पुर्खौली थलो फर्कने बढे
सुर्खेत : कोरोना भाइरसको त्रासका कारण धमाधम गाउँ फर्किनेको संख्या बढ्दै गएको छ। कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा विभिन्न कामको सिलसिलामा बस्दै आएका लाखौं मानिसहरु धमाधम गाउँ फर्किन थालेका हुन्। सहरमा कोरोना भाईरसको त्रास बढ्दै गएपछि गाउँमा सुरक्षित महशुस गर्दै दिन प्रतिदिन गाउँ फर्किनेको संख्या बढेको हो। विद्यालयसहित अत्याआवश्यक बाहेकका सबै सेवा बन्द हुनथालेपछि स्थानीय धमाधम गाउँ फर्किदै छन्।
‘गाउँमा खासै नयाँ मान्छेको आउजाउ हुदैन। त्यहाँ कोरोनाको संक्रमणबाट सुरक्षित हुन सजिलो होला जस्तो लाग्छ’ सुर्खेतबाट जुम्ला फर्किएका रारालिही जुम्लाका प्रेमबहादुर बुढाले भने, ‘सहरमा कालोबजारी बढ्दै छ। ग्याँस र खाद्यन्नको पनि कृतिम अभाव हुन थालेको छ। त्यसैले यस्तो संत्रासको बेला सुख ः दुखमा साथ दिने गाउँले र घरपरिवारसँग बस्न गाउँ फर्केको हुँ।’
स्थानीय गाउँ फर्किन थालेपछि वीरेन्द्रनगर सहर सुनसान हुन थालेको छ। कर्णाली टाईगर यातायात प्रालिका धनप्रसाद गौतमका अनुसार नेपालगंज, सुर्खेत हुदै कर्णालीका १० वटै जिल्लामा गाउँ फर्किने यात्रुको चाप ह्वातै बढेको छ। ‘हिजोआज गाउँ फर्किने यात्रुहरुको भिँड दसैं, तिहारको जस्तो छ’ उनले भने ‘कोरोनाको संत्रासका कारण गाउँ फर्किने यात्रुको चाप बढेपछि टिकट व्यवस्थापनमा पनि सकस छ।’ नेपालगंज र सुर्खेतबाट झण्डै ५० हजार नागरिक कर्णालीका गाउँ फर्किएको उनको अनुमान छ।
सुर्खेतबाट मुगु जानका लागि बसपार्क पुगेका नन्द तिरुवाले यात्रुको चापकै कारण आफुले दुई दिनसम्म गाउँ फर्किन सवारी टिकट नपाएको बताए। ‘लोकसेवा आयोगको तयारीका लागि सुर्खेत बस्दै आएको थिएँ’ उनले भने, ‘आयोगले परिक्षा नै स्थगित गरेपछि सबै साथीहरु घर फर्किदा मलाई पनि परिवारले घर आउन दवाब दिएका हुन्।’ कोरोनाको त्रासका कारण उनी जस्तै अधिकांश अभिभावकले सहरमा रहेका आफ्ना आफन्तजनलाई गाउँ फर्किन सुझाब दिईरहेका छन्।
तीन छोरोछोरी सहित गाउँ फर्किएकी कालिकोट रासकोटकी माया शाहीले भनिन्, ‘विद्यालय बन्द हुदाँ छोराछोरी जथाभावी खेल्न थाले। कोरोनाको संक्रमण भएमा उपचार गर्ने पैसा र आफन्तको सहयोगको कमि हुने महसुश हुन थाल्यो। त्यसैले सुरक्षित महसुशका लागि गाउँ फर्कियौं।’ कोरोनाको त्रासले गाउँ फर्किनेको संख्या बढेपछि सामान र यात्रुले सवारी साधान खचाखच भरिन थालेका हुन्। एक्कासी गाउँ फर्किनेको संख्या बढेपछि सवारी दुर्घटनाको पनि जोखिम बढेको छ। सुर्खेत बसपार्कका टिकट काउण्टरमा निकै भिँडभाड हुन थालेको छ। भने प्रदेश सरकारले पनि कोरोना संक्रमण भए उपचारका लागि आईसोलेशन कक्षहरु ीनर्माण गर्न थालेको छ।
फर्किए मुग्लानी
कामको सिलसिलामा कालापहार (भारत) पुगेका मुग्लानी घर फर्किएका छन्। भारतमा कोरोनाको संक्रमण बढेपछि कामको सिलसिलामा भारतका विभिन्न सहरमा पुगेका मुग्लानी घर पर्किन थालेका हुन्। कामका लागि भारत गए पनि कोरोनाको त्रासका कारण काम पाउन छाडेपछि हजारौ मुग्लानी निराश हुदै घर फर्किएका छन्। दुई महिना अघि कामका लागि भारतको हिमाञ्चलमा पुगेका जुम्लाका गोर बोहोराले भने, ‘सुरु सुरुमा काम खोज्दै हैरान भयो। पछि काम पाउन थालेका थियौँ। तर कोरोनाका कारण त्यहाँको व्यपार व्यवसार ठप्प भएपछि हामि पनि घर फर्किनुको विकल्प रहेन।’
कामका लागि भारत गएका अधिकांश मुल्लानीहरुले छोटो समयमा कमाई राम्रो नभएको भन्दै रित्तै हात घर फर्किनु परेको बताएका छन्। दैलेख ठाँटीकाँधका वीरेन्द्र थापाले भारतमा कोरोनाको संक्रमण बढेपछि घर फर्किन लागेको बताए। ‘आफ्नै गाउँमा पर्दा, मर्दा सहयोग हुन्छ’ उनले भने, ‘भारतमा हामि नेपालीलाई राम्रो कोठा पाईदैन। खानपान र जीवनशैली नै अस्वस्थ हुन्छ। त्यसैले मर्न परे पनि आफ्नै भुमीमा मर्नका लागि गाउँ फर्किने सोच बनाएको हुँ।’ हरेक वर्ष मंसिर महिना सुरु भएसँगै जाडोका कारण कर्णालीका जुम्ला, मुगु, कालिकोट, हुम्ला, डोल्पा र जाजरकोटमा काम नहुने भएकाले धन कमाउन लाखौंको संख्यामा भारत जाने गर्दछन्।
जुम्ला र मुगुका कतिपय बस्ती नै रित्तो पारी युवाहरु धन कमाउन मुग्लान पुगेका थिए। ‘गाउँमा कामको सिजन पनि सुरु भएको छ। र कोरोनाको त्रास पनि कम छ’ जुम्ला सिंजाका धनवीर बुढाले भने, ‘भारतमा कोरोनाकै कारण काम पाईन छाडेपछि आफ्नै गाउँका काम गर्ने ध्येयले घर फर्किएँ।’