मुक्तिनाथ र कागबेनी श्राद्धस्थलमा प्रवेश रोक
जोमसोम : विश्वभर माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड–१९ ) को सक्रमणलाई मध्यनजर गर्दै मुक्तिनाथ विकास समितिले सोमबारदेखि लागु हुने गरी मुस्ताङको मुक्तिनाथ मन्दिर र कागबेनी श्राद्ध स्थल प्रवेशमा रोक लगाएको छ ।
जिल्ला समन्वय समितिको कार्यालय जोमसोममा आईतबार बसेको मुक्तिनाथ विकास समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि कोरोना प्रकोपलाई मध्यनजर गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गरेका निर्णयसमेतका आधारमा मुस्ताङको धार्मिक स्थलमा पर्यटक तथा तिर्थालु आवागमन नरोकिएकाले अर्को व्यवस्था सूचना जारी नभएसम्मका लागि मुक्तिनाथ दर्शन र कागबेनी श्राद्ध स्थल प्रवेशमा रोक लगाइएको मुक्तिनाथ विकास समितिले जनाएको छ ।
मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं प्रजिअ वेदप्रकास अर्यालले कोरोना संक्रमण फैलिने सम्भावना बढेकाले आन्तरिक तथा बाह्य पर्यटक तथा तिर्थालुलाई धार्मिक केन्द्र प्रवेशमा रोक लगाएको बताए ।