पशुपतिमा एक पटकमा १० जनाले मात्र दर्शन गर्न पाउने

पशुपतिमा एक पटकमा १० जनाले मात्र दर्शन गर्न पाउने

काठमाडौं : पशुपतिनाथ मन्दिरमा सोमबारदेखि एकपटकमा दस जनाले मात्र दर्शन गर्न पाउने भएका छन्। 

विश्व परिवेशमा कोरोना भाइरसका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सावधानीपूर्वक सार्वजनिक स्थलहरूमा सजगता अपनाउन पर्ने भएकाले पशुपति क्षेत्र विकास कोषले एकपटकमा दसजना भक्तजनले दर्शन गर्ने व्यवस्था गरेको हो।

पशुपतिनाथ आउने स्वदेशी तथा विदेशी भक्तजनलाई दक्षिणतर्फको २ नं. ढोका मात्र प्रयोग गर्ने कोषले निर्णय गरेको हो। 

सोमबारदेखि अन्य १ र ३ नं. ढोका बन्द गरिनेछ। कोषको कार्यवाहक प्रमुखको जिम्मेवारी पाएका कोषाध्यक्ष डा. मिलनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले एक पटकमा १० जना मात्र दर्शनार्थीलाई प्रवेश गर्न दिने निर्णय गरेको हो। १० जना दर्शनार्थी दर्शन गरेर सोही ढोकाबाट बाहिर निस्केपछि अर्को १० जनाको टोली प्रवेश गराउने व्यवस्था मिलाइएको हो।

‘पशुपतिनाथको मन्दिरमा बिहान जल अभिषेकको समय र साँझको आरतीमा भक्तजनलाई रोक लगाइएको छ’, कोषाध्यक्ष थापाले अन्नपूर्णसँग भने, ‘अर्को सूचना जारी नभएसम्मका लागि यी दुवै काममा कसैले पनि उपस्थित हुन नपाउने गरी निषेध गर्ने निर्णय भएको हो।’ मन्दिर प्रवेश गर्नेका लागि अब एक ठाउँमा मात्र व्यवस्था गरिएको छ। वरुण धारासँगै रहेको जुत्ताचप्पल कक्ष मात्र खुला राख्ने तर लकर सेवा बन्द गरिने भएको छ। यसैगरी, कैलाश नजिक रहेको (उत्तरतर्फको) जुत्ताचप्पल कक्ष बन्द हुने भएको छ।

कोषले पशुपतिनाथ मन्दिरमा गरिने विशेष पूजा र आरतीलाई अर्को सूचना नभएसम्मका दुई दिनअघि नै स्थगित गरिसकेको छ। बागमती नदी पारीपट्टि सञ्चालन भइआएको आरती पनि कोषले बन्द गरेको छ। यसैगरी, विद्युतीय शवदाह गृहमा शव जलाउन मेसिनसम्म प्रवेश गर्न मृतकका नजिकका आफन्तमध्ये एक पटकमा सातजना मात्र प्रवेश पाउने भएका छन्। हुल हुज्जत हुन नदिन शवदाह गृहमा कम मान्छेको उपस्थितिका लागि कोषले यस्तो निर्णय गरेको हो। 

क्रियापुत्री भवन र सेवा केन्द्रमा भीड कम गर्न अत्यावश्क बाहेक अन्य व्यक्तिलाई प्रवेश नगरिदिन पनि कोषले सरोकारवालालाई आग्रह गर्दै सूचना प्रवाह गरेको छ।

बैठकले कोषमा कार्यरत असक्त, अपांग तथा बिरामी कर्मचारीलाई हाललाई विदा दिने व्यवस्था मिलाएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए। ‘मन्दिर, पार्क, बगैंचा, ब्यूटीफुल, मृगस्थली, कैलाश चौर, भण्डारखाल बगैंचा, वनकाली, क्रियापुत्री, विद्युत् शवदाह गृह, हंशमण्डप जस्ता क्षेत्रमा भीडभाड हुन नदिन सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेका छौं’, उनले भने, ‘पशुपतिनाथमा जस्तै गुह्येश्वरी मन्दिर र सो को प्रांगणमा समेत एक पटकमा १० जना भन्दाबढी व्यक्तिलाई सोमबारदेखि प्रवेश निषेध गरिएको छ।’

कोषले आर्यघाट, क्रियापुत्री भवन, विद्युतीय शवदाह गृह, जुत्ताचप्पल कक्ष बाहिरपट्टि ट्यांकी राखी साबुनपानीले हात धुने व्यवस्था मिलाएको छ। विद्युतीय शवदाह गृहमा भीड नियन्त्रणका लागि एक पटकमा कोषका दुई जनाका दरले सुरक्षाकर्मी परिचालन गर्ने भएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.