कोरोना महामारीको शिक्षा
कोरोनाले हजारौं वर्षको तर्क, विज्ञान प्रयोग र प्रशिक्षणभन्दा थोरै समयको सचेतता र अस्पतालले नै रोग निदान गर्छ भन्ने चेत फैलायो
चौधौं सदीमा फैलिएको महामारी प्लेगले युरोपको एकतिहाइ जनसंख्या सखाप पार्यो। सामुद्रिक यात्रुले दक्षिण अमेरिकामा समेत त्यो ‘कालोरोग’ फैलाए। युद्ध, क्रान्ति, प्रतिक्रान्तिबाट पूरै महादेश गुज्रिँदा पनि त्यसभन्दापछि अहिलेजस्तो महाआतंक छाएन। एउटै विषयमा संसारभर यतिसारो त्रास, बहस, चिन्ता, सूचना, चासो कहिल्यै थिएन। राष्ट्रिय सीमा बन्द भए। फर्जी दाबी, षड्यन्त्र सिद्धान्त र गलत सूचना, एकअर्कामाथि रोग फैलाएको आरोप÷प्रत्यारोपले युद्धका नयाँ शैलीसमेत देखिए। भय र प्रलोभनमा मैमत्त बजार विभत्स पुँजीवादले जित्ला कि मानवता जित्छ ? भन्ने प्रश्न खडा भए। लास गन्नु, संक्रमित गन्नु, आइसोलेसन वा क्वारेन्टाइनका विषयमा चर्चा हुनु त ठीकै हो तर सावधानी र उपायकेन्द्रित बहसभन्दा वातावरण नै आतंकित बनाइदिएर भावना दोहन हुँदै गएको छ यतिबेला।
विश्व नै एउटा भयरोगले ग्रसित बन्दैछ। महामारीका लागि उमेर, भूगोल, जाति, धर्म, धनी र गरिब बराबर हुन्छ। उचित उपचार र सावधानी भए जुनसुकै उमेरका मान्छेलाई लागेको कोरोनाको उपचार हुन सक्दोरहेछ। ९८ वर्षीय चिनियाँ खगोलविद् हान तैन्की र उनकी ८५ वर्षीय पत्नी १८ दिनको सघन उपचारपछि पूर्ण स्वस्थ भए। तर स्पेनका २१ वर्षीय फुटबल कोच फ्रान्सिस गार्सियाको भने कोरोना महामारीबाटै मृत्युु भयो। इरानमा कयौं उच्चाधिकारी मरे। महामारीको पहिलो संक्रमित चीनमा चार दिनभित्र ४६ बिरामी देखिए। ४५ विदेशबाट आएका र १ मुख्यभूमिका। यस अवधिमा ६ जनाको मृत्यु भयो।
विश्वमा महामारीले जति गाँजे पनि मानिसले हिम्मत हारेका छैनन्। सबैभन्दा बढी अहिले असर पारेको देश इटालीमा लकडाउन भएपछि जनता घरको बार्दली, कौसी र छतमा निस्केर गीत गाउन र बाजा बजाउन थालेका छन्। फ्रान्समा बेलुका एक घन्टा बाल्कोनीमा निस्केर ताली बजाउन थालेका छन्। मानवता अझै ज्यूँदो छ। जस्तो संकटमा पनि मानिस क्रियाशील रहन्छन् भन्ने सन्देश दिएर आशाका लागि सक्रिय बनाइरहेका छन्।
धर्म र विज्ञान
जियो ड्रानो बुनोलाई जिउँदै जलाउने आदेश दिने र ग्यालिलियोमाथिको उत्पीडन गर्ने ख्रिस्तानी पोप र भ्याटिगन सिटी विज्ञानको शरणमा बल्ल पुगे। प्रवक्ता मटियो बु्रनीका अनुसार सामूहिक प्रार्थना रोकियो। अल्लाहाको तावेदार र जन्नतको पैरोकार साउदी अरवका मक्का, मदिना मस्जिद नामाजका लागि बन्द गरिए। इरानले पनि सोही कुरा अपनायो। धेरै मस्जिलले सामूहिक नामाज मस्जिदमा नगर्ने एलान गरे। मानवतामाथि आइपर्ने संकट महामारी र महायुद्धमा ईश्वर, अल्लाहा र भगवान् मैदानबाट कुलेलाम ठोक्छन्। भारतमा तिरुपति र शिरडी साइबाबा मन्दिरको सार्वजनिक पूजा आराधना बन्द गरिए। वैश्णोवदेवी तीर्थयात्रा रोकियो। पुजारी र पण्डाहरू जताततै मास्कमा देखिन्छन्। संस्थागतरूपमा पहिलोपटक ‘अतिवादी’ विश्व हिन्दु परिषद्ले विज्ञान स्वीकारेर रामनवमी सामूहिक नगर्ने घोषणा गर्यो। महासचिव मिलिन्द परान्डेका अनुसार कोरोना भाइरस प्रकोपविरुद्धको अभियान भनिएको छ यसलाई।
