सरकारी कोटामा पढेकाले कोरोना संक्रमितको उपचारले गर्नुपर्ने
काठमाडौं : सरकारी कोटामा पढेका चिकित्सकले कोरोना भाइरस संक्रमितको उपचारमा खटिनुपर्ने भएको छ।कोरोना भाइरस नियन्त्रणलाई थप प्रभावरी बनाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई संक्रमितको उपचारमा खटाउने निर्णय गरेका हुन्।
सोबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेश सरकारलाई पत्रमार्फत जानकारी गराएको छ। स्वास्थ्य मन्त्रालयले मुख्यमन्त्रीलाई पत्र पठाउँदै सरकारी छात्रवृत्तिमा एमबीबीएस र एमडी/एमएस अध्ययन गरेका चिकित्सकलाई आवश्यकताअनुसार परिचालन गर्न आग्रह गरेको छ।
त्यस्तै, प्रदेशअन्तर्गत संचालनमा रहेका मेडिकल कलेजमा छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई पनि सम्बन्धित मेडिकल कलेजसँग आवश्यक समन्वय गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा सहयोगीको रुपमा परिचालन गरिने पत्रमा उल्लेख छ।