विद्यालयमा अस्थायी अस्पताल
बेनी : कोरोना भाइरसप्रति उच्च सतर्कता अपनाउँदै प्रशासन, सुरक्षा निकाय, स्वास्थ्य संस्था, स्थानीय तह, निजी क्षेत्र र अन्य संघ संस्था पूर्व तयारीमा जुटेका छन्। जिल्ला प्रशासनको पहलमा बेनीको माउन्ट एभरेष्ट आवासीय माविको पुरानो भवनमा अस्थायी अस्पताल बनाउन थालिएको छ।
१० वेडको अस्थायी अस्पताल बनाइने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए। ‘कोरोना शंस्कास्पद लाई छुट्टै राखेर उपचार गर्न अस्थाई अस्पताल बनाउन लागेका हौ,’ उनले भने ‘सेना, प्रहरी र स्वास्थ्यकर्मीको सहकार्यमा अस्पताल निर्माण र व्यवस्थापनको तयारीमा छौ।’ यससँगै म्याग्दीका सबै तातोपानी कुण्ड र पर्यटकीय स्थल शनिबारदेखि बन्द गरिएको छ।
कोरोना भित्रने जोखिमलाई मध्यनजर गर्दै तातोपानी कुण्ड र पर्यटकीयस्थल पुनहिल बन्द गराइएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले बताए। ‘पर्यटकीयस्थल, भ्रमण र मेलाजात्रा सञ्चालनमा समेत रोक लगाइएको छ,’ उनले भने। बेनी नगरपालिका–४ सिंगा, अन्नपूर्ण गाउँपालिकाको भुरूङ्ग, पाउद्धार, पोखरेबगरको रातोपानी, दोवाको सेकार्कु, रघुगंगा गाउँपालिकाको दर्मीजा, धवलागिरी गाउँपालिकाको बगर र गुर्जामा प्राकृतिक तातोपानी कुण्ड छन्। अयन्त्रबाट यी कुण्डमा स्नान गर्न आउने धेरै हुन्छन्।
यसका साथै बेनी नगरपालिका–६ का विपन्न घरपरिवार लागि हात धुने साबुन र मास्क वितरण गर्दै सर्तकता उपाय सिकाइएको छ। वडा कार्यालयको पहलमा युवा र बाल क्लवका प्रतिनिधिले सचेतना कार्यक्रम गरे। वडाध्यक्ष कृष्णसिंह बानियाँको प्रस्तावमा बेनी–६ छापका युवा व्यवसायी नारायण र उनका भाइ किसान जिसिले छ कार्टुन (एक हजार चार सय थान) साबुन उपलब्ध गराए। त्यसैगरी छापका नारायण महतले एक हजार दुई सय थान माक्स उपलब्ध गराए। बजारमा कालोबजारी, म्याद नाघेका बस्तुको बिक्री, कृतिम अभाव र मूल्यबृद्धि हुने खतरा बढेपछि घरेलु तथा साना उद्योग कार्यालय प्रमुख मोहन सुवेदीको नेतृत्वमा बजार अनुगमन सुरू भएको छ।