महामारीले राजनीतिक सीमा, जाति, धर्म, संस्कार र संस्कृतिमा भेद गर्दो रहेनछ। वर्चश्वशालीलाई समेत अल्पमतप्रति गर्ने घृणा र आवेगी उत्तेजनाको बदला मानवतावादको आवश्यकता बोध गरायो।
गौमुत्रले महाभक्तलाई जोगाउन सकेन। उत्तरी कोलकताको जोरासाखु इलाकाका भारतीय जनता पार्टीका कार्यकर्ता नारायण चटर्जीले गौमुत्र सेवन कार्यक्रममा गौमुत्रपान गराएका भक्त बिमार परेपछि उनलाई गिरफ्तार गरियो। दक्षिण कोरियामा फैलिएको कोरोना महामारीमा ६० प्रतिशतभन्दा धेरै बिरामी फैलाएको सिन्चियोन्जी चर्चका प्रमुख लि मान हिले त घुँडा टेकेर माफी मागे। अहिले केही धर्मान्ध हिन्दु र ईसाइहरूले शान्ति मन्त्रजपन र प्रार्थना गरेर अन्धविश्वासीहरूलाई महामारीमा होम्दैछन्। सावधान हुन आवश्यक छ।
पुँजीवादी रमिते र मानवीय सहयोग
महामारी र युद्ध पुँजीवादलाई अवसर बनेर आउँछ। अहिले पश्चिमी बजारका अधिकांश डिपार्टमेन्टल स्टोर खाली छन्। मास्क, ट्वाइलेट पेपर, स्यानिटाइजर र रेडिमेड खाद्यान्नजस्ता सामान गायव भए। ‘मृत्यु अरूलाई हो, म सुरक्षित छु’ भन्नेहरू शक्ति र धनले मात्रै सुरक्षित हुँदैन भन्ने अवस्थामा पुगे। तर ‘मर्नुपर्नेहरू केवल असहाय र गरिब मात्रै हुन्’ भन्नेहरू नाफा–खेलबाट बच्न भने सकेनन्। महामारी ग्रसित इरानमाथिको अमेरिकी नाकाबन्दी अझै हटेको छैन। चीनमा फैलिँदा शक्ति राष्ट्रहरू पहिला तमासे बने। अहिले तमासेकै आँगनमा हाहाकार भयो। पश्चिमा भूमिलाई स्वर्ग र सुरक्षित सोच्नेहरू पनि आफ्नो सोच फेर्न विवश भए।
वास्तविक लोककल्याणकारी राज्य (समाजवादी) अपरिहार्य छ भन्ने फेरि प्रमाणित गर्यो। स्पेनले महामारीविरुद्ध लाग्न सबै निजी अस्पताल र फार्मा, मेडिकल कम्पनीहरूलाई अधिग्रहण गर्यो। फ्रान्सले अत्तर (परफ्युम) बनाउने उद्योगलाई स्यानिटाइजर बनाउन निर्देशन दियो। चीन सरकार र चीनको अलिबाबा ग्ु्रपका सहसंस्थापक ज्याक माले अमेरिका फ्रान्स, स्पेन, इटाली, बेल्जियम, इरान, इराक र फिलिपिन्समा लाखौं थान मास्क र चिकित्सा सामग्री पठाए। नेपाल पनि छ। तर, नेपाल र भारतका महाधनाढ्यको भने सहयोगमा अझै हिस्सा रहेको छैन। उनीहरू धार्मिक कर्मकाण्ड पूजाआजा गरेर कोरोना ‘भगाउन’ थाले। बरू स्वास्थ र शिक्षा बेलगाम बजारलाई छोड्दा महासंकट कस्तो हुँदोरहेछ ? भनेर विचारकहरू पुनर्विचार गर्न वाध्य भए।
पश्चिमा जनमानसमा फैलिँदो नयाँ सोच
पश्चिमा समाजमा अधिकांश जनता सरकारी सामाजिक सुरक्षाका कारण आफ्नै सरकारले अन्य मुलुकमा फैलाएको युद्ध, भोकमरी र वैश्विक अमानवीयताबारे सरोकार राख्दैनन्। लुटको सम्पत्तिमा सामान्य हिस्सेदारी पाउँदा मौन भए। गत सदीमा जसरी मानवीय सरोकारका युद्धविरोधी संघर्ष चल्थे त्यस्तो अहिले चलेका छैनन्। अफ्रिकी भोकभरी, इराक र लिविया आक्रमण उनका सरोकारका विषय रहेनन्। कोरोना चीनमा मात्रै देखिँदा खासै सरोकार राखेनन्। जब आफ्नै आँगनमा उभियो तब झस्कायो मात्रै हैन कोलाहल नै मच्चियो। हिजोसम्म दाता भनिएको जी–७ अहिले उसैको एक सदस्य इटालीलाई चीन र रुसले सहयोग गरे। मानव जातिमा आउने समस्या राजनीतिक सीमाले मात्रै थेग्दैन र मानवीय सरोकारमा जो, जहाँ, जसरी रहे पनि समावेश हुनुपर्छ भन्ने चेतना जगायो।
