लकडाउनले राउण्ड अन्नपूर्ण पदयात्रीको बिचल्ली
जोमसोम : सरकारले कोराना भाइरस (कोभिड-१९) सक्रमण फैलिन सक्ने भन्दै सोमबारदेखि देशभर लकडाउन गरेको छ। लकडाउनका कारण पर्यटक आउजाउमा समस्या परेको छ।
लकडाउनकै कारण राउण्ड अन्नपूर्ण पदमार्ग हुँदै मुस्ताङको मुक्तिनाथ झरेका करिब ६ दर्जन तेश्रो मुलुकका पर्यटक बिचल्लीमा परेका छन्। कोरोना भाइरस संक्रमणको डरले मुस्ताङको प्रमुख पर्यटकीयस्थल जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथका होटल तथा अन्य पर्यटन व्यवसायीले लकडाउनपछि अघोषित रुपमा सेवा बन्द गरेका छन्। एकाध खुलेका होटलले पनि विदेशी पर्यटक राख्न सकस मानेका छन्।
यस्तै ,विदेशी पर्यटकले पनि आफ्नो देश फर्कन इच्छुक नरहेको पाईएको र यथास्थानमै बस्न चाहेकाले होटल व्यवसायीमा थप कोरोना त्रास बढेको हो। मुक्तिनाथ र कागबेनीमा केही तेश्रो मुलुकका पर्यटक होटलबाट बाहिरिन नचाहेको बुझिएको छ। तर स्थानीय गाउँ समाजले भने विदेशी पर्यटक राख्न नपाइने व्यवसायीलाई दवाव परेपछि होटल व्यवसायी थप अप्ठ्यारोमा परेका हुन्।
राउण्ड अन्नपूर्ण पदयात्रीलाई मुक्तिनाथको एक्याप चेकपोष्टको हेल्थ डेस्क स्वास्थ्य परीक्षण गराउने गरेको एक्याप पर्यटक सहायक प्रेम बस्नेतले जानकारी दिए। स्वास्थ्य परीक्षण गरिएका विदेशी पर्यटकलाई कोरोना संक्रमण देखिएका सम्बन्धित निकायमा पठाइने व्यवस्था भएको उनले बतए। उनले लकडाउन अवधिमा यथास्थानमा बस्न पाउनुपर्ने अडान पर्यटकको रहेको उनकव भनाई छ। लकडाउनपछि वारागुङ मक्तिक्षेत्र गाउँपालिकाले यसबारे समस्या सुल्झाउन खोजे पनि निकास निस्कन सकेन।
बुधबार स्थानीय जनप्रतिनिधि, होटल व्यवसायीहरु निकास खोज्न स्थानीय प्रशासनमा पुगेका छन्। यस्तै लकडाउनमा परेका विदेशी पर्यटक पनि प्रशासन कार्यालयमा पुगे। जिल्ला प्रशासन कार्यालयले दुतावासले गृह मन्त्रालयमा सिफारिस गरे निषेधआज्ञा फुकुवा गर्ने सुझाएपछि केही पर्यटकले दुतावास खबर गरी आवगमन अनुमति पाएको प्रमुख जिल्ला अधिकारी बेदप्रकाश अर्यालले जानकारी दिए। उनका अनुसार दुतावासको सिफारिसमा मंगलबार र बुधबार केही पर्यटकले अनुमति पाएका छन्। लकडाउनको असरले समस्या पारेको जनाउँदै तीन दर्जन विदेशी पर्यटक स्थानीय प्रशासनमा पुगेका थिए।