अफगानलाई अमेरिकी सहयोग कटौती
दोहा : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सोमबार अफगानिस्तान सरकारलाई दिइँदै आएको सहयोगमा ठूलो कटौती गर्ने घोषणा गरेका छन्। अफगान नेताबीच मध्यस्थता गर्ने प्रयास विफल भएसँगै अमेरिकी सहयोग कटौतीको घोषणा गरिएको हो।
अमेरिकी विदेशमन्त्री पोम्पेओले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने सम्बन्धमा तालिबान नेतासँग कतारको अमेरिकी सैन्य अखडामा छलफल गरेका छन्। अफगानिस्तानको भ्रमणपछि अमेरिका फर्कने क्रममा पोम्पेओले कतारस्थित अमेरिकी सैन्य अखडामा आकस्मिक भ्रमण गरी तालिबान लडाकुका नेतासँग सल्लाह गरेका थिए।
लगभग दुई दशक खुलेर अफगान सरकारको समर्थन गरेको अमेरिकाले यसपटक अफगान नेताबीच देखिएको फाटो र कटुताबाट निराश भएको जनाएको छ। पोम्पेओले राष्ट्रपति अशरफ घानी र उनका प्रतिद्वन्द्वी अब्दुल्ला अब्दुल्लालाई काबुलमा भेट गरेर दुवै नेताबीच मध्यस्थता गर्ने प्रयास गरेका थिए। दुवै नेताबीचको मतभिन्नता हटाउन आफू सफल नभएको उनले बताए।
‘उहाँहरूको मतभिन्नताले अमेरिका–अफगान सम्बन्धलाई हानि मात्र गरेको छैन, दुःखको कुरा, ती अफगान, अमेरिकी र गठबन्धनका साझेदारले अफगानिस्तानको नयाँ भविष्य निर्माण गर्ने संघर्षमा दिएको आफ्नो जीवन र धनको आहुति खेर जाँदै छ’, पोम्पेओले भने।
पोम्पेओले अमेरिकाले तत्काल १ अर्ब अमेरिकी डलर कटौती गर्दै छ र सन् २०२१ मा थप १ अर्ब डलर कटौती गरिने उल्लेख छ। उनले अमेरिकाले भविष्यमा हुने दातृ सम्मेलनमा सहयोग फिर्ता लिनेलगायत थप कटौतीमा विचार गर्ने बताए। पोम्पेओले अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेनालाई पूर्व सहमतिबमोजिम नै अर्को वर्षसम्म सबै १३ हजार सैनिक फिर्ता लैजाने बताए।
अमेरिकी अधिकारीले कतारको अल–उडेड हवाई अखडामा विदेशमन्त्री पोम्पेओले तालिबानका तीन जना शीर्ष नेतासँग एक घण्टा भेटवार्ता गरेको बताएका छन्। भेटमा अमेरिकासँग भएको वार्ताका मुख्य मध्यस्थकर्ता तालिबानका नेता मुल्ला बरादर पनि सहभागी थिए।
गत फेब्रुअरी २९ मा अमेरिका र तालिवानबीच कतारको दोहामा भएको सम्झौतामा सहभागी हुन विदेशमन्त्री पोम्पेओ दोहा गएका थिए तर सम्झौता कार्यक्रममा उनी उपस्थित थिएनन्।
अफगानिस्तानमा केही भिडन्त र हिंसाका खबर सार्वजनिक भइरहे पनि विदेशमन्त्री पोम्पेओले तालिबानले अमेरिकी सेनामाथि हमला नगर्ने आफ्नो वाचाको पालना गरेको बताएका छन्। उनले अमेरिकाले पनि सम्झौताबमोजिम आफ्नो प्रतिबद्धता कायम राख्ने स्पष्ट पारे। विदेशमन्त्री पोम्पेओले सञ्चारकर्मीलाई भने, ‘तालिबान समूहले हिंसा घटाउने प्रतिबद्धता गरेका छन् र उनीहरूले त्यो काम धेरै हदसम्म पूरा गरेका छन्।’
दुई नेताबीच विवाद
गत वर्ष राष्ट्रपतिको निर्वाचन भएयता काबुलमा राजनीतिक संकट चुलिएको छ। राष्ट्रपति घानी र विपक्षी नेता अब्दुल्ला अब्दुल्ला दुबैले चुनावमा आफूहरू विजयी भएको दाबी गर्दै अलग अलग शपथग्रहण गरेका थिए। पोम्पेओले काबुलमा राष्ट्रपति घानी र अब्दुल्ला अब्दुल्लासँग एकल र संयुक्त बैठक गरेका थिए।
अमेरिकी अधिकारीहरूले लामो समयदेखि अफगान अधिकारीहरू भ्रष्टाचारमा संलग्न रहेको भन्दै आलोचना गरिरहेका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानको प्रयासको प्रशंसा गरेका छन्। तालिबानसँग वार्ता गर्न राष्ट्रिय टोली नबनाएकोमा पोम्पेओले अफगान नेताहरूको कमजोरी रहेको भन्दै आलोचना गरेका छन्।