तेस्रो विश्व र प्रयोगशाला
राजनीति, युद्ध र शान्ति, सामाजिक मनोविज्ञान जस्ता हरेक विषयका लागि तेस्रो विश्व सधैं प्रयोगशाला बनेको छ। तेस्रो विश्वमा छेडिने अधिकांश गृहयुद्ध शक्तिराष्ट्रका अहंकार वा प्रयोग हुने गर्छन्। क्षयरोगविरुद्धको नयाँ औषधीको प्रयोग निःशुल्क दिने भनिएर टाँडी हेल्थपोस्टमा (चितवन) नजिर छ। टाइफाइड कन्जुगेट भ्याक्सिनकोे परीक्षण बेलायतको अक्सफोर्ड, अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालय र अन्तर्राष्ट्रिय एनजीओ पीएटीएचको साझेदारीको बाल्टिमोर अमेरिकामा रहेको टाइफाइड भ्याक्सिन एक्सिलिरेसन कन्सोर्टियमले ललितपुरमा गरेको परीक्षणमा दस हजार पाँचजना बालबालिकालाई यो खोप दिइएको थियो।
अहिले कोरोनाविरुद्ध भ्याक्सिन बनाउन ठूलाठूला औषधी निर्माता र प्रयोगशाला तँछाड–मछाड गर्दैछन्। त्यसको प्रयोग पशुपन्छीमा नभई सीधै मानिसमा गरिने भएको छ। त्यसका गिनीपिग अब कुन–कुन गरिब राष्ट्र बन्ने हुन् !
आरोप, प्रत्यारोप मानवीय सहयोग चीनको वुहानबाट आएको यो महामारीको गत नोभेम्बरमा पहिलो पटक अभिलेख राखियो। आउटब्रेक भएको वुहानबाट न्युयोर्क पोस्ट्का टमर लपिनका अनुसार अहिले भाइरस पूर्ण नियन्त्रणमा छ। तर विशेषज्ञहरू थप १४ दिन कुर्न सल्लाह दिन्छन्। पहिला यो भाइरस सी फुड वा चमेरो प्रजातिबाट फैलिएको आशंका गरिए पनि पछिल्लो समय यो कतै जैविक हतियार उत्पादनमा लापर्बाही त हैन भन्ने आशंका पनि बढ्दो छ। अमेरिका र चीनले एकापसमा आरोप÷प्रत्यारोप गरिरहेका छन्। चिनियाँ डाक्टर लि वेनलियाङको मृत्युमा यही भाइरस कारण बन्यो। उनले भाइरसबारेको जानकारी जनवरीको पहिलो साता सार्वजनिक गरेका थिए तर उनलाई हल्ला फैलाएको भनेर मानसिक प्रताडना दिए पनि अहिले उनको परिवारसँग सरकारले माफी मागेको छ।
चीनले २०१९ को अक्टोबर १८ देखि वुहानमा भएको विश्व सैनिक खेलमा अमेरिकी सेनाले भाइरस ल्याएको भन्ने आरोप लगाएको छ। अहिले उसको आरोपमा जुलाइ २०१९ मा बन्द गरिएको अमेरिकी ‘फोर्ट डेट्रिक प्रयोगशाला’ बन्द गरिनुको पछाडिका कारण सोधेको छ।हतियारको होडबाजीमा लागेको साम्राज्यवादले आफ्ना युद्ध खजानामा नयाँ हतियार थप्न, अध्ययन अनुसन्धान गर्न थाल्दा यो जैविक हतियारको प्याथोजिन कतै फुटेको वा कतै जैविक हतियार उत्पादनमा संग्लग्न सन्की वैज्ञानिकले छताछुल्ल पारेको त हैन ? आशंका त्यत्तिकै छ। परमाणु हतियारभन्दा पनि जैविक हतियार बढी खतरनाक हुन्छ। यसअघि व्यक्तिविरुद्ध वा युद्धमा जैविक हतियार प्रयोग भइसकेकाले शंंकाका आधार छन्।
हाम्रो अवस्था
शंका गर, तर शंकावादमा नफस। हामी खुला सीमानामा छौं, विमानस्थलको क्वारेन्टाइन देखिरहेका छौं। संक्रमित देशका वायुयान लामो समय निर्वाध आए। सयौं र हजारौंका पार्टी वा बैठक पनि चले। सावधानीप्रति स्वास्थ्यमन्त्रीको निर्लज्ज भाषण सुनियो। के हाम्रोमा कोरोनाका बिमारका कुनै केस आइसकेको छैन ? अथवा पहिचानको अवस्था छैन ? हाम्रा क्लिनिकल ल्याब र किटको अवस्था के र कति, कहाँकहाँ छन् ?
