सचेत बनाउने अभियानमा स्थानीय सरकार लागेका हुन्।
आफ्नो क्षेत्रमा उपलब्ध सञ्चारमाध्यम र अन्य माध्यमको प्रयोग गरी कोभिड १९ विरुद्ध जनचेतना फैलाउन थालेको इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङले बताए। तामाङका अनुसार कोरोनाबाट बच्ने उपायको विषयमा पर्चा छापेर टोल टोलमा स्वयंसेवक परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटमा मास्क उत्पादन गरिँदै। तस्बिर : देवचन्द्र भट्ट
संक्रमण भित्रीहाले सहज उपचारका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले आइसोलेसन वार्डको व्यवस्था गर्ने स्थान चयन गरेको छ। सकेसम्म भाइरस भित्रिन नदिन सचेतना अभियान सञ्चालन गरेको र केही गरी संक्रमण सुरु भइहाले सहज उपचारका लागि स्थान र स्वास्थ्यकर्मीलाई तयारी हालतमा राखिएको नगर प्रमुख अमानसिं तामाङले जानकारी दिए। हेलम्बु गाउँपालिकाले कोरोनाबाट बच्ने उपायको प्रचार प्रसारसँगै शंकास्पद व्यक्ति भेटिएमा सहज रूपमा राजधानी लैजाने तयारी गरेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।
जिल्लामा भएका सबै एम्बुलेन्सलाई उपचारका लागि तयारी हालतमा राखिएको एम्बुलेन्स सञ्चालन जिल्लास्तरीय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए। भाइरस आतंकका कारण बजारमा कृत्रिम अभाव सिर्जना गर्न नदिन जिल्लाका प्रमुख बजारमा अनुगमन थालनी गरिएको उनले बताए।
बनेपा र धुलिखेलमा आइसोलेसन र क्वारेन्टाइन
काभ्रे जिल्लाको धुलिखेल अस्पताल र बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा आइसोलेसन कक्ष स्थापन गरिएको छ। बनेपास्थित शिर मेमोरियल अस्पतालले ५ वटा बेडसहितको आइसोलेसन कक्ष निर्माण गरेको हो।
काभ्रेको धुलिखेलमा रहेको विष्णु दल गणका सेनाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइन निर्माण गरेको छ। काभ्रेका ६ नगरपालिका र ७ गाउँपालिकाले कोरोना संक्रमण रोक्न पूर्व तयारीको काममा जुटेका छन्। जिल्लाको मुख्य बजार क्षेत्रमा रहेको बनेपा, धुलिखेल र पनौती नगरपालिकाले आइसोलेसन कक्ष स्थापनसँगै तयारीमा जुटेका हुन्।
(मकवानपुरबाट शुभलक्ष्मी विश्वकर्मा, सिन्धुलीबाट राजन गाउँले, नुवाकोटबाट देवचन्द्र भट्ट, सिन्धुपाल्चोकबाट युवराज पुरी र काभ्रेबाट रोजन तामाङ)