कोरोना भाइरस : उपचार सामग्री अभाव भन्दै अस्पताल बन्द
बागलुङ : कोरोना भाइरसका कारण जिल्ला सदरमुकाममा रहेको मुक्तिनाथ अस्पताल बन्द भएको छ। बागलुङ बजारको मुख्य चोकमा सञ्चालित मुक्तिनाथ हस्पिटल प्रालि मंगलबार सूचना टाँस गरेर बन्द गरिएको हो ।
अस्पतालको सटरमा टाँस गरिएको सूचनामा लेखिएको छ- विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाका कारण प्राप्त सामग्री नभएकाले २/३ दिनको अवस्था हेरेर पुनः सूचारु गर्ने गरी हाललाई हस्पिटल बन्द गरिएको छ।'
मुक्तिनाथ अस्पताल प्रालिका अध्यक्ष सन्तोष रावलले अस्पतालमा कोरोनाको उपचारका लागि प्राप्त सामग्री नहुँदा बन्द गर्नु परेको बताए । 'कोरोनासँग सम्बन्धित जाँचका लागि सामग्रीको अभावमा हाम्रा कर्मचारी, स्वाथ्यकर्मीले असुरक्षित महसुश गरे, फेरी समस्या पर्ला भनेर बन्द गरिएको हो,' अध्यक्ष रावलले भने, 'फोनमा बुधबारसम्मका लागि बन्द गर्ने सल्लाह गरेका थियौं । अहिले नै धेरै दबाब आइरहेको छ । केही दिन बन्द गर्ने भने पनि हामीले तत्काल खुलाएका छौं ।'
यद्यपी अस्पताल खुलाए पनि तत्काल स्वास्थ्यकर्मी सुरक्षित नहुने अवस्था रहेको उनले बताए ।