अन्त्यमा
चर्चित प्रोफेसर युवाल नोह हरारी (टायम पत्रिका १५ मार्च ) लेख्छन्– कोरोना भाइरसविरुद्धको लडाइँमा मानवीय नेतृत्वको कमी छ। सो लामो लेखमा इतिहासले के सिकाउँछ भन्दै उनी दुई विषयमा जोड दिन्छन्। पहिलो, आफ्नो सीमाना बन्द गरेर आफैंलाई बचाउन सक्नुहुन्न। याद गर्नुहोस् कि महामारी विश्वव्यापीकरणको युगभन्दा धेरै अघिदेखि मध्ययुगमा पनि द्रुतरूपमा फैलियो।
मध्ययुगीन सोचले आफूलाई कोरोनाबाट पृथक राख्न सम्भव छैन, तपाईं पूर्ण ढुंगेयुगमा जानुपर्छ। के तपाईं त्यो गर्न सक्नुहुन्छ ? दोस्रो, इतिहासले संकेत गर्छ कि वास्तविक सुरक्षा विश्वसनीय वैज्ञानिक जानकारीको साझेदारीबाट आउँछ र विश्वव्यापी एकताबाट। जब एउटा देश महामारीको सिकार हुन्छ, यसले आर्थिक प्रकोपको डर, प्रकोपबारेमा इमानदारी साथ जानकारी बाँड्न इच्छुक हुनुपर्छ। जबकि अन्य देशहरूले त्यस सूचनालाई विश्वास गर्न सक्षम हुनुपर्छ र अहिले सहयोगलाई बढावा दिन इच्छुक हुनुपर्छ। चीनले विश्वभरिका देशलाई कोरोना भाइरसबारे धेरै महत्वपूर्ण पाठ सिकाउन सक्छ।’
कोरोना महामारीले हजारौं वर्षको तर्क, विज्ञान प्रयोग र प्रशिक्षणभन्दा थोरै समयमा सचेतता र अस्पतालले नै रोग निदान गर्छ भन्ने चेत फैलायो। खानपान, रहनसहन, तडकभडकप्रति मान्छे सचेत हुन थाल्यो। महामारीले राजनीतिक सीमा, जाति, धर्म, संस्कार र संस्कृतिमा भेद गर्दो रहेनछ। वर्चश्वशालीलाई समेत अल्पमतप्रति गर्ने घृणा र आवेगी उत्तेजनाको बदला मानवतावादको आवश्यकता बोध गरायो। राजनीतिक सीमा बन्द गरेर आफू बच्छु र देशलाई जोगाउँछु भन्नेले बुझ्नुपर्छ—भाइरसले त नागरिकता हेर्छ न त राजनीतिक सीमानामै कैद हुन्छ।
सावधानी हौं, विज्ञान शरण परौं, विशेषज्ञ डाक्टरको भर परौं। च्याउ झैं उम्रेका भुइँफुट्टा सल्लाहाकारका सल्लाहबाट जोगियौं। लक्षणवालाले चर्च, मन्दिर वा गुम्बा, मस्जिद हैन अस्पताल वा विशेषज्ञ डाक्टरसमक्ष पुगौं। पादरी, इमाम र पण्डित वा लामाको भर नपरौं। गौमुत्र सेवन गर्नेको अवस्था देखिसक्यौं। भागेर कतै सुरक्षित हुन सकिँदैन। विदेशबाट आउनेले पनि आफ्ना यात्रा विवरण र मेडिकल हिस्ट्री स्पस्ट देखाऊ। सकभर दुई हप्ता क्वारेन्टाइनमा बसौं।