बेरुजु फर्स्यौट गर्न सकस

बेरुजु फर्स्यौट गर्न सकस

धादिङ : थाक्रे गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयमा तारबार गर्न तत्कालीन जिल्ला शिक्षा कार्यालयले ०६८/६९ मा २ लाख ५० हजार रुपैयाँ निकासा दियो। विद्यालय व्यवस्थापन समितिको बैठकले निर्णय गर्‍यो र तारजाली किनेर घेरबार पनि लगाए। तत्कालीन प्रधानाध्यापकले काम सम्पन्न भएको प्रतिवेदन जिल्ला शिक्षा कार्यालयमा बुझाएनन्, हिसाब बेरुजु निस्कियो।

०७२ मा भूकम्पले विद्यालय भवन ध्वस्त बनायो। त्यही ठाउँ सम्याएर नयाँ भवन बनाइयो। जिल्ला शिक्षा कार्यालयले उक्त तारजाली लगाउने कामको प्रतिवेदन नभएकाले बेरुजु निस्किएको भन्दै प्रतिवेदन ल्याउन भनेको छ। तर, फिल्डमा त्यसबेला काम गरेको देखिने संरचना केही छैन।

शिक्षा विकास तथा समन्वय एकाईमा भगवती प्राविको साढे २ लाख बेरुजु भएपछि फर्स्यौट गर्न सदरमुकाम आएकी शिक्षिकाले भनिन्, ‘विद्यालयसँग तारजाली किनेको बिल छ, प्राविधिकलाई देखाउन संरचना छैन, संरचना नभइ कार्य सम्पन्न प्रतिवेदन कसरी बनाउने ?    अनि बेरुजु फर्स्यौट होला त ? ’

शिक्षा क्षेत्रमा भएका यस्तै विकास निर्माणमा देखिएको बेरुजु फर्स्यौट गर्न शिक्षा विकास तथा समन्वय एकाइ धादिङलाई सकस परिरहेको छ। ०६८÷६९ यता भौतिकतर्फ करिब ३३ करोड बेरुजु देखिएको छ भने शैक्षिक अनुदान र खर्चतर्फ करिब ८ करोड बेरुजु रहेको शिक्षा विकास तथा समन्वय एकाइ धादिङका सूचना अधिकृत कृष्णकुमार    श्रेष्ठले बताए।

भौतिकतर्फ विद्यालय भवन, शौचालय, कम्पाउन्डजस्ता निर्माण र शैक्षिकतर्फ पुस्तकालय व्यवस्थापन, पिसिएफ, आइसीटीजस्ता कार्यक्रमको बेरुजु देखिएको छ। शिक्षाका कार्यक्रममा देखिएको उक्त बेरुजु फर्स्यौट गर्न शिक्षा विभागले तदारुकता देखाएपछि शिक्षा विकास तथा समन्वय एकाइ धादिङले बेरुजुको तथ्यांक निकाल्दै सम्बन्धित विद्यालयलाई फर्स्यौट गर्न पत्र पठाएको छ।

तर, आवश्यक कर्मचारी नभएका कारण निकै कठिनाइ भइरहेको एकाइ प्रमुख अम्बिकाप्रसाद आचार्यले बताए। उनले भने, ‘पहिले हामीसँग लेखा र प्राविधिक कर्मचारी थिए, अहिले कुनै छैनन्। बेरुजु फर्स्यौट गर्न प्रशासनको मात्रै कर्मचारी हँुदा सकस भइरहेको छ।’ विभागले शिक्षाको डीएलपीआइयू, समन्वय समितिलगायत सरकारी कार्यालयसँग समन्वय गरी प्राविधिक कर्मचारी परिचालन गरेर भए पनि बेरुजु फर्स्यौट गर्न आग्रह गरेअनुसार सहयोग मागिरहेको आचार्यले बताए।

गत पुसमा लेखा परीक्षण गर्न महालेखाबाट टोली डोरमुकाम आएदेखि करिब २ करोड बराबरको बेरुजु फर्स्यौट गराएको आचार्यले बताए। उनकाअनुसार गत वर्ष पनि १५ करोड ३८ लाख रुपैयाँ बराबरको बेरुजु फर्स्यौट गरिएको थियो। एकाइले बेरुजु रहेका विद्यालयका शिक्षकलाई पेन्सनलगायत सेवा–सुविधामा असर पर्न सक्ने चेतावनी दिँदै तत्काल बेरुजु फर्स्यौट गर्न ताकेता गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.