सर्लाहीका सबै सीमा नाका बन्द
मलंगवा : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्नका लागि सर्लाहीस्थित भारतसँग जोडिएका सबै सीमा नाका ‘सिल’ गरिएको छ। सरकारको निर्णय अनुसार सोमबार १० बजेबाट भारतीय सिमासँग जोडिएका सर्लाहीका १५ वटै नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए।
भारतीय सिमा नाकाबाट नेपाल भित्रिने अत्यावश्यक मालबाहक सवारी साधनमा भने रोक नलगाइएको प्रहरी उपरीक्षकले बताए। तर, बिहानैदेखि कुनै पनि अतिआवश्यक मालबाहक सवारी साधन पनि जिल्लाभित्र नछिरेको उनले बताए। अरु यात्रु तथा सवारी साधनलाई भने पूर्णरुपमा आवतजावत गर्न रोक लगाइएको छ। सात दिनसम्म नाकाहरु पूर्णरुपमा सिल रहने पोखरेलले बताए।
जिल्लास्थित १५ वटा नाका मध्ये आइतबारदेखि स्थानीय प्रशासनले दुई वटा नाकाबाट मात्र आवतजावत गर्न दिएको थियो। सदरमुकामस्थित मलंगवा तथा पश्चिमी बलरा नगरपालिकास्थित लक्ष्मिपुर नाका खुलाइएको थियो। तर सोमबारबाट भने ती दुई नाकाबाट पनि यात्रुको आवतजावत बन्द गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए।