भाइरस परीक्षण मेसिन : पाँच वर्षदेखि प्रयोगविहीन
हेटौंडा : विज्ञ अभावमा कोरोनालगायत अन्य भाइरसको अध्ययन गर्न र स्वरूप परिवर्तनबारे जानकारी दिन मेसिन हेटौंडामा उपयोग हुन सकेको छैन। भाइरस व्याक्टेरिया, प्यारासाइटहरूको प्रजाति अध्ययन गर्न र भाइरसको स्वरूप परिवर्तनबारे बुझ्न हेटौंडामा पाँच वर्षअघि आधुनिक पोलिमेयर चेन रियाक्सन ल्याब (पीसीआर) स्थापना गरिएको थियो। किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको उक्त मेसिन सञ्चालनको लागि माइक्रोबायोलोजिस्ट आवश्यक पर्छ। तर उक्त पदको दरबन्दी यस कार्यालयमा छैन।
पीसीआर मेसिन सञ्चालनको लागि पारासाइकोलोजिस्टको दरबन्दी कायम गरिए पनि दरबन्दी खाली रहेको केन्द्रका इन्टोमोलोजिस्ट (किट विज्ञ) शिशिरकुमार पन्तले बताए। ‘यो मेसिनको काम नै भाइरसहरूको प्रकार र स्वरूप परिवर्तनबारे अध्ययन गर्ने हो, तर हामीसँग यो मेसिन सञ्चालन गर्ने जनशक्ति छैन,’ उनले भने, ‘माइक्रोबायोलोजिस्ट नभए पनि विषयको अध्ययन छ भने यो मेसिन पारासाइकोलोजिस्टले पनि सञ्चालन गर्नसक्छ।’
आवश्यक उपकरण हेटौंडामै भए पनि कोरोना भाइरसको आशंका भएमा परीक्षणका लागि नमुना काठमाडौं नै पठाउनुपर्ने बाध्यता रहेको केन्द्रका ल्याब टेक्निसियन निरीक्षक रामबाल यादवले बताए। केन्द्रमा रहेको ल्याब पनि पूर्ण रूपमा सञ्चालनमा छैन। जनशक्तिसँगै थप उपकरण र केमिकलको अभावमा ल्याब पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको केन्द्रले जनाएको छ।
२०७१ सालमा दाताको सहयोगमा स्थापना गरिएको यो ल्याबमा अहिले ल्याब टेक्निसियन निरीक्षक र ल्याब असिस्टेन्ट गरी दुई जना प्राविधिक कर्मचारी कार्यरत छन्। ‘तीन जना माइक्रोबायोजिस्टको दरबन्दी थप गर्ने हो भने कोरोना भाइरसको अध्ययन र परीक्षण हेटौंडामै हुन सक्छ’, ल्याव टेक्निशियन निरीक्षक यादवले भने।
दाताकै सहयोगमा कार्यरत माइक्रोबायोलोजिस्ट डा. विजय ब्रज्राचार्य इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सरुवा भएर गएका छन्। संघीय सरकार मातहत रहेको यो ल्याबमा जनशक्ति अभाव हुँदा नियमित सञ्चालन हुन सकेको छैन।
‘अधिकांश समय बन्द हुने यो ल्याबलाई नियमित सञ्चालन गर्ने हो भने बागमती प्रदेशको राजधानी हेटौंडामा भाइरस, ब्याक्टेरिया र प्यारासाइटहरूको अध्ययन गरी उपचारलाई सहज बनाउन सकिनेछ’, हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य तथा वातावरण शाखा प्रमुख सुपेन्द्र कार्कीले भने। यो ल्याब सञ्चालन भए मानव शरीरमा न्यून घनत्वमा रहने भाइरसको परीक्षण र संक्रमण फैलिँदा फरक ठाउँमा भाइरसमा देखिने परिवर्तनको अध्ययन गरी रोग पहिचान गर्न सकिने चिकित्सकहरू बताउँछन्।
कुल २१ जना दरबन्दी रहेको केन्द्रमा हाल प्राविधिकसहित हाल १६ जना कार्यरत छन्। कार्यालय प्रमुख डा. यदुचन्द्र घिमीरे दुई साताअघि सरुवा भएर अन्यत्र गएपछि केन्द्र प्रमुखविहीन रहेको छ।