‘नेपाल टेक्दा राहत महसुस’
भैरहवा : भारतमा रहेका नेपाली स्वदेश धमाधम फर्किइरहेका छन्। घर फर्किनेमा विद्यार्थी संख्या बढी देखिन्छ। भारतीय सेनामा कार्यरत नेपाली पनि बिदा लिएर फर्किएको भेटिएको छ। भारत आउने नेपालीको संख्यामा कमी आए पनि भारतमा रहेका नेपाली फर्किने क्रम बढ्दो देखिएको उत्तर प्रदेश राज्य परिवाहनका कर्मचारी हरिनाथ चौधरीले बताए।
बेलहिया नाकामा भेटिएका बुटवलका प्रीतम घिमिरेले कोरोना संक्रमण फैलिएपछि साथीहरूसहित घर फर्किएको बताए। उनी भारतको चेन्नईको भेलटेक इन्जिनियरिङ कलेजमा अध्ययन गर्छन्। उक्त कलेजमा १ सय ५० जना नेपाली विद्यार्थी रहेको उनले सुनाए। उनीहरू सबै जना घर फर्किंदै छन्।
नवलपरासीका प्रज्वल ज्ञवाली पनि सोही कलेजमा अध्ययन गर्छन्। कलेज बन्द भएपछि होस्टलमा बस्ने वातावरण पनि नभएकाले फर्किएको उनले सुनाए। यहाँ आउँदा राहत महसुस भएको उनको भनाइ छ। चेन्नईमै अध्ययनरत रूपन्देही रामापुर कोलोनीका मनीष घिमिरेले भारतमा कोरोना सन्त्रासका कारण हतारमै घर फिर्ता आएको बताए।
हरियाणामा होटलमा कुकको काम गर्ने प्युठानका कुलबहादुर थापाले भारतमा बस्न असुरक्षित भएकाले छुट्टी लिएर घर फर्किन लागेको बताए। ‘दिल्लीमा संक्रमित बढेका बढ्यै छन्। दिल्लीसँगै जोडिएको हरियाणामा पनि संक्रमितहरू छन्’, उनले भने, ‘बजार जुनसुकै बेला बन्द हुने अवस्था छ। त्यसैले त्यहाँ बसे संक्रमित हुने सम्भावना बढी भएपछि घर फर्किएको हुँ।’