कर्णालीमा कोरोनाको त्रास : न पर्याप्त चिकित्सक, न औषधि
सुर्खेत : कोरोना भाइसरको संक्रमण रोक्न पूर्वतयारी भइरहँदा कर्णालीमा औषधि र स्वास्थ्यकर्मीको अभाव छ। कोरोनाको त्रासले सर्वसाधारण गाउँ केन्द्रित भए पनि दुर्गममा पर्याप्त औषधि र विशेषज्ञ डाक्टर छैनन्। आवश्यक डाक्टर र औषधि नहुँदा सर्वसाधारण थप त्रसित छन्।
भौगोलिक विकटताका कारण दुर्गममा सामान्य रोगले पनि महामारीको रूप लिने गर्छ। २०७१ मा जाजरकोटमा पर्याप्त औषधि र स्वास्थ्यकर्मी नहुँदा झाडापखालाबाटै करिब दुईसय जनाको ज्यान गएको थियो। समयमै उपचार नहुँदा गतवर्ष हुम्लामा फ्लुकै कारण दुई सातामा १२ जनाले ज्यान गुमाए। औषधि र उपचार नपाएरै सामान्य रोगले महामारीको रूप लिने कर्णालीमा यसपाली पनि दुर्गममा आवश्यक औषधि र डाक्टरको व्यवस्थापन हुन सकेको छैन।
प्रदेशका हिमाली र दुर्गम जिल्लामा अहिले पनि विशेषज्ञ डाक्टर छैनन्। सदरमुकाममा केही मात्रामा औषधि भए पनि दुर्गममा सिटामोल पाउनै मुस्किल छ। प्रदेश सरकारले कोरोनाविरुद्धको सचेतना र आवश्यक पूर्वाधारहरू हाल प्रदेश राजधानी वीरेन्द्रनगरमा केन्द्रित गरेको छ। सचेतनामुलक कार्यक्रम सञ्चालन गरिए पनि आवश्यक औषधि र डाक्टरको व्यवस्थापनमा प्रदेश र स्थानीय सरकार चुकेका छन्।
जसकाकारण संक्रमण फैलिएको खण्डमा दुर्गमका नागरिकले सहजै उपचार पाउने अवस्था छैन। जिल्ला अस्पतालमा केही औषधि उपलब्ध भए पनि दरबन्दीअनुसारका डाक्टर भने छैनन्। बिरामीले सामान्य चेकजाँचमै चित्त बुझाउनुपर्ने बाध्यता छ। डोल्पा अस्पतालमा चारजना विशेषज्ञ डाक्टर र पाँचजना नर्सको दरबन्दी छ। तर हाल यहाँ करारका डाक्टर र दुईजना नर्सले मात्र धानिरहेका छन्।
मुगुमा पनि पर्याप्त डाक्टर छैनन्। जिल्ला अस्पतालमा चार जना विशेषज्ञसहित १० जना डाक्टरको दरबन्दी छ। तर, हाल यहाँ एकजना पनि विशेषज्ञ डाक्टर छैनन्। ‘अन्य ६ जना डाक्टरले काम चलाएका छन्,’ जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले भने, ‘हामीकहाँ एक जना पनि विशेषज्ञ डाक्टर छैनन्, स्टोरमा केही औषधि त छ। तर, संक्रमण फैलिएको खण्डमा त्यो पर्याप्त नहुन सक्छ।’
सदरमुकामा केही औषधि भए पनि गाउँमा बिरामीले सामान्य सिटामोल नपाउने अवस्था छ। कर्णालीका कालिकोट र जाजरकोटमा पनि समस्या उस्तै छ। जिल्ला अस्पतालका प्रमुख डाक्टर भिष्म पोख्रेलले भने, ‘मौसम परिवर्तन हुँदा दैनिक दुईसयसम्म बिरामी उपचारका लागि आउँछन्, हामीसँग दक्ष जनशक्तिको अभाव छ। यहाँ आठजना डाक्टरको दरबन्दी छ। तर, एक जनालेमात्र सेवा दिनुपरेको छ।’ उनकाअनुसार तीन जना विशेषज्ञ डाक्टरको दरबन्दी रिक्त छ। यसअघि महामारीले आक्रान्त बन्दै आएको जाजरकोटमा पनि आवश्यक डाक्टर छैनन्।
अधिकांश स्वास्थ्य संस्थाहरू करारकै कर्मचारीको भरमा छन्। जिल्ला अस्पतालमा ६५ जना स्वास्थ्यकर्मीको दरबन्दी छ। तर, हाल यहाँ १८ जनामात्र कार्यरत छन्। स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा आवश्यक औषधि पनि उपलब्ध छैन।
दुर्गममा रहेका स्वास्थ्य संस्थामा औषधि र डाक्टरको कमजोर उपलब्धता भइरहँदा कर्णालीको राजधानीमै रहेको प्रदेश अस्पतालमा पनि जनशक्तिको अभाव छ। वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालमा पनि हाल दरबन्दी अनुसारका डाक्टर र स्वास्थ्यकर्मी उपलब्ध छैनन्। प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले भने,‘अस्पतालमा ५० जना विशेषज्ञ डाक्टरको दरबन्दी छ। तर, हाल सात जनामात्र कार्यरत छन्। मेडिकल अधिकृतको दरबन्दी २५ जना हो, हाल एक जनामात्र कार्यरत छन्।’
करारमा भर्ना भएका स्वास्थ्यकर्मीको भरमा उपचार गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। जिल्ला अस्पताल दैलेखमा सात जना विशेषज्ञ डाक्टरको दरबन्दी छ। तर, हाल अस्पतालमा एक जनामात्रै डाक्टर निरञ्जन पन्त कार्यरत छन्। पाँच जना मेडिकल अधिकृतको दरबन्दी भए पनि सबै रिक्त छन्। अर्कोतर्फ जिल्ला अस्पतालहरूमा आइसोलेसन कक्ष तयार भए पनि उपकरण र डाक्टर नहुँदा जटिलता पैदा भएको छ।
तर, प्रदेश सरकारले भने आवश्यक औषधि र स्वास्थ्यकर्मीको व्यवस्थापन गरिने जनाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले भनिन्, ‘दुर्गममा औषधि अभाव हुन नदिन हामी सचेत छौं, केन्द्रबाट पनि औषधि मगाएका छौं। आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापनको पहल भइरहेको छ, हामी यो विषयमा गम्भिर छौं।’