घर फर्किएकाहरू ‘चकलेट’ बाँड्दै
![घर फर्किएकाहरू ‘चकलेट’ बाँड्दै](https://annapurnapost.prixacdn.net/media/albums/gadi-chaddai_20200323060531_4mCLWc5Q9g.jpg)
बुटवल : भारतको मुम्बईबाट तीन वर्षपछि जन्मघर फर्किएका गुल्मी रेसुंगा नगरपालिका –१४ का हिमाल शर्मा अहिले घुमफिरमा रमाइरहेका छन्। साथमा ल्याएको चकलेट गाउँघरका हजुरबा हजुरआमालाई बाड्न उनी व्यस्त छन्।
गत साता रेसुङा आएका उनले टेलिफोनमा भने, ‘धेरै वर्षपघि घर फर्किए, सबैजनासँग भेटघाट गर्दैछु।’ अहिले क्वारेन्टाइनमा बस्नुपर्ने शर्मा जस्ता कैयौ गाउँघर घुमफिरमा व्यस्त छन्। भारतबाट फर्किनेलाई सरकारले कम्तिमा १४ दिन बाहिर ननिस्किन र कसैसँग भेटघाट नगर्न भने पनि शर्मा जस्ता अधिकांश गाउँघर घुमफिरमा व्यस्त छन्।
जिल्लाका सीमा नाकामा सामान्य चेक जाँच बाहेक कोरोना परीक्षण गर्ने सुविधा नहुँदा जन्मथलो फर्किएकाहरू ढुक्क हुने अवस्था छैन। गुल्मीका १२ स्थानीय तहले हेल्प डेस्क स्थापना गरेपनि स्वास्थ्य परीक्षण प्रभावकारी नभएको स्थानीयको भनाई छ। ‘भारतबाट फर्किएकाहरूको ज्वरो नापेर मात्रै हँुदैन। उनीहरू क्वारेन्टाइन नै बस्नुपर्ने हुन्छ, यसरी त गाउँ झन् असुरक्षित हुन्छ’, मालिका गाउँपालिका–५ का उत्तम केसीले चिन्ता व्यक्त गरे।
कोरोनाको त्रासले दशैंमा भन्दा बढी व्यक्ति गाउँ फर्किन थालेका छन् तर स्वास्थ्य सेवा सहर केन्द्रित हुँदा स्थानीय थप सशंकित बनेका छन्। जिल्ला समन्वय समिति गुल्मी अध्यक्ष लक्ष्मण पराजुली भने स्थानीय तहसँग सम्वन्य गरेर जिल्लाका नाकामा हेल्प डेस्कको स्थापना गरिएको बताउँछन्। रूरूक्षेत्र गाउँपालिकाको रिडी, रेसुंगा नगरपालिकाको नेटा, मदाने गाउँपालिकाको पुर्कोटदह र मुसिकोट नगरपालिकाको वामीमा र चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा हेल्प डेस्क स्थापना गरिएको उनले जानकारी दिए।
पछिल्ला चार दिनमा अर्खाखाँचीमा कपिलवस्तुको कृष्णनगर नाकाहँुदै दुई हजार र रूपन्देहीको बेलहिया नाकाबाट करिब एक हजार व्यक्ति फर्किएका पश्चिम नेपाल बस व्यवसायी संघ अर्घाखाँचीका हुमा पौडेलले बताए। तर फर्किएकाहरू सेल्फ क्वारेन्टाईनमा बसेका छैनन्। उनीहरू अभिभावक, आफन्त र इष्टमित्रसँग भेटघाटमा व्यस्त देखिन्छन्।
मजदुरीका लागि भारतसहित खाडी मुलुक पुगेका प्यूठानी घर फर्कने बढेपछि गाउँघरमा चहलपहल बढ्न थालेको छ। नेपाल भारत सीमाको रूपडिया र कृष्णनगरहुँदै धेरैजसो प्यूठानी आउने गर्छन्। दाङको भालुवाङहुँदै आउने यात्रुलाई स्वास्थ्यकर्मी सहित दाङ—प्यूठान सिमाना सरुमारानी गाउँपालिकाको दरभानमा खटाउनुपर्ने जिल्लावासीको माग छ।
घर फर्किएका र संभावित संक्रमितलाई सुरक्षित स्थानमा राख्न अझै जिल्लामा क्वारेन्टाइनको व्यवस्था गरिएको छैन। प्यूठान नगरपालिकाले स्थानीय तहसँग समन्वय गरेर क्वारेन्टाइन व्यवस्था गर्ने भने पनि तीव्रता दिइएको छैन्। यहाँका नागरिक पनि ‘सेल्फ क्वारेन्टाइन’मा बसेका छैनन्। भारतबाट फर्किएका ऐरावती गाउँपालिका बरौलाका एक युवामा कोरोना संक्रमणको आशंका गर्दै गत साता बुटवल हुँदै काठमाडौं पुर्याइएकोमा उनमा कोरोना पुष्टि भएन।
केही छन् होम क्वारेन्टाइनमा
भारतबाट बर्दिया फर्किएका केही ‘होम क्वारेन्टाइन’मा बसेका छन्। भारतको लखनउ नजिकको जरवल कस्वाबाट माइत आएकी ३० बर्षिया माया गुप्ता गुलरिया नगरपालिका–६ स्थित माइती मै क्वारेन्टाइन बसेकी छिन्। गुलरिया नग छोराछोरी सहित आएकी उनले आफन्तसँग भेटघाट गरेकी छैनन्।
चितवनबाट बर्दिया फर्किएका बाँसगढी नगरपालिका–५ निवासी हुमनाथ पौडेल पनि घरमै बसेर दिन बिताउने गर्छन्। ‘दिनभर घरमै बस्छु बालबालिकालाई पनि घरबाट बाहिर निस्किन दिएको छैन’, उनले भने। सीमा क्षेत्रमा आवागमन पातलो पार्दै अत्यावश्यक आवत जावत गर्नेलाई हेल्थ डेक्समा चेकजाँच गरी सचेत गराउने गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।
(गुल्मीबाट गंगा खड्का, अर्घाखाँचीबाट प्रेमनारायण आचार्य, प्युठानबाट केशर रोका र बर्दियाबाट यादव आचार्य।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)