लकडाउनपछि तरकारीको मूल्य आकाशियो
भैरहवा : भैरहवालगायत अन्य क्षेत्रमा हरियो तरकारीको मूल्य आकाशिएको छ। सरकारले लकडाउनको घोषणा गरेपछि तरकारीका बिचौलिया र व्यापारीहरुले एकाएक मूल्य बढाएर कालोबजारी गर्न सुरु गरेका हुन्।
भैरहवामा तरकारी र खाद्यन्न पसलसमेत बन्द रहेको अवस्थामा चर्को मूल्य र असुरक्षित रुपमा व्यापारीहरु ठेला-ठेलामा तरकारी विक्री गर्न थालेका छन्। खाद्यन्न र तरकारी पसल सबै सञ्चालन भएमा हुने भीडभाडले संक्रमणको जोखिम बढ्ने अनुमान गरेर स्थानीय प्रशासनले केही दिनका लागि पसल सञ्चालनमा पनि रोक लगाएको बुझिएको छ।
यसैको फाइदा उठाउँदै तरकारीका कालोबजारियाहरुले विगत भन्दा एकाएक तरकारीको मूल्य बढाएर सुरक्षित रुपमा घरमा बसेका नागरिकको ढाँड सेक्न थालेका छन्।
अघिल्लो हप्ता हाटबजारमा ४० रुपैयाँमा प्रति पाउ पाइने खुर्सानीको मूल्य अहिले ६० रुपैयाँ प्रति पाउ बढाएर एक सय रुपैयाँ प्रति पाउ विक्री गर्न थालिएको छ।
त्यस्तै ३० रुपैयाँ प्रति किलो पाइने टमाटरको मूल्य एक सय रुपैयाँ, एक सय रुपैयाँ प्रति किलो पाइने भिण्डी एक सय ७० रुपैयाँ, ५० रुपैयाँ प्रति किलो पाइने मटरको मूल्य एक सय रुपैयाँ, २५ रुपैयाँ प्रति किलो पाइने फुलगोभीको मूल्य एक सय दश रुपैयाँ पुर्याइएको छ।
यो सस्तो मूल्य गत शुक्रबारको हाटबजारको मूल्य हो। शुक्रबार अघि हाटबजार तरकारीको मूल्य झनै सस्तो थियो। कोरोनाको संक्रमणले तरकारीको मूल्य केही हप्तादेखि बढउँदै लगएिको छ।
कोरोना संक्रमणबाट जोगिन र जोगाउनका लागि ठेला-ठेलामा तरकारी विक्री गर्दै हिँडेका व्यवसायीले कुनै उपाय अपनाएका छैनन्। ठाउँठाउँमा भीड लाग्ने र दिनभरी उनीहरु सयौँ व्यक्तिको सम्पर्कमा आउने र जाने गरेकोले यसले संक्रमणको जोखिम बढेको छ।
कुनै कारणबस तरकारी व्यवसायी संक्रमित भइहालेमा ती व्यवसायी मार्फत हजारौँ स्वास्थ्य नागरिकमा संक्रमण फैलिन सक्ने उच्च सम्भावना रहेको छ। उनीहरुलाई लकडाउनले छोएको छैन।
‘एक-दुई दिन तरकारी पाइएन भन्दैमा असुरक्षित रुपमा चर्को मूल्यमा तरकारी बेच्दै हिडेका व्यवसायीसगँ खरिद गर्न उचित होइन’ भैरहवाका शितल जिटीले भने, ‘अत्यावश्यक बाहेक घरमा बस्नु नै सुरक्षित उपाय हो। असुरक्षित रुपमा बाहिर कोहीसगँ सम्पर्क वा केही छुन उपयुक्त हुदैन।’
उनले प्रशासनले पनि असुरक्षित रुपमै तरकारी बेच्दै हिडेकालाई हिड्डुलमा रोक लगाउनु पर्ने बताए। तरकारी व्यासायीहरुले सयौँ व्यक्तिहरुको सम्पर्कमा रहँदै आएकोले उनीहरु मार्फत वा कुनै उनीहरुको कुनै वस्तु मार्फत संक्रमण फैलिएमा अवस्था भयावाह हुन सक्ने उनको भनाई छ। सरकारले कोरोना संक्रमणको नियन्त्रण तथा रोकथामका लागि मुलुक नै लकडाउन गरेको हो।